बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेप्रति जनताको भरोसा किन ?

शुक्रबार, २२ वैशाख २०८०, १५ : ५६
शुक्रबार, २२ वैशाख २०८०

जसको साथमा जनता हुन्छन्, जसमा काम गर्ने लगनशीलता हुन्छ, उसलाई जति जालझेल वा घेराबन्दी गरी तल झार्न खोजे पनि ऊ एक दिन अवश्य माथि पुग्न सक्छ भन्ने उदाहरण रवि लामिछानेले दिएका छन् । गत मंसिर ४ को आम निर्वाचनदेखि यही वैशाख १० को उपनिर्वाचन बीचका राजनीतिक घटनाक्रमलाई नियाल्दा मूलतः रविकै सबैभन्दा धेरै चर्चा भएको देखियो, उनीमाथि चौतर्फी प्रहार र घेराबन्दी समेत भए ।

भनिन्छ, बिहानीले दिनको संकेत गर्छ । रवि र उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले उदाउँदो सूर्यझैँ देखिएका छन् । भोलिका दिनमा रविको राजनीतिक यात्रा कस्तो हुने हो भनी आजै ग्यारेन्टीका साथ भन्न सकिँदैन, एक किसिमको आकलन गर्न भने अवश्य सकिन्छ । हिजो सञ्चारकर्मी हुँदा उनले खासगरी भुइँमान्छेका समस्यालाई केन्द्रमा राखेर काम गरे । विदेशमा हराएका र अलपत्र परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको उनले उद्धार गरे, चेलीबेटी बेच्ने कति दलाललाई पुलिसको खोरमा पु¥याए, आफ्नै विद्यार्थीलाई बलात्कार गर्न खोज्ने शिक्षकलाई जेलको चिसो कुनामा कोचे, भ्रष्टाचारीलाई रंगेहात पक्राऊ गर्न पुलिसलाई मद्दत गरे । 

कसैले अप्ठेरो पार्न खोज्यो, थिचोमिचो गर्न खोज्यो भने उसको विरुद्धमा आवाज उठाउन आम सर्वसाधारणलाई उनले प्रेरित गरे । कालिकोट जिल्लाको राजकोटमा उनकै पहलमा हस्पिटलसम्म बन्यो । यिनै तमाम सत्कर्मले गर्दा जनताले रविलाई यसपालिको उपनिर्वाचनमा विश्वास गरेका हुन् । चितवन– २ बाट ४२ हजार ९६२ मतान्तरसहित ५४ हजार १७६ मत ल्याएर रवि निर्वाचित हुनुले जनाउँछ, रविलाई जनताले अथाह माया र ठूलो भरोसा गरेका छन् । 

उनले भनेजस्तै हाम्रो समाजमा नेतालाई सम्मान गर्ने चलन हराइसक्यो । नेताहरूलाई चोर, भ्रष्टाचारी र दलाल भन्नेहरूको भीड बढ्दै गएको अवस्था छ । केही दिनअगाडि केपी शर्मा ओलीलाई आफ्नै गृह जिल्ला झापामा आक्रमणको प्रयास गरियो । सञ्चारमन्त्री रेखा शर्मालाई उनकै निर्वाचन क्षेत्र दाङमा चार लेन सडक बनाउन ढिलाइ गरेको भन्दै स्थानीयले लखेटे । यी घटनाले नेताप्रति जनताले कुन हदसम्म घृणा गर्छन् भन्ने देखाउँछ । 

अहिले यस्ता जनता छन्, जसलाई को राणा शासनविरुद्ध लड्यो, कसले प्रजातन्त्र ल्यायो, कसले लोकतन्त्र ल्यायो भन्ने कुराको खासै मतलब छैन ! जनता आजित भएका छन्, सधैँभरि व्यवस्था परिवर्तनको भाषण सुन्दासुन्दा ।

हिजो रवि र उनको पार्टी रास्वपालाई सतही विश्लेषण गर्ने ठूला भनिएका दलका नेताले उपनिर्वाचनपछि भने गम्भीर रूपमा मनमा लिन थालेको देखिन्छ । बहुदलीय व्यवस्था आएयता पुराना दलहरूले जनताको अवस्था परिवर्तन गर्ने खालका काम खासै गर्न सकेनन् । जनताले अहिले डेलिभरीको राजनीति खोजिरहेका छन् । अहिले यस्ता जनता छन्, जसलाई को राणा शासनविरुद्ध लड्यो, कसले प्रजातन्त्र ल्यायो, कसले लोकतन्त्र ल्यायो भन्ने कुराको खासै मतलब छैन ! जनता आजित भएका छन्, सधैँभरि व्यवस्था परिवर्तनको भाषण सुन्दासुन्दा । 

अहिलेका जनताले यही चासो राख्छन् र यही हिसाब खोज्छन् – कसले नागरिकका समस्यालाई सम्बोधन ग¥यो, कुन दल वा कुन नेताले नागरिकका जीवन स्तर उठाउन पहल ग¥यो, नागरिकका समस्या हल गर्ने प्रयासमा को लागिरहेको छ, कसले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र भ्रष्टाचारलाई निवारण गर्न सक्छ, कसले कलकारखाना खोल्छ, कसले गरिबी हटाउँछ ? 

देश र जनताप्रति उत्तरदायी हुने राजनीतिक संस्कार बोकेको दल र नेताप्रति नै जनताको ध्यान छ, त्यस्तो नेता वा दलको खोजीमा जनता छन् । जनताले नेपाली कांग्रेस, एमाले र माओवादीलाई पटकपटक अवसर दिए तर त्यो अवसरलाई सदुपयोग गर्न उनीहरुले सकेनन् । त्यसैको परिणामस्वरूप आज माओवादी खुम्चँदै आएको छ । कांग्रेस र एमालेप्रति पनि जनताको रुचि घट्दो देखिन्छ । यसपालिको उपनिर्वाचनमा तनहुँ क्षेत्र १ को मतपरिणामले यही देखाउँछ । नेपाली कांग्रेसको गढ मानिने तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले भारी मतान्तरसहित निर्वाचित भए । यसपालिको उपनिर्वाचनको परिणामले जनताको उत्साह नयाँ दलप्रति देखाउँछ । 

अहिले पुराना दलप्रति एउटा गम्भीर प्रश्न खडा भएको छ, अब सच्चिने कि सक्किने ! अहिले अन्य पार्टीका नेताका लागि ढ्याङ्ग्रो बजाएझैँ भइरहेको छ, रवि नेतृत्वको रास्वपाको जबरजस्त उदय ।  

जनताको पक्षमा काम गरेको खण्डमा रास्वपाको राजनीतिक भविष्य उज्ज्वल छ । हिजोका पुराना दलले गरेका ती तमाम राष्ट्रघाती सम्झौता, भ्रष्टाचार र बेथितिविरुद्ध व्यापक आवाज उठाउँदै, त्यसलाई सच्चाउँदै, जनजीविकाको सवालमा काम गर्दै अगाडि बढेको खण्डमा रास्वपा मूलधारको राजनीतिक दलका रूपमा स्थापित हुनेछ । पुराना दलहरूकै शैली पछ्याए यो पार्टीको पनि भविष्य छैन, जसरी उदाएको छ, त्यसरी नै अस्ताउनेछ ।

(गुल्मीको इस्मा गाउँपालिकाका– ३ का अधिकारी हाल पोर्चुगलको लिस्बनमा बस्छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण अधिकारी
किरण अधिकारी
लेखकबाट थप