सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

खलो र हली प्रथा अन्त्य गर्न माग

बिहीबार, ०४ जेठ २०८०, २० : ५८
बिहीबार, ०४ जेठ २०८०

सुर्खेत । दलित सम्बद्ध जनवर्गीय संगठनहरुले कर्णालीमा परम्परागत रुपमा कायम रहेको खलो र हली प्रथा अन्त्य गर्न माग गरेका छन् । मुक्त हलियाको व्यवस्थापन गर्न पनि उनीहरुको माग छ ।

बिहीबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा समक्ष २३ बुँदे माग राख्दै दलित संगठनहरुले शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न निःशुल्क भर्ना, परम्परागत सिप प्रवर्द्धनको आधुनिकीकरण र व्यावसायीकरणका लागि क्षमता अभिवृद्धि लगायतका माग राखेका छन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । कर्णालीका दलित समुदायले भोग्दै आएका समस्या र मागहरु नीति तथा कार्यक्रम र बजेटमा समेट्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश इञ्चार्ज बसन्तकुमार विश्वकर्माले बताए । 

पत्रमा प्रादेशिक दलित छात्राबास भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन, मुख्यमन्त्री दलित आयआर्जन तथा लक्षित वर्ग कार्यक्रममा बजेट बढाउनुपर्ने माग गरिएको छ ।

दलित अधिकार प्रवर्द्धन र विकास ऐन निर्माण गरी तत्काल कार्यान्वयन गरिनुपर्ने विश्वकर्माले बताए । यसका अलावा प्रदेशमा रहेका भूमिहीन तथा सुकुमबासी दलित समुदायलाई जमिन उपलब्ध गराउनुपर्ने, प्रादेशिक कृषि औजार निर्माण कारखाना स्थापना गर्नुपर्ने माग पनि मुख्यमन्त्री समक्ष राखिएको उनको भनाइ छ ।

कर्णालीका कुल जनसंख्याको २९ प्रतिशत जनसंख्या दलित समुदायको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप