बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सु्स्त विकास

अटेरी विद्युत् प्राधिकरण, निकम्मा ठेकेदार : जनतालाई कहिलेसम्म धुलो–धुँवाको मार ?

बिहीबार, १४ वैशाख २०८०, ०९ : २८
बिहीबार, १४ वैशाख २०८०

सुर्खेत । कर्णालीको एक प्रसिद्ध पर्यटकीय स्थल हो काँक्रेविहार । त्यहाँ पुग्न मंगलगढी चोकबाट दक्षिणतर्फको सडकमा दैनिक हजारौँको सङ्ख्यामा सवारी साधन ओहोरदोहोर गर्छ ।  

तर, यति व्यस्त सडकको अवस्था भने दर्दनाक छ । निर्माणाधीन कच्ची सडक वर्षौँदेखि अस्तव्यस्त छ । घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे हुन थालेको दुई वर्ष भन्दा बढी भइसक्यो । 

वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीका स्थानीय वसन्त खत्रीलगायत धेरैको एउटै प्रश्न छ– हामीले कहिलेसम्म धुलो खानु पर्ने हो ?

नारायण टोलका दलबहादुर खत्रीको घर यही सडकको छेवैमा छ । सडकमा कुनै सवारी साधन गुड्यो कि धुलोको मुस्लो उनको आँगनसम्मै पुग्छ । दिक्क मान्दै उनले भने,‘दुई वर्ष हुन लाग्यो हामीले धुलो खान थालेको । यसबाट मुक्ति कहिले पाइने होला कुन्नि ?’

नालाकाे काम हूँदै

तल्लो सुर्खेतमा एउटा क्रसर उद्योग सञ्चालित छ । त्यहाँको गिट्टी, बालुवा बोक्ने ठुला टिप्पर, ट्रकहरू यही सडक भएर जान्छन् । त्यो पनि लामा लस्करका साथ । 

एकै पटक धेरै टिप्पर गुड्दा सडक आसपासको बस्ती नै धुलो–धुँवाले छपक्कै ढाकिने गरेको उनले सुनाए । सडकले पूर्णता नपाउँदा कतिपयको घरमा जडान भएको खानेपानीको लाइन समेत काटिएकोमा खानेपानी पाउन मुस्किल भइरहेको खत्री बताउँछन् । 

काँक्रेविहार पर्यटकीय क्षेत्रसमेत भएकाले सरकारले बजेटमा प्रमुख प्राथमिकता राख्दै आएपनि ठेकेदारले समयमै काम नगर्दा स्थानीय दिक्क छन् । तिनले पटक–पटक सडक अवरुद्ध गरेर खबरदारी पनि गर्ने गरेका छन् । 

नागरिकहरु आन्दोलित भएर सडक अवरोध

 

मात्र ३० प्रतिशत काम सम्पन्न

४ मंसिर ०७८ मा सडक निर्माणको जिम्मा पाएको अमर सिस्ने नेपाल मेघा जेभी नेपालगन्जले अहिलेसम्म ३० प्रतिशत भन्दा बढी काम गरेको छैन । जबकि आगामी असार १५ सम्म आयोजना सम्पन्न गरिसक्नुपर्ने लक्ष्य छ । 

तर, लक्ष्यअनुसार सडक आयोजनाको काम सम्पन्न हुने अवस्थै छैन । २४ सय मिटर सडक कालोपत्रे गर्ने गरी १२ करोड ७६ लाख १५ हजार ४०४ रुपैयाँ लागत रहेको सडकमा अहिले नाला निर्माण, फिलिङ्ग गर्ने, बीच भागमा इँटा राख्ने कामको सुरुवात भएको छ । 

उता पौने २ करोड रकम भने ठेकेदार कम्पनीले भुक्तानी लिइसकेको पूर्वाधार निर्देशनालयले जनाएको छ ।

मन्त्रीसँग गुनासो गर्दै स्थानीय

पूर्वाधार विकास निर्देशनालयका सब–इन्जिनियर प्रेमचन्द्र पाण्डे निर्माण व्यवसायीबाट नै सुस्त गतिमा काम भएकाले गाली खानु परिरहेको बताउँछन् । 

‘निर्माण व्यवसायीको लापरबाहीका कारण बीचमा काम ‘ब्रेक’ भयो, अहिले काम भइरहेको छ । तर, मान्छेले काम गर्नुपर्ने थोरै र इक्युप्मेन्टले गर्नुपर्ने धेरै छ,’ पाण्डेले रातोपाटीसँग भने,‘काम कम्प्लीट नभएपनि देखिने खालको काम २ महिनामा होला कि भन्ने आशा छ ।’

उता प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाही पनि ठेकेदारको लापरबाहीका कारण सरकारले आलोचना र गाली खानु परिहरेको बताउँछन् । ‘म्याद थप नहुने गरी काम गर्न भनिएको छ,’ उनले भने । 

अवरोध गर्दै स्थानीय

तर, अमर सिस्ने नेपाल मेघा जेभीका प्रतिनिधि भने यो सडकबाट आफूहरूलाई फाइदा नपुग्ने भन्दै काममा दत्तचित्त देखिन्नन् । सोमबार मन्त्री शाही अनुगमन गर्न पुग्दा ठेकेदार प्रतिनिधि दीपेन्द्र शाहीले भने,‘ हेर्नुहोस्, हामी करिब ७ करोड घाटामा जान्छौँ होला ।’

सडकको नालाको विषयलाई लिएर स्थानीयले दिनप्रतिदिन अवरोध गर्ने गरेको ठेकेदार शाहीले बताए । उनले ज्यानको असुरक्षा भएको भन्दै निर्देशनालयलाई पत्र समेत लेखका छन् । ‘दैनिक यस क्षेत्रका केही युवाहरू आएर धम्क्याउने काम भइरहेको छ,’ उनले भने । 

सुरक्षाका लागि ठेकेदारकाे पत्र

यो सडक त वीरेन्द्रनगरको एउटा उदाहरण मात्र हो, राजधानी वीरेन्द्रनगरभित्र प्रदेश सरकारबाट निर्माणाधीन दर्जन बढी सडक ठेकेदारको लापरबाहीका कारण तोकिएको समयमा काम भइरहेको छैन ।

अटेरी विद्युत् प्राधिकरण !

सडक विस्तार र निर्माणका क्रममा धेरैजसो सडकमा विद्युत् प्राधिकरण बाधक बनिरहेको छ । मंगलगढी–काँक्रेबिहार जोड्ने यही सडक अन्तर्गत ४८ वटा विद्युत्का पोल सार्नुपर्ने भए पनि अहिलेसम्म हटाइएको छैन । 

सडकबीचमा विद्युत पाेल तेलपानी_ भुरीगाउँ सडक (2)

पोल सार्न निर्देशनालयले प्राधिकरणलाई ५० लाख भुक्तानी दिइसकेको छ । यस सडक अन्तर्गतका ३४ वटा घर हटाइसकिएको छ भने केही घर हटाउने क्रम जारी नै रहेको निर्देशनालयले जनाएको छ । 

साथै, वीरेन्द्रनगर–तेलपानी सडकमा पनि प्राधिकरणको अटेरी देखिन्छ । यो प्रदेश वीरेन्द्रनगर–बर्दिया जोड्ने छोटो मार्ग हो । जसको दूरी ५१ किलोमिटर छ । प्रदेश सरकारले यो वर्ष ७ सय मिटर कालोपत्रे गर्ने तयारी गरेपनि सडकको बीच भागमा रहेका विद्युत् पोल नहटाउँदा कालोपत्रेको काम अघि बढ्न सकेको छैन । 

१४ वटा पोल हटाउन २७ लाख रकम प्राधिकरणलाई बुझाउनु पर्नेछ । विद्युत् प्राधिकरणले दुई हप्ता अघि पोल हटाउने भनेर १५ लाख लिइसकेको छ । तर पोलकै कारण तोकिएको समयमा काम सम्पन्न नहुने देखिएको पूर्वाधार विकास निर्देशनालयका प्रमुख श्यामशरण आचार्य बताउँछन् । 

पानी हालेपछी धुलाे हिलाे

सडक कालोपत्रेका लागि चार करोड बजेट रहेकोमा निर्देशनालयले कबिर काँक्रे जेभीसँग ११ माघमै २ करोड ८५ लाखमा सम्झौता गरेको थियो । अहिलेसम्म ४ सय मिटरको नाला बनिसकेको छ भने ३ सय मिटर बनाउन बाँकी रहेको ठेकेदार प्रतिनिधि उत्सव बस्नेतले बताए । 

सुर्खेत विद्युत् प्राधिकरणका प्रमुख युवराज रावतले तेलपानी–भुरीगाउँ सडकको पोल केही दिनमै हटाइने बताए । यद्यपि निर्देशनालयले भन्ने वित्तिकै हटाउन सम्भव नहुने उनको तर्क छ । उनले भने,‘तत्कालै सम्झौता गरेर तत्कालै हटाउने भन्ने कुरा हुँदैन, समय लाग्छ नि ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप