मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी मोर्चा निर्माणमा बाबुराम र विप्लवको ताकेता

बुधबार, २७ वैशाख २०८०, १७ : २५
बुधबार, २७ वैशाख २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा निर्माणका लागि ताकेता गरेका छन् । एमाले बाहेकका पार्टीलाई जोड्नेगरी बनाउने भनिएको समाजवादी मोर्चा बनाउन ढिला हुन थालेपछि अध्यक्षद्वय भट्टराई र चन्दले ताकेता गरेका हुन् ।

बाबुराम र विप्लवले माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरुलाई पनि समाजवादी मोर्चा बनाउने कामलाई तिव्रता दिन आग्रह गर्दै आएका छन् । उनीहरुले अध्यक्ष प्रचण्डसहित सो पार्टीका प्रवक्ता कृष्णबहादुर महरालाई समेत धेरैपटक भेटेर मोर्चा निर्माणका लागि दवाव दिँदै आएका छन् । माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी, विप्लव नेतृत्वको नेकपा, प्रभु साह नेतृत्वको आमजनता पार्टीले समाजवादी मोर्चा बनाउने विषयमा छलफल गर्दै आएका छन् ।

अन्तमा समाजवादी मोर्चा निर्माण गर्न माओवादीले ढिला गरेको बाबुराम र विप्लवको निष्कर्ष छ । समाजवादी मोर्चा निर्माणमा माओवादीसहित अरु दलले अग्रसरता लिन ढिला गरेको नेकपा सचिवालय सदस्य सन्तोष बुढामगरले बताए । ‘हामीले समाजवादी मोर्चा बनाउने विषयमा छलफल गरेका थियौं । कुन–कुन दल कसरी जाने भन्ने विषयमा छलफलै नहुँदा निष्कर्षमा पुगिएको छैन’ बुढाले भने, ‘हामीहरु समाजवादी मोर्चा बनाउन तयारै छौं । माओवादी केन्द्रसहित अरु पार्टीहरुले तत्परता देखाउन ढिला भयो ।’ विचार मिल्ने पार्टीहरु एक ठाउँमा उभिएर राजनीतिक निकास दिनुपर्ने बुढाले बताए ।

बाबुराम माओवादी केन्द्रसँग एकता गर्न तयार नभएपछि समाजवादी मोर्चा निर्माणमा लागेका हुन् । समाजवादी मोर्चा निर्माण गर्न पार्टी सरकारमा भएकाले ढिला भएको नेताहरुले बताउँदै आएका छन् । आगामी आर्थिक वर्षको बजेट आएपछि समाजवादी मोर्चा निर्माणमा लाग्ने ती पार्टीहरुको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप