बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेविसंघ र तरुण दलमा जम्बो केन्द्रीय समिति बनाउने तयारी

शुक्रबार, २२ वैशाख २०८०, १९ : ५३
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसले भातृ संगठन नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाउने भएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाउने सहमति भएको सहमहामन्त्री महेन्द्र यादवले रातोपाटीलाई बताए ।

उनले भने, 'नेविसंघको केन्द्रीय समिति ३ सय सदस्यीय र तरुण दलमा २ सय सदस्यीय हाराहारीको बनाउने कुरा भएको छ ।'

नेविसंघको विधानमा १ सय १ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ भने तरुण दलको कार्यसमिति ९५ सदस्यीय रहने व्यवस्था छ । नेविसंघ र तरुण दलको केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि विधानभन्दा बाहिर गएर जम्बो तदर्थ समिति बनाइने भएको  छ ।

यसका लागि नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङलाई शनिबारभित्र केन्द्रीय समितिका लागि नामावली बुझाउन पदाधिकारी बैठकले निर्देशन दिएको यादवले बताए । 

बैठकले पार्टीको कुनै पनि पार्टीको संरचनामा बसेका र जनप्रतिनिधि बनेकाहरूलाई भ्रातृ संस्थामा समावेश नगर्ने निर्णय गरेको छ । उनले भने, 'पार्टीको वडादेखि केन्द्रसम्म कुन पनि कमिटीमा रहेकाहरुलाई नेविसंघ र तरुण दलमा नसमेट्ने मापदण्ड बनाइएको छ । आइतबारसम्म समिति ल्याउने गरी तयारी भएको छ । आज नेविसंघ र तरुण दलका प्रमुखलाई बोलाएर आएका नामहरूको सर्टलिस्टिङ गर्न भनेका छौँ ।'

उनका अनुसार नेविसंघको ३२ र तरुण दलको ४५ वर्षको उमेर हदबन्दीअनुसार संगठन विस्तार हुने छ । २०७८ चैत ९ गतेसम्म ३२ वर्ष नपुगेकालाई नेविसंघ र ४५ वर्ष नपुगेकालाई तरुण दलमा जिम्मेवारी दिइने सहमहामन्त्री यादवले बताए । उनका अनुसार भ्रातृ संस्थाका तदर्थ समितिमा भने पदाधिकारी हुने छैनन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप