‘लम्पी स्किन’बाट एक सय २७ पशु मरे, सोह्र सय सङ्क्रमित
हुम्ला । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखा परेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ ।
लम्पी स्किनको सङ्क्रमणले पशु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताए । अहिलेसम्म यो रोगबाट जिल्लाको पाँचवटा गाउँपालिकामा एक सय २७ पशुवस्तु मरेका छन् । सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकामा ६३ गाईगोरु मरेका छन् भने सिमकोटमा ४१, नाम्खा १०, अदानचुली १३ गाईगोरु मरेको निमित्त कार्यालय प्रमुख रोकायाले बताए । हाल लम्पी स्किन रोग जिल्लाभर महामारीका रूपमा फैलिएको उनले बताए ।
हुम्ला जिल्लाभर लम्पी स्किन रोगबाट हालसम्म एक हजार छ सय ३९ वटा गाईगोरु सङ्क्रमित भएका छन् । सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकाका किसानले पालेका नौ सय २० गाईगोरुमा यो सङ्क्रमण देखिएको छ । सङ्क्रमित पशुको शरीरका भागमा घाउ भएर पाक्ने, उच्च ज्वरो आउने लक्षण देखिएको रोकायाले बताए ।
यस्तै सङ्क्रमण देखिएका एक हजार तीन सय ७० गाईगोरुको पशु अस्पताल तथा पशु सेवा कार्यालयले उपचार गरेको छ । लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको छ । जिल्लाभर ४१ हजार चार गाईगोरु, तीन हजार दुई सय ३४ भैँसी, ४० हजार ४२ भेँडा, एक लाख ३८ हजार ९३ बाख्रा, चौँरी सात हजार दुई सय ४६ र एक हजार आठ सय २० कुखुरा प्रभावित छन् ।
रोग नियन्त्रण बाहिर गइसकेको सिमकोट गाउँपालिका पशु शाखाका कर्मचारी विष्णु बुमीले बताए । हाल प्राथमिक उपचारदेखि औषधि प्रयोग गरिरहेको उनले बताए । उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार भएको पाइँदैन । यो रोग निको पार्नेसम्बन्धी कुनै भ्याक्सिन नभएको बुमीले बताए ।
पशुचौपायामा लम्पी स्किन रोग देखापरेपछि हुम्लाका किसान चिन्तित भएका छन् । रोगबाट पशुवस्तु बिरामी भएर मर्न थालेपछि चिन्तित भएको सिमकोट गाउँपालिका–२ का डाङ्स्या रावलले बताए ।
यो रोग जिल्ला बाहिर सुर्खेत नेपालगञ्जबाट ल्याइएका दुई सय ४० वटा गाईमा पहिलोपटक देखा परेको थियो । ती गाई जिल्लाको दक्षिण अदानचुली, ताँजकोट हुँदै पैदल भएर सदरमुकाम सिमकोट ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण