बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
कला

पौभा : ह्वेयर द डिभाइनिटिज रिसाइड’ले पस्केको कलागत विश्लेषण

शनिबार, १६ वैशाख २०८०, १३ : ३७
शनिबार, १६ वैशाख २०८०

परम्परागत पौभा चित्रकार उजय वज्रचार्यको पुस्तक ‘पौभा ः ह्वेयर द डिभाइनिटिज रिसाइड’ हालै बजारमा आएको छ । नेपाली परम्परागत पौभा चित्रलाई महत्त्वका साथ चिनाउने पुस्तक हो यो । 

पुस्तक हेर्दा देवीदेवताहरू पौभा चित्रमा बस्छन् भन्ने आसय आदरभावका साथ व्यक्त भएको देखिन्छ । यही सद्भावकोे आन्तरिक मूल तत्त्वलाई सम्पे्रषण गर्नु नै पुस्तकको मूल उद्देश्य देखिन्छ । 

पौभा चित्रको सबैभन्दा गहन विशेषता यही हो, जहाँ देवी–देवताले निवास गर्छन्, यही शास्वत यथार्थलाई यो पुस्तकले उजागर गर्ने प्रयास गरेको देखिन्छ । 

यो सँगसँगै बौद्ध धर्म, यसको दर्शन, धर्म–गाथा, लोकोक्ति आदिसँग नेपाली परम्परागत कला पौभाको सामीप्यतालाई यो पुस्तकमा गहिरो गरी उठान र विश्लेषण गरिएको छ । 

पुस्तकमा आएका प्रतीकात्मक विम्बहरू बढीजसो धार्मिक छन् । बौद्ध धर्मको अवयव बढी मात्रामा पर्नाले पनि यो पुस्तकमा पौभा चित्रलाई धर्मकै एउटा अंशको रूपमा चित्रण गरिएको छ । अझ बौद्ध धर्मको अभ्यासको एउटा महत्त्वपूर्ण टुल्सको रूपमा पौभालाई परिकल्पना गरिएको छ । 

यसर्थ, पौभा कलाको शास्वत रूप आजको दिनसम्म जीवन्त छ । कुनै पनि ऐतिहासिक कालखण्डमा यसले विश्राम लिएको देखिँदैन । यो कला अनवरत रूपमा बन्दै आएको छ । समाजको परिवर्तन सँगसँगै हुर्कंदै पल्लवित भएको यो कला बाह्य कलागत प्रवृत्तिले प्रभाव पार्दा नयाँ नयाँ कलेवरमा देखिनु यसको खास चरित्र देखिन्छ । 

विशेष गरेर सदियौँदेखि प्रचलनमा रहेको दोस्रो आयामिक चित्रण पद्धति र १९औँ शताब्दीको उत्तरकालमा पश्चिमी तेस्रो आयामिक चित्रण पद्धतिले नेपाली परम्परागत चित्रहरू प्रभावित भएका थिए । समाजभित्र र बाहिरको अवस्था, मानवको परिवर्तन हुँदै गएको सोच आदिको प्रभावबाट प्रभावित भएर थोरै अलग स्वरूपमा यो कला देखिन्छ । तापनि यसको मूल कलागत मर्म भने आजको दिनसम्म टुट्न दिएको देखिँदैन । यही कुराको प्रत्याभूति यो पुस्तकमा यथेष्ट रूपमा ल्याउने कोसिस भएको देखिन्छ । 

परिवर्तित रूप (अभिव्यञ्जनासहित म्युजियममा सजिन नयाँ माध्यमबाट नेवा शैलीमै बनेका कलाको नयाँ रूप)लाई नेपाली कलाले बाहिरको कलालाई प्रभाव पारेको प्रसंग पुस्तकमा आएको छ । बाहिरका कलाले अत्यधिक नेपाली कलालाई प्रभावमा पार्दा आजको पौभा चित्रहरूलाई ‘समसामयिक पौभा चित्र’ बन्न पुगेको लेखकको भनाइ छ । 

धर्मको उद्देश्य नराखिएर नेवा स्टाइललाई सुधार गर्दै नवीन संयोजन, नयाँ माध्यम, भावाभिव्यक्ति सहितको अभिव्यञ्जना, सिर्जनशील पौभाचित्र बन्न थालेका छन् । यो आजको अवस्थालाई पनि यो पुस्तकमा अभिलेखन भएको छ । 

IMG_20230413_083918__01

परम्परागत पौभा चित्र र समसामयिक पौभा चित्र भनेर यसलाई चर्चामा ल्याउने, चिन्तन मनन गर्ने वातावरण बनाउने सन्दर्भमा यी कुरा उचित पनि देखिन्छ । त्यतिबेला यो पौभा कला व्यवसायसँग कति नजिकबाट जोडिएको थियो वा थिएन, थाहा छैन । तापनि यसको निरन्तरतामा कतै खोट लागेको देखिँदैन । यही विशेषता र यसको ओजलाई केन्द्रमा राख्दै यो पुस्तकमा पौभालाई व्याख्या–विश्लेषण गरिएको छ । 

पौभा चित्रका हरेक पात्र, विम्बको अझ सिँगार्न राखिएका स–साना बुट्टाहरूको समेत एक निश्चित अर्थ र उद्देश्य भएको, हुनैपर्ने आसयका साथ यहाँ वर्णन पुस्तकमा भएको देखिन्छ । चित्रको मुन्तिरको भागमा यी सबै न्यारेटिभ रूपमा लेख्ने प्रचलन पौभा कलाको अलग्ग शैली र प्रवृत्ति एक निश्चित कालमा देखापरेको हो । यसलाई यो पुस्तकमा अझ महत्त्वका साथ उठाइएको छ । 

चित्रमा लेखिएको टेक्स्टलाई समेत अभिलेखनमा राखिँदा यो अझ आधिकारिक बन्न पुगेको छ । यो पुस्तकलाई अद्योपान्त अध्ययन गर्दा पाठकलाई महसुस हुने कुरा भनेको पौभालाई सामान्य चित्रको रूपमा कल्पना गरिएको छैन ।

निश्चित पारम्परिक शास्त्रीय विधि विधानद्वारा शुद्ध क्यानभासमा कलाकारले शुद्ध रंगहरू प्रयोग गरी निश्चित साइतमा बनाउनुपर्ने तथा कला सिर्जना गर्ने कलाकारको हातलाई पूजा गर्ने पौभा चित्रमा परम्परा छ । चित्र तयार भएपछि अन्तिममा देवीदेवताको आँखा खोल्ने, आँखा खोलिसकेपछि यो सामान्य चित्र नरहेर साक्षात देवत्व शक्ति रहेको कल्पना गर्नुपर्ने परम्परालाई खुलस्त हुने गरी यसैको प्रतिविम्बको रूपमा पनि यो पुस्तक देखापरेको छ । सम्बन्धित रंगीन चित्रहरू यथेष्ट रूपमा राखिएकामा यी कुरालाई अझ सजिलै गरी बुझ्न सहज भएको छ । 

साथै सबैभन्दा महत्त्वपूर्ण यो पुस्तकमा मानव मात्रको प्रबोधनको सन्दर्भलाई अति महत्त्वका साथ पौभा चित्रसँग जोडेर हेर्न खोजिएको छ । मानवलाई प्रबोधन र चित्रसँग समागम गरेर मानव मात्रको शान्त, स्निग्ध, सुखमय समाजको परिकल्पना गर्ने यो एक अद्भूत अवधारणा पनि हो । 

पौभा चित्रकला कला त हुँदै हो । सँगसँगै यो जीवनको अभिन्न अंगको रूपमा र दिनचर्याको एउटा अपरिहार्य वस्तुको रूपमा रहेको समेत यो पुस्तकमा देखाइएको छ । 

हुन त काठमाडौँ उपत्यकाभित्रका नेवा समुदायले यस्ताखाले चित्रको निर्माण गर्ने हुँदा पनि यस्ता कलालाई नेवा स्टाइलको कला भन्ने मान्यता स्थापित भइसकेको छ । कलाविद् मीनबहादुर शाक्यलाई उद्धृत गर्दै लेखकले सन् ५५० मा श्रीघ विहारमा पद्मपाणि लोकेश्वर रहेको र यस बेलालाई नेपाली कलाको ‘गोल्डेन एज’ रहेको पुस्तकमा उल्लेख छ । 

लिच्छवि कालअघि काठमाडौं उपत्यकामा नेवा मास्टर आर्टिस्टका नितान्त फरक शैलीका कला थियो । यसबाहेक किन्नरी जातकका साथै धेरै बौद्धिस्ट विषयलाई त्यस बेला बौद्ध स्तुपामा सिँगार्ने काम समेत हुन्थ्यो भन्ने सन्दर्भ पनि रमाइलोसँग उठाइएको छ । 

पछिल्लो कालमा तिब्बतको डनहुवाङ क्षेत्रमा नेवा शैलीका कलाहरूले गहिरो गरी प्रभाव पारेको यस पुस्तकमा उल्लेख भएको छ । यो कला चौथोदेखि १६औँ शताब्दी बीचमा विकसित भएको विश्वास गरिन्छ । तिब्बतका कैयौँ क्षेत्रदेखि पछि चीनमा १३औँ शताब्दीमा अरनिकोद्वारा निर्माण गरिएको श्वेत पेगोडासम्मको बयान गरिएको छ । 

यसका साथै धर्मसँग जोडेर वास्तविक मानव हुने सन्दर्भमा पौभा चित्र देखिनु, देखाउनु पुस्तकको सबल पक्ष देखिन्छ । यो ग्रन्थ बौद्ध–दर्शनलाई नजिकबाट चियाउने माध्यमको रूपमा पनि देखापरेको छ । 

यस पुस्तकमा गहिरो गरी उठाइएको सन्दर्भ भनेको बुद्धिजम्को यथेष्ट ज्ञान नभएसम्म यसका प्रतीकात्मक मोटिफलाई अर्थ, उद्देश्य र प्रक्रियालाई राम्ररी नबुझेर पौभा चित्रलाई बुझ्न, पढ्न र आत्मसात गर्न सकिन्न । 

पौभा चित्र बनाउन वा बुझ्न आत्मसात गर्न बौद्ध धर्मको जानकार हुनुपर्नेतर्फ पुस्तकले स्पष्ट संकेत गर्दछ । अझ अलि गहिरिएर यसको महत्त्वलाई उजागर गर्नुपर्दा बौद्ध धर्मको ज्ञाता रहनुपर्ने तर्क यस पुस्तकले अगाडि सारेको छ । 

विस्तारमा समेटिएका विषय 

पुस्तकमा विशेष गरी चारवटा मुख्य विषय समेटिएको छ– ‘होयर द डिभाइनिटिज रिसाइड’, ‘रिभाइभिङ द एज–वल्ड ट्रेडिसन अफ पौभा पेन्टिङ’, ‘सिग्निफिक्यान्ट पौभा पेन्टिङ थ्रुआउट हिस्ट्री’ र ‘माई आर्टिस्टिक एन्ड स्प्रिचुअल रिफ्ल्याक्सन अन पौभा’ ।

पहिलो खण्डमा नेपाल मण्डलको उद्भव, नेवा र नेवा बुद्धिजम, पौभाको इतिहास, बौद्धिस्ट चित्रको आरम्भ, समसामयिक पौभा चित्र, नेवा कलाको प्रभावदेखि तिब्बतियन र नेवा पौभा अनि पौभाका चार आधारभूत तत्त्व आदि समेटिएको छ । 

दोस्रो खण्डमा षडाक्षरी लोकेश्वर पौभा चित्र अनि ग्रिन ताराको निर्माण गर्दा सुरुदेखि अन्तसम्म गरिनुपर्ने धर्मविधिलाई केन्द्रमा राखेर व्याख्या गरिएको छ । तेस्रो खण्डमा थ्री बुद्ध, ग्रिन तारा, बसुन्धरा मण्डला, स्वयम्भू महाचैत्यको जीर्णोद्वार आदिलाई समेटिएको छ । अन्तिम खण्डमा कलाकारको पौभा कला माथिको आध्यामिकता र कलात्मक प्रतिविम्बलाई अभिलेखन गरिएको छ । 

बौद्ध धर्म र पौभा चित्रलाई एकरूपतामा हेर्ने मूल आसय बोकेको हुँदा पनि शुभारम्भमै यो पुस्तक स्वयम्भू पुराणलाई मुख्य आधार बनाई अगाडि बढेको छ । नेपाल मण्डलको स्थापना कसरी भयो, मञ्जुश्रीले कसरी चोभार डाँडालाई काटेर काठमाडौँ उपत्यकाको पानी बाहिर पठाए, पानीसँगै बगेर जाने नागहरू रोक्न नागदह निर्माणजस्ता धर्मगाथा र लोकोक्तिका धेरै ऐतिहासिक सन्दर्भ समेट्ने कोसिस भएको छ । 

के हो पौभा कला ?

पौभा कलाको धार्मिक रूप हो, जहाँ ईश्वरीय शक्ति अन्तर्निहित हुन्छ । अनि यसले मानव मात्रलाई प्रबोधन हुन यथेष्ट मद्दत गर्दछ, पौभाको परिभाषामा भनिएको छ । 

पौभालाई पौवा, नेवा थाङ्का भन्ने चलन गलत रहेको तर्क गरिएको छ । पौभाको महत्त्वलाई दर्शाउन लेखकले बुद्धिस्ट टिचिङलाई विस्तारमा व्याख्या गरेका छन् । बुद्ध, बोधिसत्व अनि लोकेश्वर आदिका इमेजहरू पौभा चित्रको रूपमा, अन्य मूर्तिहरूको रूपमा देखा पर्न थालेका हुन् । 

पुस्तकमा व्याख्या गरिएअनुसार हिन्दू धर्म दर्शनभन्दा बौद्ध दर्शनमा आधारित भएर पौभाचित्र बढी बनेका छन् । थाङ्का कलामा हिन्दू धर्ममा आधारित भएर यस्ता चित्र बिरलै पाइन्छ । 

पौभा चित्रमा मुख्य देवीदेवतालाई चित्रपटको बीच भागमा राखी विशेष सम्बोधन गर्दै सहयोगी अन्य देवी–देवता घेरिएको अवस्थालाई चित्रित गरिएको हुन्छ । 

चित्रपटको तलको अग्रभागमा पौभा बनाउन राखिएको उद्देश्यअनुरूप पुरोहित धर्म–अनुष्ठान गर्दै गरेको रूपमा देखिन्छ । साथै भक्तहरू बीचमा रहेको मूल देवी देवतातर्फ ध्यानपूर्वक भक्तिभाव जनाउँदै गरेको मुद्रामा राखिएका हुन्छन् । विशेष गरेर यस्ता भक्तहरू पेट्रन (प्रायोजक) र उनका परिवारका सदस्यहरूको व्यक्ति चित्रलाई चित्रण गरिएको हुन्छ । 

एकातिर पुरुषहरू र अर्कोतिर महिलालाई लाइन मिलाएर राखिएको हुन्छ । चित्रपटको अग्रभागमा देवीदेवताका बारेमा, पेट्रनको नाम, पुरोहित, मिति, बनाउनुको उद्देश्य आदि लेखिएको हुन्छ । तर चित्र बनाउने कलाकारको नाम बिरलै लेखिन्छ । 

IMG_20230413_084122__01__01

पौभा चित्रको देवीदेवताको औरा थाङ्का चित्रको तुलनामा अलि पातलो हुन्छ । पौभा चित्रभन्दा रातो रंगहरू अनुपातिक रूपमा थाङ्का चित्रमा अलि कमलो हुन्छ । मुख्य देवी देवतालाई घेरिएको औराहरू तोरणको वर्क–सेपले घेरिएर अलङ्कृत गरिएका हुन्छन् । 

यसबाहेक मकारा, गरुड, छेपुको चित्रण कहाँ कसरी गरिन्छ भन्ने पनि विस्तारमा उल्लेख छ । हात्ती, सिंह र सार्दुला आदि यसका मुख्य पात्र ठाउँ ठाउँमा एक अर्थका साथ प्रस्तुत गरिएका हुन्छन् । 

फाइन लाइन–ड्रइङ पौभाको अर्को विशेषता हो । कहीँ पनि खाली ठाउँ नछाडेर फूलैफूलले ढकमक्क भएर सिँगार्ने पौभाको अर्को विशेषता हो । तन्त्रलाई क्रुद्ध अभिव्यक्तिको रूपमा ताकतवार रूपमा पौभा भन्दा थाङ्का चित्रमा बढी मात्रमा देखाइने चलन छ । यस्तै पौभाका अनेकानेक विशेषतालाई पुस्तकमा विस्तारमा अभिलेखन गरिएको छ । 

पौभा कलाकार, लोकचित्रकारले परम्परागत बौद्धिस्ट दर्शन परम्परालाई आधार मानेर बनाइएका पौभाचित्रका चारवटा तत्त्वलाई वर्णन गरिएको छ । यी तत्त्वमा विधान, परम्परा, उद्देश्य, फल हुन् । 

ग्रिन तारा, २१ ताराका विविध रूप देखाइएको छ । सबैजसो पौभाचित्रको व्याख्या गर्दा धर्म–गाथा, लोकोक्ति र परम्परागत आख्यानलाई अभिलेखन गरिएको छ । तर प्रतीकात्मक विम्बको अर्थलाई भने विस्तारमा खुलाइएको छैन । 

सातवटा महत्त्वपूर्ण पुराना पौभा चित्रको भने विस्तारमा व्याख्या गरिएको छ । यहाँ कलाकारको शिल्प दक्षताको कुरा मात्र होइन, हरेक देवीको तान्त्रिक शक्तिलाई पनि उजागर गरिएको छ । 

राजा महाराजाले कसरी यो तान्त्रिक विद्या–शक्तिलाई प्रयोग गर्दथे भन्ने अनेक किम्बदन्ती छन् । यी चित्रद्वारा प्रयोगमा ल्याउँथे भन्ने प्रसंग पनि धेरै ठाउँमा उल्लेख गरिएको छ । 

पुस्तकको अर्को महत्त्वपूर्ण भाग भनेको नेपालमै प्राप्त भएको १२औँ शताब्दीदेखि १६औँ शताब्दीको महत्त्वपूर्ण पौभा चित्रको छापाचित्रदेखि तथ्यजन्य विवरणसहित वर्णन छ । जसमा अमिताभ बुद्ध, अमोघसिद्धि बुद्ध, रत्नसम्भव बुद्ध, ग्रिन तारा, बसुन्धरा मंगला, गगनिजम् विथ हिज टु वाइफ, रेस्टुरेसन अफ स्वयम्भू महाचैत्य आदि छन् । 

चित्रसँग दैवी शक्ति निहित छ । पौभा चित्र आफैँमा देवत्वबाट वशीभूत भएको अर्थमा एक समयमा यही मान्यता र आदरभाव थियो, अहिले पनि छ भन्ने यो पुस्तकको निचोड रहेको छ ।  

पौभा चित्रकलालाई अलि गहिरो प्रकारले बुझ्न खोज्ने भावक, कलाकार, अनुसन्धानकर्ताका लागि यो पुस्तक निकै लाभदायक छ । साह्रै मिहिनेत गरेर रंगीन छापा चित्रसहित बनाउँदाको प्रक्रिया, बौद्ध दर्शनलगायत विषयवस्तु समावेश हुँदा यो पुस्तक संकलन गर्नैपर्ने खालको देखिन्छ । 

(लेखक कलाकार तथा कला समीक्षक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप