आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

दरबार हाई स्कुलका विद्यार्थीहरु तरकारी खेती गर्दै

बिहीबार, २१ वैशाख २०८०, १५ : ४९
बिहीबार, २१ वैशाख २०८०

काठमाडौं । आर्जन गरिएको ज्ञान र सिपलाई व्यवहारमा उतार्न काठमाडौंस्थित दरबार हाई स्कुल अन्तर्गतका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीले नमुना सहरी तरकारी खेती गरेका छन् । काठमाडौं महानगरपालिकाको सहयोगमा उनीहरुले विद्यालय परिसरमै तरकारी खेती गरेका हुन् ।

किताबी पढाइमा सीमित बन्दै आएका विद्यार्थीले दुई महिनादेखि कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका छन् । तरकारी खेतीको पूर्व तयारीदेखि खेती लगाउने, रेखदेख गर्ने, रोग र औषधि–उपचारबारे विद्यार्थीहरु जानकार भइसकेका छन् ।

tarkari kheti 1 (1)

भानु माध्यमिक विद्यालयका विद्यार्थीले छात्रबास परिसरमा तरकारी खेती गर्छन् भने संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीले स्कुल परिसरमै तरकारी खेती गरेका छन् ।

तरकारी खेती गर्न विद्यार्थीलाई दुई समूहमा विभाजन गरिएको छ । विद्यार्थीहरु फुर्सदको समयमा पालैपालो आ–आफ्नो समूहमा तरकारीको गोडमेल र मल हाल्न पुग्छन् ।

अहिले कक्षा ९ मा अध्ययनरत विद्यार्थीले खुर्सानी, भिण्डी, साग लगायतका तरकारी तथा आयुर्वेदिक गुणका बिरुवा रोपेका छन् ।

tarkari kheti 1 (2)

महानगरले माध्यमिक कक्षाका लागि कार्यान्वयनमा ल्याएको सिपमुलक कृषि कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले तरकारी खेती गर्दै आएको विद्यालयका प्रधानाध्यापक शिव अधिकारीले बताए । कम्पाउण्डको खाली ठाउँमा तरकारी तथा आयुर्वेदिक गुणका बिरुवा रोपिएको उनको भनाइ छ ।

परामर्शदाता तथा विज्ञहरुसँग सहयोग लिएर विद्यालय परिसरमा तरकारी खेती गरिएको प्रधानाध्यापक अधिकारी बताउँछन् । यहाँ उत्पादन भएको तरकारी छात्राबासमा प्रयोग गर्ने उद्देश्य रहेको र बढी भएको उत्पादन बिक्री गर्न सकेमा यसबाट आएको रकम विद्यार्थी कल्याण कोष बनाएर संकलन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । उक्त कोषमा रहने रकम विद्यार्थीहरुकै क्षमता विकासमा खर्च गरिने उनको भनाइ छ ।

tarkari kheti 1 (3)

तरकारी रोप्न २ वटा टावर निर्माण गरिएका छन् । एउटा टावरमा करिब ३५ वटा प्वाल छन् । ती हरेक प्वालमा तरकारीका बिरुवा रोपिएका छन् । एउटा टावरको मूल्य १८ हजार रुपैयाँभन्दा माथि पर्ने गरेको प्रधानाध्यापक अधिकारीको भनाइ छ ।

विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य भएको अधिकारीले बताए ।

tarkari kheti 1 (4)

काठमाडौं महानगरपालिकाको नमुना विद्यालय अन्तर्गत तरकारी खेती कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । उनका अनुसार विद्यार्थीहरुले तरकारी खेतीमा रासायनिक मल प्रयोग गरेका छैनन् ।

सहरी तरकारी खेतीका बारेमा तीन दिन प्रशिक्षण लिएर तरकारी खेती सुरु गरिएको दरबार हाई स्कुल संस्कृत विद्यालयमा कक्षा ९ मा अध्ययनरत ओजश्वी लामिछानेले बताइन् । प्राङ्गारिक मल प्रयोग गरी अर्गानिक तरकारी खेती गर्न गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।

tarkari kheti 1 (6)

घरमा खेती किसानी नगरेकी लामिछाने विद्यालयमा सबै साथीभाइसँग मिलेर तरकारी खेतीमा रमाउन पाउँदा छुट्टै अनुभव भइरहेको बताउँछिन् । ‘हामीले यो खेतीबाट व्यावहारिक धेरै कुरा सिक्न पायौँ,’ उनले भनिन्, ‘छोटो समयमा यति धेरै ज्ञान पाइयो ।’

दरबार हाई स्कुलको कक्षा ९ मा अध्ययनरत सन्देश बराल तरकारीका बिरुवा कसरी रोप्ने, गोडमेल कसरी गर्ने भन्ने सिक्न पाउँदा खुसी लागेको बताउँछन् । घरबाट निस्किने फोहरबाट कम्पोष्ट मल बनाउने तरिकासमेत सिक्न पाएको उनको भनाइ छ ।

tarkari kheti 1 (7)

तीनधारा छात्राबासको खुला ठाउँमा गोलभेँडा, खुर्सानी, तिते करेला, भिण्डी, फर्सी, साग लगायतका तरकारी बाली लगाइएको बराल बताउँछन् ।

तरकारी लगाउनेदेखि पानी हाल्ने, गोडमेल, रेखदेख गर्ने आदि सबै काम विद्यार्थी आफैँले गर्र्दै आएको उनको भनाइ छ । ‘किताबमा पढेको ज्ञानलाई व्यवहारमा उतार्न पाएका छौँ,’ उनले भने, ‘खुसी छौँ, सिकाइ प्रभावकारी बनेको छ ।’

tarkari kheti 1 (8)

‘युथ फर एग्री वेलफेयर’ले दरबार हाई स्कुलसँग समन्वय गरेर सहरी तरकारी खेतीका बारेमा प्राविधिक ज्ञान दिने काम गरेको प्रशिक्षक बालकृष्ण दाहालले बताए । तरकारीको बिउ रोप्नेदेखि फलेर भान्सा कोठासम्म पुग्न कस्तो अवस्था र चरण पार गर्नुपर्छ भन्नेबारे विद्यार्थीहरुलाई व्यावहारिक रुपमै सिकाउने गरेको उनले बताए ।

महानगरले ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरुले व्यावहारिक र जीवनउपयोगी सिप प्राप्त गर्न मद्द पुग्ने महानगरको विश्वास छ । कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टाइल), काष्ठ कला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला जस्ता सिपहरु पनि सिकाउने गरेको महानगरले जनाएको छ ।

tarkari kheti 1 (9)

वैशाख १२ गतेबाट माध्यमिक कक्षाका लागि कार्यान्वयनमा ल्याएको छोटो अवधिको सिपमूलक तालिम अहिले अवलोकन योग्य बनेको छ । बालाजुमा रहेको तरुण माध्यमिक विद्यालयका ३० जना विद्यार्थीले गएको शुक्रबारबाट यस सम्बन्धी प्रशिक्षण लिन सुरु गरेका छन् ।

अहिले ११ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषय पठनपाठन भइरहेका छन् । बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने महानगरको नीति छ । 

tarkari kheti 1 (10)tarkari kheti 1 (11)tarkari kheti 1 (12)tarkari kheti 1 (13)tarkari kheti 1 (14)tarkari kheti 1 (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप