बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
रेड कर्नर

कर्नाटक निर्वाचन : भाजपाको ओरालो यात्रा, विपक्षीको घेरामा !

बिहीबार, ०४ जेठ २०८०, १३ : ३९
बिहीबार, ०४ जेठ २०८०

भारतीय जनता पार्टीले सन् २०२४ को आमचुनाव जित्ला ? के नरेन्द्र मोदीको फेरि तेस्रोपटक सत्तारोहण होला ? यी प्रश्नमा भारतभित्र मात्र नभई अमेरिका, चीन, रुस, नेपाललगायत सबैतिर गम्भीर चासो छ । 

कर्नाटकको चुनावमा कांग्रेसको विजयलाई एउटा रुझान मान्ने हो भने मोदी र भाजपाका लागि कर्नाटक चुनावमा पराजय खतराको घन्टी हो । 

भारतको सिलिकन सिटीका रूपमा चर्चित बैंग्लोरमा राजधानी भएको र साढे ६ करोड जनसंख्या भएको कर्नाटकको विजयसँगै अब भारतका चार राज्यमा कांग्रेसको सरकार बन्न पुगेको छ । दिल्ली, पन्जाबजस्ता महत्त्वपूर्ण राज्यमा भाजपाको उपस्थिति छैन । कर्नाटकसहित सबै दक्षिण भारतीय राज्यहरू भाजपाविहीन छन् । पश्चिम बंगाल र बिहारमा भाजपा छैन । उडिसा, बिहार पनि भाजपाविहीन छन् । भाजपाको उपस्थिति उत्तरप्रदेश, मध्यप्रदेशसहित भारतका २८ मध्ये १० राज्यमा सीमित छ । अन्य चारवटा राज्यमा भाजपाको गठबन्धन सरकार छ । 

प्रम नरेन्द्र मोदीले आफू सत्तामा आएदेखि सबैभन्दा बढी राहुल गान्धी, गान्धी र नेहरू परिवारलाई गाली गरेका छन् । राहुल गान्धीलाई राजनीतिको ‘बच्चा’, ‘पप्पु’ भन्नेजस्ता गैरराजनीतिक गालीहरू प्रयोग गर्नुका अलाबा उनलाई न्यायालय प्रयोग गरेर उनको सांसद पद र सरकारी निवासबाट समेत निष्कासित गरिएको छ । भारतीय अदालतदेखि सीबीआईजस्ता संस्थाहरू विरोधीहरूलाई दमन गर्नका लागि प्रयोग भएको कुरा भारतीय सञ्चारमाध्यमले निरन्तर उठाउने गरेका छन् । सरकारसित प्रश्न सोध्ने र सरकारको र विशेषतः नरेन्द्र मोदीको आलोचना गर्ने मिडियाकर्मीलाई सरकारको दबाबमा सम्बन्धित मिडियाबाट निष्कासन गरिएको विषय पनि बारम्बार सार्वजनिक हुने गरेको छ ।

यो सबैका कारण मिडियाको एउटा ठूलो हिस्सा भाजपाको विरुद्ध उभिएको छ । आगामी २०२४ को निर्वाचनमा यो सबै भाजपालाई महँगो साबित हुने देखिन्छ । कर्नाटकको निर्वाचनले त्यतैतर्फ संकेत गरेको छ ।

भाजपाभित्रको अन्तर्विरोध, भाजपा र आरएसएसबीचको अन्तर्विरोध पनि आगामी निर्वाचनमा भाजपाको पराजय बन्न सक्छ ।

लामो समयदेखि नेतृत्वविहीनजस्तो बनेको १४० वर्ष पुरानो कांग्रेस पार्टीको कमान पार्टीका ८१ वर्षीय नेता मल्लिकार्जुन खर्गेेले सम्हालेका छन् । अर्कोतिर राहुल गान्धीले १४६ दिनसम्म कन्याकुमारीदेखि कश्मीरसम्मको ४५०० किमि लामो भारत जोडो यात्रा पूरा गरेका छन् । कांग्रेस धुलो टक्टकाउँदै फेरि जुर्मुराउने प्रयास गर्दै छ । यसबाट धर्मनिरपेक्ष शक्तिहरूमा एउटा आशाको सञ्चार भएको छ । भाजपाइतर शक्तिहरूले ममता बनर्जी वा नीतिश कुमारको नेतृत्वमा चुनावी गठबन्धन बनाउनका लागि दौडधुप तीव्र बनाएका छन् । गठबन्धन बन्यो भने भाजपालाई आगामी चुनाव जित्न सजिलो हुने छैन । जनता, मिडिया, राजनीतिक दलहरू सबै भाजपाको विरुद्ध लामबद्ध हुने स्थिति बन्दै छ । 

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले कर्नाटकमा कांग्रेसको पराजयका बारेमा टिप्पणी गर्दै भनेकी छन्, ‘भाजपाको चुलिएको घमण्ड र असहिष्णुता नै कर्नाटकमा उसको पराजयको मुख्य कारण हो ।’ स्थिति बनर्जीले भनेजस्तै हो भने आगामी चुनावमा भाजपालाई यो महँगो पर्नेछ । 

यो सबैले महसुस गरेका छन् कि जादुगर शैलीमा २०१४ देखि राजनीतिमा उदाएका नरेन्द्र मोदीले जसरी भाषणमा जनतालाई ठुल्ठुला आश्वासन बाँडेका छन्, उनको दुई कार्यकाल पूरा हुँदा पनि महँगी, भ्रष्टाचार, गरिबी, बेरोजगारीका मुद्दा सम्बोधन हुन सकेका छैनन् । यसबाट जनतामा चरम निराशा छाएको देखिन्छ । विदेशमा रहेको कालोधन फिर्ता ल्याउने आश्वासन पनि आश्वासनमै सीमित रह्यो । 

प्रत्येक व्यक्तिको खातामा १५ लाख जम्मा गरिदिने उनको अर्को आश्वासन गफ मात्र साबित भयो । बिस्तारै मोदीको छवि एउटा गफाडी नेताको रूपमा परिणत हुन पुगेकोे कुरा भारतका धेरैजसो बुद्धिजीवीले स्वीकार गरेका छन् । कर्नाटकको चुनाव यसकै परिणामका रूपमा देखापरेको छ । 

जेहोस् प्रधानमन्त्री मोदी र भाजपाको भविष्य के होला ? यसको उत्तर अप्रिल–मे २०२४ भित्र आउनेछ ।

भाजपाभित्रको अन्तर्विरोध, भाजपा र आरएसएसबीचको अन्तर्विरोध पनि आगामी निर्वाचनमा भाजपाको पराजय बन्न सक्छ ।

अहिलेसम्म भाजपाको सरकारले अदालतबाट आफू अनुकूल फैसलाहरू गराउन सफल भएको छ । आफ्ना विरोधीलाई समाप्त पार्न कुशलतापूर्वक अदालतको परिचालन गर्न भाजपा सफल देखिन्छ । सीबीआई, प्रवर्तन निर्देशनालय (आर्थिक अपराध छानबिन गर्ने संस्था), पुलिसजस्ता संगठनहरू विरोधीहरूको दमन गर्ने औजारका रूपमा प्रयोग भएका छन्, तर भारतको सर्वोच्च न्यायालयको न्यायाधीशमा वाईभी चन्द्रचुडको नियुक्ति भएपछि अब भाजपाको सरकारले प्रतिकूल अवस्थाको सिर्जना गर्नुपर्नेछ । वाईबी चन्द्रचुड धर्मनिरपेक्षतावादी र प्रगतिशील व्यक्तित्वका रूपमा चिनिएका छन् । 

भाजपा सरकारमाथि चर्चित उद्योगपति गौतम अडानीलाई व्यापारिक साम्राज्य विस्तार गरेर अकुत मुनाफा आर्जन गर्न सघाएको, कर छली र खर्बौंको बैंकको ऋण ठगेका केही उद्योगपतिहरूलाई विदेश भाग्न सघाएको आरोप भारतका प्रतिष्ठित सञ्चार माध्यमहरूले लगाउँदै आएका छन् । साथै आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप पनि नरेन्द्र मोदीले खेप्दै आएका छन् । यी सबै प्रकरणलाई भारतको सर्वोच्च न्यायालयले गम्भीरतापूर्वक लिने हो भने प्रधानमन्त्री मोदीले अत्यन्त प्रतिकूल अवस्थाको सामना गर्नुपर्नेछ भन्ने पनि कतिपय विश्लेषकले टिप्पणी गर्न थालिसकेका छन् । 

जेहोस् प्रधानमन्त्री मोदी र भाजपाको भविष्य के होला ? यसको उत्तर अप्रिल–मे २०२४ भित्र आउनेछ । भारतका एक चर्चित पत्रकारले भाजपा सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीका सम्बन्धमा गरेको यो टिप्पणीबाट यी हरफहरूलाई विराम दिन्छु, ‘केही मानिसलाई केही समयका लागि मूर्ख बनाउन सकिन्छ, सबै मानिसलाई केही समयका लागि मूर्ख बनाउन सकिन्छ, तर सबैलाई सधैँ मूर्ख बनाउन सकिन्न ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण पन्त
लक्ष्मण पन्त
लेखकबाट थप