आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेशमा पहिचानको आन्दोलन : निसानामा ओली, नयाँ बहस सुरु

फागुन १७ पछि ३० पालिका र १६२ वडामा तालाबन्दी
सोमबार, १८ वैशाख २०८०, ०६ : २१
सोमबार, १८ वैशाख २०८०

विराटनगर । प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै आन्दोलनरत पहिचानवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशमै आएको बेला विभिन्न कार्यक्रममा अवरोध प्रयास गरे । कतिपय स्थानमा त उनीमाथि आक्रमणको प्रयाससमेत भयो । 

चार दिन लामो कोशी प्रदेशको बसाई एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि त्यति सुखद रहेन । बरु, प्रदेशको नाम कोशी खारेजको माग राखेर उनै ओलीमाथि भएको आक्रमणले केन्द्रमा बहस सिर्जना गर्‍यो । ठूला पार्टीबीच आरोप प्रत्यारोप भयो । सामाजिक सञ्जालमा पहिचानवादीको आन्दोलन कसले गरेको वा कसले भड्काएको भन्नेसम्मका आरोप र खोजबिन भयो । 

वैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालिकामा एमाले अध्यक्ष ओली र सुवासचन्द्र नेम्वाङलाई पहिचानवादीले कालो झण्डा देखाए । त्यसक्रममा प्रहरीसँग आन्दोलनकारीको झडप भयो । झडपमा परी एक प्रहरी घाइते हुँदा आन्दोलनकारी मित्र लिङ्देन र बुलेट किराँती पक्राउ परे । उनीहरू अझै हिरासतमै छन् ।

वैशाख १४ गते इलाम सदरमुकाम पुगेका एमाले अध्यक्ष ओलीविरुद्ध त्यहाँ पनि कालो झण्डा प्रदर्शन भयो । त्यसक्रममा ९ जना पक्राउ परे । यद्यपि उनीहरूलाई सोही दिन साँझ रिहा गरियो । ओली आउने थाहा पाएपछि इलामको गोदकमा पहिचानवादीले रुख ढालेर सडक अवरुद्ध बनाएका थिए । 

वैशाख १५ गते तेह्रथुमको आठराई गाउँपालिका पुगेका ओलीमाथि पुनः पहिचानवादीले कालोझण्डा देखाए । त्यसक्रममा एमाले कार्यकर्तासँग पहिचानवादीको भनाभन भयो । पहिचानवादीहरूले सोही साँझ पाँचथरको फिदिममा मशाल जुलुस प्रदर्शन गरे । 

वैशाख १६ गते एमाले अध्यक्ष ओली फर्कने क्रममा फिदिममा कालो झण्डा र नारा जुलुस प्रदर्शन भयो । ओलीलाई लक्षित गर्दै आन्दोलनकारीले निरन्तर निसाना बनाउँदा केन्द्रमा भने एमालेले पत्रकार सम्मेलन गरेरै सरकारले नै कोशी प्रदेशमा अराजकता मच्चाइरहेको आरोप लगायो । तर, एमालेले गत फागुन १७ गतेदेखि कोशी प्रदेशमा भइरहेको निरन्तरको आन्दोलन र झडपहरूलाई अहिलेसम्म अनदेखा गरिरहेको थियो । 

फागुन १७ पछि ३० पालिका र १६२ वडामा तालाबन्दी

प्रदेशको नाम कोशी राखेसँगै सोही दिनबाट सुरु भएको आन्दोलन अझै रोकिएको छैन । कोशी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म आन्दोलनकारीले ३० वटा पालिकामा तालाबन्दी गरेका छन् भने १६२ वटा वडा कार्यालय बन्द गराएका छन् । ८ पटक चक्काजाम गरेका उनीहरूले २२ वटा कोणसभा, २० वटा भेला, १३ वटा नारा जुलुस, १८ वटा राँके जुलुस, २० वटा र्‍याली, १६ पटक कालोझण्डा प्रदर्शन, ८ वटा विरोधसभा र अन्य ९ वटा विभिन्न गतिविधि गरेका छन् । 

त्यसक्रममा ८ जना आन्दोलनकारी पक्राउ परेका छन् भने उनीहरूलाई रिहा गरिसकिएको प्रहरीले जनाएको छ । यस्तै आन्दोलनका क्रममा पदम लिम्बू लाजेहाङको मृत्यु भएको छ । विभिन्न आन्दोलनका क्रममा आन्दोलनकारी १५ जना घाइते भएका छन् भने ४४ जना प्रहरी घाइते भएको तथ्याङ्क छ । 

त्यसमध्ये पदम लिम्बूको शवयात्राका क्रममा झडप हुँदा विराटनगर वैशाख ९ गते तनावग्रस्त बन्यो । शान्तिपूर्ण शवयात्रा गर्ने भनिएको कार्यक्रममा आन्दोलनकारी सुरुवातदेखि नै उग्र बनेर आएको प्रहरीको दाबी छ । उता, आन्दोलनकारीले भने प्रहरीले आफूहरूले तय गरेको शवयात्रालाई रोक्न खोजेपछि झडप भएको बताएको छ । 

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिम आन्दोलन अझै उग्र बन्न सक्ने बताउँछन् । ‘अब सबै जनप्रतिनिधिलाई हामी बहिष्कार गर्छौं । उनीहरुमाथि व्यक्तिगत कारबाही हुनसक्छ । त्यसो भयो भने सबै जनप्रतिनिधिको घरघरमा प्रहरी सुरक्षाकर्मी राख्न सक्छ राज्यले ?,’ उनले भने, ‘आगामी दिनमा हुनसक्ने ठूलो क्षतिलाई रोक्नका लागि वार्ता, संवाद र छलफलको वातावरण बनाउनु पर्छ कि पर्दैन ?’

पहिचानवादीहरूले विराटनगरमा चैत ५ गते वृहत प्रदर्शन गरेका थिए । त्यही आन्दोलनमा सहभागी बेलबारीका पदम लिम्बू लाजेहाङ प्रहरीसँगको झडपमा परी घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो । त्यही चोटका कारण चैत ८ गते एक्कासि बिरामी भएपछि अस्पताल भर्ना भएका उनको चैत १० गते मृत्यु भएको थियो । त्यसपछि पहिचानको आन्दोलन गर्नेहरू झनै आक्रोशित बनिरहेका छन् । 

सरकारले चैत २४ गते पदम लिम्बूलाई सहिद घोषणा गरेको छ । चैत १० गते मृत्युवरण गरेका उनको शव एक महिनापछि वैशाख ९ मा अन्त्येष्टि गरिएको छ । पहिचानवादीले प्रदेशको नाम बहुपहिचानको आधारमा राख्नुपर्ने बताउँदै आएका छन् । सरकारले वार्ता र संवाद गर्नै नचाहने र आन्दोलनकारीहरू उग्र बन्दै जाने परिस्थितिले कोशी प्रदेशमा थप तनाव हुने देखिएको कतिपय बताउँछन् । 

हेर्नुहोस् विरोधको विवरण:

पहिचानवादीले फागुन १७ गतेयता गरेका मुख्यमुख्य गतिविधि

- फागुन १७ गते विराटनगरमा प्रदर्शन ।

- फागुन १८ गते मुख्य सडक १ घण्टा सडक जाम ।

- फागुन २४ गते प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन ।

- फागुन २५ गते पालिकाहरूमा कालो झण्डा राख्ने कार्यक्रम ।

- फागुन २७ गते साँझ प्रदेश भर मशाल जुलुस, झापामा ९ जना पक्राउ

- फागुन २८ गते प्रदेशमा आमहड्ताल ।

- कोशी प्रदेशको समर्थक निरन राईलाई झापामा वंश गद्दार घोषणा

- चैत्र ५ गते विराटनरमा बिशाल जनप्रदर्शन (पदम लिम्बू लाजेहाङसहित १५ जना घाइते, ३ सय मिटरको निषेधाज्ञा तोडियो) ।

- चैत्र ६ गते ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडीमा आक्रमण, मुख्यमन्त्री चढेको गाडीको झण्डा खोसियो ।

- चैत्र ७ गते माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको गाडीमाथि ताप्लेजुङमा आक्रमण ।

- चैत्र ८ गते झापा कमल गापा ३ स्थित इन्द्र आङ्बोको घरमा कालो झण्डा राखियो । 

- चैत्र ८ गते घाइते पदम लिम्बू लाजेहाङलाई उपचारका लागि धरानस्थित बिपी अस्पताल भर्ना ।

- चैत्र १० गते लाजेहाङको अस्पतालमा मृत्यु । सोही साँझ प्रदेशभर विरोध प्रदर्शन । सहिद घोषणाको माग । 

- चैत्र ११ गते प्रदेशका मुख्य सडक १ घण्टा सडक जाम ।

- चैत्र ११ देखि १४ सम्म पालिकाहरु बन्द तालाबन्दी कार्यक्रम ।

- चैत्र १४ गते विराटनगर बिग होटलमा प्रदेशसभा सदस्यलाई कालोझण्डा प्रदर्शन झडपमा ९ जना घाइते ।

- चैत्र २५ गते खोटाङमा एमाले सांसाद पाँचकर्ण राईलाई कालो मोसो दलियो । (प्रहरीले उक्त घटनामा संलग्न ७ जनालाई पक्राउ गरेपनि केही बेरमा छोडियो)

- वैशाख ५ गते खोटाङमा कोशी लेखेको क्यालेण्डर जलाइयो ।

- वैशाख ९ गते लाजेहाङको अन्त्येष्टि । विराटनगरमा झडप ९ जना घाइते ।

- वैशाख १० गते इटहरीमा सभा ।

- वैशाख १३ गते खोटाङमा किराँत फोर्सको जनप्रदर्शन ।

- वैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालिकामा एमाले अध्यक्ष केपी ओली र सुवासचन्द्र नेम्वाङलाई कालो झण्डा प्रदर्शन, प्रहरीसँग भएको झडपमा एक प्रहरी घाइते । आन्दोलनकारी मित्र लिङ्देन र बुलेट किराँती पक्राउ । अझै हिरासतमा ।

- वैशाख १४ गते इलाम सदरमुकाममा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कालो झण्डा प्रदर्शन । ९ जना पक्राउ पछि सोही दिन साँझ रिहा । ओली आउने भनेर थाहा पाएपछि इलामको गोदकमा रुख ढालेर सडक अवरुद्ध ।

- वैशाख १५ गते तेह्रथुमको आठराई गाउँपालिकामा कालोझण्डा प्रदर्शन, एमाले कार्यकर्तासँग दोहोरो नारा जुलुस प्रदर्शन । सोही साँझ पाँचथरको फिदिममा मशाल जुलुस प्रदर्शन ।

- वैशाख १६ गते एमाले अध्यक्ष केपी शर्मा ओली फर्कने क्रममा फिदिममा कालो झण्डा र नारा जुलुस प्रदर्शन ।

- वैशाख १६ गते मुख्यमन्त्री हिक्मतकुमार कार्की धनकुटा नाम्जे जाने थाहा पाएर धरान र भेडेटारमा पहिचानवादीद्वारा कालो झण्डा प्रदर्शन ।

- वैशाख १६ गते मुख्यमन्त्री आउने भनिएको झापा इटाभट्टा, दमकलगायत ३ स्थानमा आन्दोलनकारीको प्रदर्शन ।

स्रोत : कोशी प्रदेश प्रहरी कार्यालय

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप