शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपाको विधान अधिवेशन फेरि सर्ने निश्चित

शुक्रबार, २२ वैशाख २०८०, १५ : ११
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को विधान अधिवेशन फेरि सर्ने निश्चित भएको छ । 

जेठ १ गतेका लागि तय भएको अधिवेशन सर्ने निश्चित भएको हो ।  जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले वैशाख २७ गते बस्ने कार्यकारिणी समितिको बैठकले अधिवेशनको नयाँ मिति तय गर्ने बताए । 

तयारी पूरा नभएकाले जेठ १ गतेका लागि तोकिएको अधिवेशन सर्ने भएको उनको भनाइ छ । जसपाका अनुसार अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विधानको मस्यौदा तयार भइसकेको छ । त्यसका लागि मागिएको सुझाव पनि लगभग सबै प्रदेशबाट प्राप्त भइसकेको छ । तर, त्यसमाथि थप छलफल गरेर अन्तिम रूप दिन बाँकी छ । 

यसअघि चैत २६ गतेदेखि २८ गतेसम्म विधान अधिवेशन गर्ने तय भएको थियो । तर वैशाख १० गते भएको उपनिर्वाचनको कारण देखाउँदै अधिवेशन सरेर जेठ १ गतेका लागि तय गरिएको थियो । अधिवेशन जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो । 

विधान संशोधन मस्यौदा अनुसार जसपाले केन्द्रीय समितिको सदस्य सङ्ख्या घटाउने प्रस्ताव गरेको छ । मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ ।  हालको विधानमा केन्द्रीय समिति ७०१ सदस्यीय रहेको छ । 

मस्यौदामा केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने प्रस्ताव गरिएको छ भन ७० वर्ष पुरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ । 

यसैबीच वैशाख २७ गते बस्ने जसपाको कार्यकारिणी समितिको बैठकले मन्त्रीको बारेमा टुंगो लगाउने भएको छ । जसपाले सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार एक मन्त्री पठाउन बाँकी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप