शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी क्लबबाट मेस्सीलाई ५२ अर्ब ४१ करोडको लोभलाग्दो प्रस्ताव

बिहीबार, २१ वैशाख २०८०, १६ : २५
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बीचको सम्बन्ध करिब करिब अन्तिम अध्यायमा पुगेको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी यो सिजनको अन्त्यमा पीएसजीबाट बाहिरिने छन् ।

पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न थालेका छन् ।

यसैक्रममा साउदी अरबियाले पनि मेस्सीमाथि आँखा लगाएको छ । टेलिग्राफ स्पोर्टसका अनुसार, साउदी सरकारले आफ्नो देशको ब्यवसायीक क्लबमा मेस्सीलाई आबद्ध गर्न ३२ करोड पाउण्ड बार्षिक पारिश्रमिकको प्रस्ताव गरेको छ । नेपाली रुपैयाँमा यो रकम करिब ५२ अर्ब ४१ करोड रुपैयाँ हुन आउँछ ।  

विश्व क्लब फुटबलको इतिहासमा साउदी अरबियाले मेस्सीलाई प्रस्ताव गरेको पारिश्रमिक अत्यन्तै लोभलाग्दो हो । साउदीको प्रस्ताव आकर्षक भएकाले मेस्सी पनि त्यसमा सहमत हुने अनुमान गरिएको छ । उक्त प्रस्तावले मूर्त रुप लिएमा मेस्सी यही समरमा साउदी क्लबमा आबद्ध हुनेछन् ।

यस विषयमा मेस्सीका पिताले साउदीको प्रतिनिधिसँग छलफल गरिरहेको समाचारमा जनाइएको छ । पीएसजीसँग मेस्सीको सम्झौता आगामी जुनको अन्त्यमा सकिँदै छ ।

मेस्सीका चीर प्रतिद्वन्दी, चर्चित पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि साउदीकै क्लबबाट ब्यवसायीक फुटबल खेल्छन् ।

साउदीले मेस्सीलाई प्रस्ताव गरेको वार्षिक पारिश्रमिक रोनाल्डोलाई साउदी क्लब अल नसरले दिएको भन्दा १६ करोड ५० लाख पाउण्ड बढी हो । रोनाल्डोले गत डिसेम्बरमा सन् २०२५ सम्मका लागि साउदी क्लब अल नसरसँग सम्झौता गरेका छन् ।

पछिल्लो समय साउदीले आफ्नो घरेलु लिगमा विश्वका चर्चित खेलाडीहरूलाई आकर्षक पारिश्रमिक दिएर भित्राउने नीति लिएको छ । बार्सिलोनाका पूर्वखेलाडी मेस्सीलाई थप एक वर्ष पीएसजीमै राख्न पनि प्रयास भइरहेको दाबी टेलिग्राफ स्पोर्टसले गरेको छ । तर, साउदीको प्रस्ताव निकै आकर्षक भएकाले मेस्सी एसियातर्फ नै लाग्ने दाबी समाचारमा गरिएको छ । 

रोनाल्डोको क्लब अल नसर हाल साउदीको ब्यवसायीक लिग तालिकामा दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा भने अल इत्तिहाद क्लब रहेको छ । अल नसर क्लबको चिर प्रतिद्वन्द्वी क्लब भने अल हिलाल हो । त्यसैले पनि अल हिलालले नै मेस्सीलाई भित्राउन खोजेको अनुमान गरिएको छ ।

यद्दपि, मेस्सीलाई कुन क्लबले भित्र्याउन लागेको हो भन्ने विषयमा स्पष्ट रूपमा केही खुलाइएको छैन । अल नसर र अल हिलालबीचको सम्बन्ध स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडको जस्तै छ । कुनै समय मेस्सी बार्सिलोना र रोनाल्डो रियल म्याड्रिडबाट ब्यवसायीक फुटबल खेल्थे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप