सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आमाबुवाको झगडाले बनायो ‘सिरियल किलर’: खराब सम्बन्धबाट बच्चालाई जोगाउने १० मन्त्र

बुधबार, १३ वैशाख २०८०, १३ : २८
बुधबार, १३ वैशाख २०८०

बिकिनी किलर भनेर चिनिने चार्ल्स शोभबराज यसै वर्ष नेपालको जेलबाट बाहिरिए । युवतीका हत्यारा बन्नुको पछाडि चार्ल्सको अबोध बालापन नै थियो जसले उनलाई ९ देशमा ‘मोस्ट वान्टेड’ अपराधी बनाइदियो । चार्ल्सका पिताले कहिल्यै उनकी आमा र उनलाई अपनाएनन् । चार्ल्सकी आमा सधैँ रोइरहन्थिन् । डिप्रेशन र स–साना कुरामा रिसाउनु उनको स्वभाव बन्यो । यसले चार्ल्समाथि नकारात्मक असर पर्यो । बारम्बार पिटिनु, आमाको दोस्रो विवाह र एक्लोपनसँग जुध्दासमेत पढाई–लेखाईमा अब्बल भइरहेका चार्ल्सलाई पछि भने अपराधको दुनियाँ राम्रो लाग्न थाल्यो । जसले उनलाई चलाख अपराधी बनायो ।

चार्ल्स शोभराज त प्रतिनिधि पात्र हुन् । पछिल्ला समय यस्ता थुप्रै घटना घटित भइरहेका छन् जुन आमाबुवा बीच दैनिकको झगडा वा खराब सम्बन्धकै नतिजा हुन् । यसको बालबालिकाको दिमागमा गहिरो असर पर्छ र उनीहरुको व्यक्तित्व नै फेरिने गर्छ ।

‘पेरेन्टिङ फर ब्रेन’ मा छापिएको एक रिपोर्ट अनुसार बालबालिकाको हेरविचार गर्नु आमाबुवाको व्यक्तिगत जिम्मेवारी भएपनि उनीहरु बीचको खराब सम्बन्धले बच्चामा मात्रै नभई पुरा समाजमा असर पारिरहेको हुन्छ ।

आमाबुवा बीच विवादका कारण बालबालिकामाथि कुटपिट, बालबालिका बारम्बार रुनु वा उनीहरुलाई बेवास्ता गर्दा बच्चाको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ । यस्तो माहौलमा हुर्किने केही बच्चा पछि गएर राम्रो आमा–बुवा बन्न सक्दैनन् ।

१० मन्त्र : घरको ‘नर्क’ जस्तो माहौलबाट बच्चालाई कसरी जोगाउने ?

के नगर्ने ?

– बच्चाको अगाडि बहस, झगडा वा कुटपिट नगर्नुहोस्

– बच्चालाई गलत सन्देश दिने माध्यम नबनाउनुहोस्

– बच्चालाई अलमलमा पार्ने खालका  प्रश्न नसोध्नुहोस् 

के गर्ने ?

– बच्चालाई विश्वास दिलाउनुहोस् कि आमा–बुवाबीच कुनै झगडा हुँदैन

– बच्चालाई बताउनुहोस् कि आमाबुवाले समस्याको समाधान खोजिरहेका छन्

– बच्चालाई आपसी समस्याबारे भनिराख्नु पर्दैन

आपसी लडाईंमा बच्चालाई हतियार नबनाउनुहोस्

– झगडा बिर्सिएर बालबच्चासँग घुम्नुहोस्, उनीहरुलाई समय दिनुहोस्

– बच्चाहरुसँग खेल्नुहोस्, खुसी व्यक्त गर्नुहोस्

– बच्चाको कुरा ध्यान दिएर सुन्नुहोस्, उनीहरुलाई कस्तो महसुस भइरहेको छ बुझ्नुहोस्

– बच्चाको व्यवहारमा परिवर्तन देखिएको खण्डमा काउन्सलरसँग सल्लाह लिनुहोस्

स्रोत : राइजिङ चिल्ड्रन

आमाबुवाको खराब सम्बन्धको असर ६ महिनाको बच्चामा पनि

‘भेरीवेल फेमिली डट कम’ मा छापिएको एक रिपोर्ट अनुसार जुन आमा–बुवाबीच झगडा हुन्छ वा कुरा कुटपिटसम्म पुग्छ, उनीहरुका ६ महिनाको बच्चामा पनि यसको असर पर्छ ।

युनिभर्सिटी अफ ओरेगनको एक अनुसन्धान अनुसार ६ महिनाको बालबच्चाले पनि रिसको आवाज चिन्छन् । जर्नल साइकोलोजिकल साइन्समा छापिएको एक शोधमा बताइएन अनुसार बच्चा सुतिरहेका छन् भने पनि उनीहरुले यसरी झर्केको आवाज सुन्छन् । वास्तवमा, यतिबेला बच्चाको दिमाग विकसित भइरहेको हुन्छ र दिमागको लचिलोपनका कारण उनीहरुले आफ्नो आसपासको माहौललाई सुन्छन् र बुझ्छन् । घरमा यदि लगातार झगडा र कलहको माहौल हुन्छ भने यसले बच्चाको विकासमा नकारात्मक असर पर्छ । घरको माहौल राम्रो छ भने बच्चाहरु कतिपटक निद्रामा पनि हास्छन् र यदि खराब छ भने रुन्छन् वा भावुक हुन्छन् ।

आमाबुवाको झगडाको बच्चामाथि असर

– आमाबुवासँग खराब सम्बन्ध

– असुरक्षाको भावना

– आत्मविश्वासको कमी

– मानसिक विकास रोकिनु

– कुण्ठा बढ्नु

– स–सानो कुरामा रिसाउनु

– निर्णय दिने क्षमता घट्नु

स्रोत : वेरिवेल फेमिली डटकम

पढाई–लेखाईमा मन लाग्दैन, नतिजा खराब

सन् २०१२ मा ‘जर्नल चाइल्ड डेभलपमेन्ट’ मा छापिएको एक शोधका अनुसार बालबालिकामा किन्डरगार्टेनदेखि सात कक्षासम्म आमाबुवाको खराब वैवाहिक जीवनको बढी असर पर्छ । जो बच्चा लामो समयसम्म आमाबुवाको झगडा सुनेर हुर्किएका हुन्छन्, उनीहरुमा डिप्रेशन र चिडचिडापनको विकास हुन्छ । स–सानो कुराले पनि उनीहरुलाई समस्या दिने गर्छ ।

यस्तै, सन् २०१३ मा चाइल्ड डेभलपमेन्टमा छापिएको अर्को एउटा शोधमा बताइए अनुसार जब आमा–बुवा बीच दैनिक झगडा हुन्छ तब उनीहरु बच्चामाथि कम ध्यान दिन्छन्, न नै उनीहरुको भावना बुझ्छन् । घरको यस्तो माहौलले बच्चाको सोच्ने–बुझ्ने र तर्क गर्ने क्षमतामाथि नकारात्मक असर गर्छ । उनीहरु अरु बच्चाले झैँ समस्याको तीब्र समाधान गर्न सक्दैनन् र नयाँ जानकारी बुझ्न ढिलो गर्छन् । यस्ता बच्चाहरु पढ्न–लेख्न पनि मन गर्दैन । परीक्षामा उनीहरुको नम्बर पनि कम हुन्छ । कति बच्चा त स्कुलसमेत जान छोड्छन् ।

अमेरिकाका दुई समाजशास्त्री वेल्स र रेन्किनले ५० वटा अध्ययनको मेटा–विश्लेषण गरे र झगडा–कलह हुने घरका बालबालिकामा अन्य घरका बालबालिकाको तुलनामा १० देखि १५ प्रतिशत बढी आपराधिक प्रवृत्ति विकास हुने सम्भावना रहेको पत्ता लगाए ।

हुर्किँदै जाँदा आपराधिक सोच फस्टाउन थाल्छ

आमाबुवाबीचको झगडाले गर्दा बच्चा मिलनसार हुन सक्दैन । न त विद्यालयमा कुनै समस्या भए त्योसँग मिल्न सक्ने अवस्थामा हुन्छन् । बच्चामा दिनप्रतिदिन आक्रामकता बढ्दै जान्छ र धेरै गल्ती गर्छन् । थोरै हुर्किएपछि बच्चाले चोरी, कुटपिट र लागू पदार्थ सेवन जस्ता सानातिना अपराध गर्न थाल्छन् । उनीहरु धुम्रपान, मद्यपान र लागू पदार्थको लतमा फस्ने गर्छन् । पछि त्यही बानीले उनीहरुलाई ठूला अपराधतर्फ धकेल्छ । संसारको सबैभन्दा कुख्यात सिरियल किलरहरू मध्ये एक, जेफ्री डामरको कथा पनि त्यस्तै छ –

jeffery१७ युवकको निर्मम हत्या गर्ने सिरियल किलर

अमेरिकाका बासिन्दा जेफ्री डामरले युवकहरुको यौन शोषण गर्दथे र त्यसपछि उनीहरुको हत्या गरेर उनीहरुको मासु खान्थे । जेफ्रीले १८ वर्षको उमेरदेखि १९७८ देखि १९९१ सम्म १७ जना युवकको निर्ममतापूर्वक हत्या गरे । सन् १९९२ मा जेफरीलाई ३२ वर्षको उमेरमा सजाय सुनायो र २८ नोभेम्बर १९९४ मा एक कैदीले उनलाई जेलमा नै कुटीकुटी हत्या गरे ।

मनोवैज्ञानिकलाई विश्वास गर्ने हो भने जेफरी बाल्यकालदेखि यस्ता थिएनन् । उनकी आमा लोभी र झगडालु थिइन् जो जेफरीका पिता र छिमेकीसँग सधैँ झगडा गरिरहन्थिन् । उनका आमाबुवा बीच पनि कुटपिट हुन्थ्यो । आमाबुवाको कुटपिटपछि ४ वर्षको उमेरमा नै उनको डबल हर्नियाको शल्यक्रिया भयो । एक्लोपन, डिप्रेसन, रिस र आमाबुवाको प्रेम नपाएका कारण तेज दिमाग भएका र निकै हसिला जेफरीमा खतरनाक परिवर्तन देखियो । पछि गएर उनी निकै ठुला अपराधी भए ।

दिल्लीका पटियाला हाउस कोर्टका वकिल शिवाजी शुक्ला भन्छन्, ‘आमाबुवा आफ्नो खराब सम्बन्धको बीचमा बच्चालाई राख्ने गर्छन् । उनीहरु बच्चामाथि नै आफ्नो रिस पोख्ने गर्छन् । उनीहरुलाई कुट्छन् । यहाँसम्म कि बच्चा दुःखी हुँदा पनि उनीहरुको कुरा सुन्दैनन् । खराब माहौलका बीच बच्चाको पढाई–लेखाईमा ध्यान दिन छोड्छन् जसका कारण बालबालिकाको लालनपालनमा नकारात्मक असर पर्छ । उनीहरु डिप्रेसनमा समेत जाने गर्छन् ।’

फरिदाबाद हरियाणामा साइकोलोजिस्ट डा. सारिका सिंहले आमाबुवाको खराब सम्बन्धले बच्चाको मनमा घाउ बनाइदिने र यो निको हुन समय लाग्ने बताएकी छिन् । उनी भन्छन्, ‘बच्चा यति सुरो हुन्छन् कि उनीहरुमा अपराधी मनोवृत्ति बढ्न थाल्छ । हामीले यस्तो थुप्रै घटना देखेका छौँ, जहाँ बच्चा अपराधको दलदलमा फस्ने गर्छन् । उनीहरुको मानसिक फेर्न निकै मुश्किल हुन्छ । यस्तो परिस्थितिसँग गुज्रिने बालबालिका जे पनि हुनसक्छन् ।’

आमा–बुवाको खराब सम्बन्धमा फसेका बालबालिका

– चिन्तित हुनेछन्

– समय अगावै परिपक्व हुनेछन्

– मूक दर्शक बनिरहनेछन्

– असुरक्षित महसुस गर्नेछन्

– भावना लुकाउनेछन्

आपसी झगडा जतिसुकै किन नहोस्, त्यसको छायाँ सन्तानमा नपरोस् 

डा. सारिका सिंह भन्छिन्, ‘जुभेनाइल होममा हेर्दा त्यहाँ अपराध गरेर आएका अधिकांश बालबालिकाको सुधार हुन नसकेर फेरि त्यही दलदलमा फसेका छन् । आमाबाबुको खराब दाम्पत्य जीवनले बच्चाको जीवनलाई पनि बर्बाद गर्छ ।’

त्यसैले आमाबाबुले जतिसुकै विवाद भए पनि बच्चामा त्यसको छायाँ पर्न दिनु हुँदैन । यसो नगरे तपाईंले समाजलाई एक सभ्य नागरिक नभई सम्भावित अपराधी दिइरहनुभएको छ जुन समाजका लागि खतरा बन्न सक्छन् । याद गर्नुहोस्, यसको वास्तविक अपराधी तपाईं हुनुहुनेछ, बच्चा होइन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप