बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘खुला सीमानाका र भौगोलिक विकटताले औलो निवारणमा चुनौती’

मङ्गलबार, १२ वैशाख २०८०, १४ : ४६
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस मनाइएको छ । नेपालमा पनि मंगलबार विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको हो । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । 

काठमाडौँमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औलो दिवसको अवसरमा कार्यक्रम आयोजना गरी औलोबारे जनचेतनामूलक कार्यक्रम गरिएको छ । 

कार्यक्रममा बोल्दै एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले विगत १० वर्षको तुलनामा औलो नियन्त्रणमा सरकारले सफलता हासिल गरिरहेको बताए । उनले २०७० भन्दा अघिसम्म ३ हजार हाराहारीमा औलोका बिरामीहरू भएपनि अहिले ५ सय भन्दा कम मात्रै बिरामीहरू रहेको बताए । उनले औलो नियन्त्रणमा चुनौती रहेपनि निगरानी गर्दै अघि बढ्न जरुरी रहेको बताए । उनले आयातित औलो नियन्त्रण नै नेपालका लागि मुख्य चुनौती रहेको बताए । औलोको परीक्षण नहुनु, भारतसँगको खुला सीमानाका र भौगोलिक विकटता औलो निवारणका चुनौती रहेको बताए । 

त्यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवा विभाग स्वास्थ्य साक्षरतामा स्पष्ट खाकासहित अघि बढेको बताए । उनले औलो नियन्त्रण गर्दै नेपाल लाखौँबाट सयौँमा आउनु आफैँमा खुसीको कुरा भएको बताए । उनले औलो रोगलाई शून्यमा झार्न पहल गर्नेपनि बताए । 

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले नेपालमा विगत सय वर्ष यता औलोको समस्या रहने गरेको पाइएको छ । औलोका कारण बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गरेको चिकित्सकहरु बताउँछन् । औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप