बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरण : किन मौन छन् विद्यार्थी संगठन ?

नागरिक समाजले बुधवार खबरदारी सभा गर्ने
मङ्गलबार, २६ वैशाख २०८०, १५ : ४४
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौं । अहिले भुटानी शरणार्थीका मुद्दामा सर्वत्र चासो छ । सदनदेखि सडकसम्म प्रतिपक्षी नेताहरूले यो प्रकरणमा जोडिएका व्यक्तिमाथि छानबिन गर्नुपर्ने भन्दै सरकारलाई खबरदारी गरिरहेका छन् । 

विगतमा सरकारलाई खबरदारी गर्ने पहिलो पङ्क्तिमा विभिन्न विद्यार्थी संगठनहरु अग्रपङ्क्तिमा हुन्थे । तर, भुटानी शरणार्थीका मुद्दामा विद्यार्थी संगठन पनि मौन छन् । 

सम्भवत ठूलो नीतिगत भ्रष्टाचार र मानव तस्करीको मुद्दामा सरकारको माथिल्लो तह सचिवसम्म जोडिएको यो पहिलो घटना हो । बहालवाला सचिव टेकनारायण पाण्डे अहिले प्रहरी हिरासतमा छन् । 

पाण्डेसँगै गिरोहका सदस्यहरूमाथि प्रहरी अनुसन्धान चलिरहेको छ । भुटानी शरणार्थी बनेर अमेरिका सपना देखेका सयौँले करोडौँ रुपैयाँ बुझाए पनि उनीहरू जान नपाएपछि यो घटनाको रहस्योद्घाटन भएको हो । 

यो प्रकरणमा नेपाली काँग्रेस र एमाले (खासगरी पूर्व माओवादी) का शीर्ष नेताहरू जोडिएका छन् । ठगी, संगठित अपराध र मानव तस्करी मुद्दा आकर्षण हुने यो घटनामा ठूला दलका शीर्ष नेताहरू नै जोडिएकाले आपसी सहमतिमा केश ढिसमिस पारिने हो कि भन्ने चिन्ता र बहस पनि चलेको छ । 

सामाजिक सञ्जाल फेसबुकमा विद्यार्थी सङ्गठनहरूले दोषीलाई कारबाही गर्नुपर्ने आवाज उठाएपनि सांगठनिक रूपमा भने उनीहरू अगाडि आएका छैनन् । किन त ? 

काँग्रेसको भातृ संगठन नेविसंघका सभापति दुजाङ शेर्पाले सामाजिक सञ्जालमार्फत् घटनाको छानबिन हुनुपर्ने माग उठाएको बताउँछन् । उनले भुटानी शरणार्थीको नाममा भएको ठगी घटनाको निष्पक्ष छानबिनका लागि दबाब दिने उद्देश्यले कार्यक्रमहरू तय गर्ने तयारी भइरहेको बताए । 

सभापति शेर्पाले भने, ‘सायद बुधवार केन्द्रीय समितिले पूर्णता पाउँछ । पहिलो बैठकबाटै भ्रष्टाचारका पुराना फाइल खोल्न र छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गर्छौँ ।’ उनले २००७ साल देखिकै भ्रष्टाचारको छानबिन हुनुपर्ने मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी आफूहरूको रहेको बताए । 

शेर्पाले अगाडि भने,‘यो प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नेपालको छविमा प्रश्न उठेको छ । त्यसैले, यसको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कानुनी दायरमा ल्याउनुपर्छ । हाम्रो पार्टी र सरकारसँग जोडदार माग यही हो ।’ 

एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समिक बडालले भुटानी शरणार्थी प्रकरणमा जोडिएका जुनसुकै अहोदाका व्यक्ति भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले विगतमा जस्तो विद्यार्थी संगठनले अब रेलिङ भाँच्ने गरी आन्दोलनमा नउत्रिने बताए । 

बडालले भने, ‘अहिले पनि विद्यार्थी संगठनहरूले रेलिङ भाँच्ने गरी आन्दोलन चर्काउनुपर्छ भन्ने अपेक्षा गरिन्छ । तर, अहिले बढ्दो सामाजिक सञ्जालले गर्दा विरोध र समर्थन सामाजिक सञ्जालमार्फत् गरिरहेका छौँ ।’ उनले भुटानी शरणार्थीको सम्बन्धमा कारबाही अगाडि बढाउन एमालेकै नेता जोडिए पनि छानबिन र अनुसन्धान गर्न पार्टीले रोक्न नहुने भनेर पार्टीका शीर्ष नेतालाई ध्यानाकर्षण गराई सकेको बताए । 

बडालले अगाडि भने,‘हामीले पार्टीमा पनि ध्यानाकर्षण गराई सकेका छौँ । अब केन्द्रीय कमिटीको बैठक डाकेर सरकारलाई ध्यानाकर्षण गराउने तयारीमा छौँ । दोषीमाथि कारबाही भएन भने हामी चुप लागेर बस्दैनौँ ।’ 

उता एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियू) का अध्यक्ष सुदेश पराजुलीले आफूहरूले प्रहरीको अनुसन्धानको गति र सरकारसँगै प्रतिपक्षका कार्यशैलीलाई नजिकबाट नियाली रहेको बताए । उनले स्वयम् प्रधानमन्त्री प्रचण्डले नै कारबाही गर्न कसैको दबाबमा पर्दिन भनेकाले तत्काल खबरदारीमा नजुटेको बताए ।  

पराजुलीले भने,‘अहिले सरकारले सही ढंगबाटै कारबाही प्रक्रिया अगाडि बढाएको अवस्था छ । प्रधानमन्त्रीज्यूले पनि कसैका दबाबमा पर्दिन भन्नुभएको छ । तर, सबै दलका नेताले चोसोमोसो मिलाएर कारबाहीलाई रोक्ने वा अगाडि बढ्न नदिने अवस्था आयो भने हामी चुप लागेर बस्दैनौँ । सशक्त ढंगले आन्दोलन गर्छौँ ।’ 

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले सरकारले यो घटनालाई गम्भीर रूपमा लिएको र दोषीलाई उम्कन नदिने निश्कर्षमा पुगेकाले अहिले दबाब दिने भन्दा पनि आगामी कार्यदिशा कस्तो हुन्छ भनेर आफ्नो संगठनले नियाली रहेको बताइन् । 

सिंहले भनिन्, ‘हामी चुप लागेर बसेका छैनौँ । अहिले सरकारले नाम जोडिएका व्यक्तिहरूमाथि  छानबिन गरिरहेको छ । यदि यसमा शीर्ष नेताहरू मिलेर दायाँबायाँ गर्न खोजे भने हामी सशक्त प्रतिवाद गर्छौँ । सडकमै पुगेर खबरदारीसँगै दोषीलाई कारबाही गर्न दबाब दिन्छौँ ।’ सिंहले यो घटनामा लेनदेन प्रमाणित नै भइसकेकाले कारबाही गर्न सरकार पछाडि हट्ने अवस्था नआउने दाबी गरिन् । 

नागरिक समाजले बुधवार खबरदारी सभा गर्ने

यसैबीच नागरिक समाजले सरकार र राजनीतिक दललाई बुधबार खबरदारी सभा गर्ने भएको छ । भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कन नपाउन् भनेर सम्बन्धित सरोकारवाला पक्षलाई खबरदारी गर्न लागिएको जानकारी नागरिक समाजका अगुवा सञ्जीव उप्रेतीले दिए । उनले भने,‘हामी चुप लागेर बसेका छैनौँ । दोषी उम्कन खोज्ने अवस्था नआओस् भनेरै खबरदारी सभा राख्ने तयारीमा छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप