१ करोड ९ लाखको बजेटमा ४ कोठे भवन, स्थानीयको विरोधले रोकियो काम
धनगढी । कैलालीको कैलारी गाउँपालिका–२ स्थित बसौटी स्वास्थ्य चौकी भवन निर्माण विवादित बनेको छ । भवन निर्माणको लागि १ करोड ९ लाख रुपैयाँ विनियोजित गरिए पनि जम्मा ४ कोठे भवन निर्माणको कार्य अघि बढाइएपछि स्थानीयले विरोध गरेका छन् । स्थानीयको विरोधपछि भवनको जग हाल्न नपाउँदै काम समेत अवरुद्ध भएको हो ।
स्थानीय नवीन बोहराले भवन बन्न थालेको स्थानमा पहिले ६ कोठे भवन भएको बताए । सो भवन भत्काएर दुई तले सुविधा सम्पन्न भवन निर्माण गर्ने प्रतिबद्धता गाउँपालिका अध्यक्ष र वडाध्यक्षले गरेको तर हाल सानो ४ कोठे भवन मात्रै बनाउन थालेपछि विरोध जनाएको बताए ।
उनले भने, ‘संघीय सरकारबाट ३५ लाख र पालिकाबाट ७४ लाख गरी १ करोड ९ लाख बजेट विनियोजन भयो । पुरानो भवन भत्काइसकेपछि गाउँपालिका अध्यक्ष राजसमझ चौधरी र वडाध्यक्ष विकास चौधरीले यहाँ २ तले सुविधा सम्पन्न भवन निर्माण हुने भनेर सार्वजनिक रुपमै जनतामाझ आश्वासन दिनुभयो । तर जब काम सुरुवात गरियो, तब थाहा पायौँ कि, यहाँ त २ तल्ले नभएर एक तल्ले ४ कोठा भएको र स्वास्थ्यको मापदण्ड समेत नपुग्ने संरचना बन्दै छ । यसमा वडा तहदेखि पालिकाको प्राविधिक फाँट र पालिका नेतृत्व तहको चलखेल देखिन्छ । मिलेमतो देखिन्छ । वडावासीलाई दुःख दिने नियत देखियो । त्यसैले काम रोक्यौ ।’
नेकपा माओवादी केन्द्र कैलारी गाउँपालिकाका अध्यक्ष बतासु चौधरीले स्वास्थ्य चौकीको लागि आएको बजेट स्वास्थ्य चौकीकै संरचनामा खर्च गर्नुपर्ने बताए ।
उनले भने, ‘ठूलो बजेट छ । बालबालिका, बृद्धबृद्धालगायतको सहजता हुने तथा स्वास्थ्यको मापदण्ड अनुसार बन्नुपर्छ भन्ने हाम्रो भनाइ हो । पालिका नेतृत्वकर्ताहरुको बोली र व्यवहारमा एकरूपता नदेखिएपछि हामीले आपत्ति जनाएका हौ । भवनको टेन्डर बिलोमा गएको छ । जसमा ४३ लाख बच्ने देखिन्छ । सो रकम पनि यही खर्च हुनुपर्छ । थप संरचना बन्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

त्यस्तै, पूर्व वडाध्यक्ष सन्तुराम चौधरीले आफूहरूकै अवधिमा भवन निर्माणको बजेटको पहल गरेको दाबी गरे । तर हालका जनप्रतिनिधिले बजेट अनुसारको काम नभएकाले सम्बन्धित क्षेत्रमै बजेट खर्च गर्नुपर्ने आफूहरुकोे माग रहेको सुनाए ।
स्थानीय दयाशंकर चौधरीले बसौटी स्वास्थ्य चौकी वडाकै ठूलो स्वास्थ्य चौकी रहेकोले यसको विकासको लागि काम हुनुपर्ने बताउँछन् । भौतिक संरचना मात्रै नभइ विशेषज्ञ तथा दक्ष जनशक्ति व्यवस्थापन, प्रयोगशाला सुविधा सुविधालगायत अन्य सुविधा बढाउन आवश्यक रहेको औँल्याउँदै आफूहरुकोे भनाइ भौतिक बन्नु हुँदैन भन्दा पनि स्वास्थ्य चौकीको जस्तो संरचना बन्नुपर्छ भन्ने भनाइ रहेको बताए ।
कैलारी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विकास चौधरीले आफूहरूले बजेटको आकार मात्रै हेरेर इस्टिमेट बन्नु पूर्व प्राविधिक पक्षलाई ख्याल गर्न नसक्दा केही असहजता पैदा भएको स्वीकार गरे । तर आफूले यहाँ आएको बजेट यहीँ खर्च हुनुपर्छ भन्ने पक्षमा रहेको मौखिक आश्वासन पनि कार्यपालिकाबाट पाएको रातोपाटीलाई बताए ।
वडाध्यक्ष चौधरीका अनुसार स्वास्थ्य चौकी भवन निर्माणको लागि संघीय सरकारको तराई मधेश कार्यक्रमको ३५ लाख र गाउँपालिकाको ७४ लाख गरी १ करोड ९ लाख विनियोजन भएको हो । भवन निर्माण लागत इस्टिमेट ९१ लाख रहेको छ । तर भवनको टेन्डर ६६ लाखमा स्वीकृत भएको उनले बताए ।
चौधरीले रातोपाटीसँग भने, ‘आफूले पनि टेन्डर बिलोमा गएपछि बचेको बजेट यही खर्च हुनुपर्छ भन्ने पक्षमा छु । लिखत नभए पनि कार्यपालिकाबाट पुनः यही बजेट थप्ने मौखिक आश्वासन पाएको छु । अब भवन निर्माणमा देखिएको असहजताको निकासको लागि पालिका अध्यक्ष ज्यूसँग छलफल गर्ने र असन्तुष्ट पक्षसँग पनि छलफल गरेर निकासमा लाग्छु ।’
तर गाउँपालिकाले भने टेन्डर बिलो गएपछि बच्ने रकम यसै भवनमा खर्च गर्न नमिल्ने बताउँदै आएको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफू स्वास्थ्य चौकीको भवन निर्माणमा गम्भीर रहेको बताउँदै टेन्डर बिलो गएपछि संघबाट त्यही अनुसार बजेट घटेर आउने तर पालिकाको तर्फबाट भने आउँदो दिनमा बजेट थप गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण