शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख १७ लाई बालविवाह विरुद्धको दिवसका रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

आइतबार, १७ वैशाख २०८०, १८ : ५५
आइतबार, १७ वैशाख २०८०

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वैशाख १७ गतेलाई प्रदेश सरकारले बालविवाह विरुद्धको दिवसका रुपमा मनाउने घोषणा गरेका छन् ।

जनकपुरधाममा आइतबारदेखि सुरु भएको दुई दिवसीय मधेस बालिका सम्मेलन–२०८० लाई उद्घाटन गर्दै मुख्यमन्त्री यादवले सन् २०३० सम्ममा मधेस प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना ल्याएको बताए ।

१० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत भइसकेको जनाउँदै  उनले प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने बताए ।

लाइफ नेपाल नामक संस्थाको समन्वय तथा करिब दुई दर्जन संघसंस्थाको सहयोगमा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको बालिका सम्मेलनमा मुख्यमन्त्री यादवले यस्ता कार्यक्रमले प्रदेशमा बालविवाह विरुद्धको अभियान अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बालबालिकाको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै ‘बेटी पढाऊ, बेटी बचाउ’ अभियान पनि प्रदेशका बालिकालाई सशक्त पार्ने उद्देश्यले संचालन गरिएको जानकारी दिए ।

बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन दलित शिक्षा अभियान सञ्चालन गरिएको बताउँदै मुख्यमन्त्री यादवले प्रदेशमा बालिकालाई सशक्त बनाउने अभियानलाई यसले बल पु¥याउने विश्वास व्यक्त गरे ।

उद्घाटन सत्रमा प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले अन्य प्रदेशको तुलनामा मधेस प्रदेश साक्षरमा पछाडि रहेको जिकिर गर्दै सबैलाई साक्षर बनाएर प्रदेशलाई बालविवाह मुक्त बनाउने प्रस्ट पारे । सबै साक्षर भएमा मात्रै यस प्रकारको सामाजिक विकृति रोक्न सकिने उनको भनाइ छ ।

सो अवसरमा सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले बालविवाहका मतिहारहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् । प्रदेशका १३६ पालिकामध्ये सुरुङ्गा नगरपालिका मात्र अहिलेसम्म बालविवाह मुक्त घोषणा भएको छ ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बालविवाह विरुद्धको अभियानमा भागी विवाह चुनौती रहेको बताए ।

सोमबार जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्दै दुई दिने बालिका सम्मेलन समापन हुनेछ । सम्मेलनमा प्रदेशका आठै जिल्लाका करिब २ सय बालिका सहभागी भएको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव रंजित यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप