सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

नक्कली नोट बाहक पक्राउ पर्छन्, छाप्नेचाहिँ कहाँ छन् ?

कोशी प्रदेशमा गत भदौ यता पटक–पटक नक्कली नोट बरामद
मङ्गलबार, २६ वैशाख २०८०, १६ : ४२
मङ्गलबार, २६ वैशाख २०८०

विराटनगर । गत साउन र भदौमा नेपाली नक्कली नोटको कारोबार गर्दै एक जना व्यक्ति मोरङ र सुनसरीमा झण्डै ४५ दिन दौडधुप गरिरहे । उनको मुख्य उद्देश्य थियो नक्कली नोटको मार्केटिङ गर्नु ।

पाएको सूचना अनुसार काठमाडौंमा बस्दै आएका उनले आफ्ना साथीभाइ मार्फत नक्कली नोटको कारोबारबारे मार्केटिङ गर्थे । उनको स्किम पनि लोभलाग्दो थियो– एक लाखको बिटोमा १५÷२० हजार रुपैयाँका नक्कली नोट राखेर बैंकमा जम्मा गरे ठाउँको ठाउँ कमिसन दिने ।

त्यो पनि नक्कली नोट जम्मा गरेबापत सक्कली २÷३ हजार रुपैयाँ । नक्कली नोटको कारोबार गम्भीर राष्ट्रघात हो । यही कर्ममा लागेका कतिपय नोट बाहक पक्राउ परे पनि यसको संगठित गिरोह पक्राउ पर्दैन ।

अहिले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाएको विषय चर्चामा छ । स्रोतले दिएको जानकारी अनुसार नक्कली नोटको कारोबारमा पनि उपल्लो तहबाटै सेटिङ भइरहेको छ ।

गत भदौ २६ गते झापाको बिर्तामोड नगरपालिका–३, कञ्चनजंघा टोलबाट यातायात कार्यालय जाने–आउने बाटो छेउमा एक महिला ९ हजार रुपैयाँ बराबरको नक्कली नेपाली रुपैयाँसहित पक्राउ परिन् । पक्राउ पर्ने उनी झापाकै कन्काइ नगरपालिका–१ घर रहे पनि विर्तामोडमा बस्दै आएकी ३० वर्षीया अम्बिका रिमाल हुन् ।

यस्तै प्रहरीले गत असोज २ गते सुनसरीको देवानगञ्ज–४ बाट हरि मेहताले लिएर आएको १ हजार दरका ६ वटा नक्कली नोट प्रहरीले बरामद ग¥यो । प्रहरीले यही वैशाख २१ गते १ हजार दरका ६ थान र ५ सय दरका २२ थान नेपाली नक्कली नोट सुनसरीको इटहरीबाट बरामद ग¥यो ।

बरामद नोट लिएर आउने सुनसरीको गढी गाउँपालिका–२ का ३८ वर्षीय महमद जमिल पक्राउ परे । प्रहरीले दिएको जानकारी अनुसार उनले इटहरी–१ आँपगाछीमा लागेको सिरुवा मेलामा नक्कली नोट दिएर कारोबार गरेका थिए । यस्तै प्रहरीले गत फागुन २४ गते उदयपुरको कटारी नगरपालिका–१२ बाट ५ सय दरको एउटा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको थियो ।

चालु आर्थिक वर्षमै भएका यी घटनाले नक्कली नोटको धन्दा नरोकिएको प्रस्ट हुन्छ । विगतका वर्षमा पनि नक्कली नोट लिएर आउने बाहकहरु पक्राउ नपरेका होइनन् । तर, अहिलेसम्म नक्कली नोटको संगठित ढंगले कारोबारको धन्दा चलाउने गिरोह भने पक्राउ पर्न सकेको छैन ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजेशनाथ बाँस्तोलाले नक्कली नोटको कारोबार गर्नेहरुको जरोसम्म पुग्न अनुसन्धान भइरहेको बताए । ‘विगतदेखि नै यो केस अनुसन्धानको रुपमा छ । हामीले भर्खरै मात्रै सुनसरीमा नक्कली नोट बरामद गरेका छौं । त्यहाँ संलग्न कारोबारीलाई पनि पक्राउ गरेका छौं,’ उनले भने, ‘पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको छ, अनुसन्धान गरेर जरैसम्म पुगेर कारबाही गर्छौं ।’

यसभन्दा अगाडि पनि त्यसरी कारबाही भएको जनाउँदै उनले यो प्रक्रियालाई पनि अनुसन्धान गरेर नक्कली नोट कारोबारीको जरोसम्म पुग्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप