शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारका १०० दिन : हाइड्रोपावरको निरीक्षणदेखि खेलाडीको सम्मान उपलब्धि ! (पूर्णपाठ)

शुक्रबार, ०५ जेठ २०८०, १२ : १६
शुक्रबार, ०५ जेठ २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो १०० दिने उपलब्धि सार्वजनिक गरेको छ । गत माघ २७ गते नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रवार पत्रकार सम्मेलन गरी १०० दिने उपलब्धि सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री शाहले सय दिनमा गरेका कामहरूलाई १४ बुँदामा समेट्दै उपलब्धिका रूपमा सार्वजनिक गरेका छन् ।

प्रदेश सरकारले राजनीतिक सहमति र स्थायित्वको नेतृत्व गर्दै वर्तमान सरकार बनेको भन्दै आफ्नो मुख्य उपलब्धि यसैलाई मानेको छ ।

त्यस्तै, भौतिक पूर्वाधार विकासमा बढोत्तरी, वन पैदावार उत्पादन वितरण एवं वन क्षेत्र अतिक्रमण नियन्त्रण, वार्षिक विकास कार्यक्रम पहिचान छनोट र प्राथामिकीरण, अनुशासित र जवाफहेही प्रणालीको सुरुवात, वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्य संस्कृतिको बीजारोपणलाई प्रदेश सरकारले उपलब्धि ठानेको छ ।

त्यसैगरी अपर कर्णाली हाइड्रो पावरको निरीक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको विशेष पहल, उद्यमशीलता प्रवर्द्धन क्षमता विकास र खेलाडी सम्मान, सुरक्षा निकायलाई सहयोग र समन्वय, सूचना सञ्चार क्षेत्रको विकास र साझेदारी, विभिन्न द्विपक्षीय एवं बहुपक्षीय विकास साझेदारसँग प्रदेशको आवश्यकता र प्राथमिकता उपर परामर्श, धार्मिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धन र विपत् जोखिम न्यूनीकरणसहित १४ बुँदे कामलाई मुख्यमन्त्री शाहले प्रमुख उपलब्धि रहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी उत्पादन वृद्धि, बजारीकरण एवं रोग नियन्त्रणमा विशेष पहल, वन क्षेत्र अतिक्रमण नियन्त्रण, जबाफदेही प्रणालीको सुरुवात, वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको समन्वय, पर्यटन पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको, खेलाडी सम्मान, सुरक्षा निकायलाई सहयोग र समन्वय, सूचना सञ्चार क्षेत्रको विकास र साझेदारी, विकास साझेदारसँग आवश्यकता र प्राथमिकता उपर परामर्श र विपद् जोखिम न्यूनीकरण पनि सरकारको सय दिने उपलब्धिभित्र परेका छन् ।

त्यस्तै, प्रदेश सरकारले यो अवधिमा २२ किलोमिटर पक्की र ७५ किलोमिटर ग्राभेल सडक बनाएको, ३६ वटा खानेपानी आयोजना, ३ वटा सडक पुल र १ झोलुङ्गे पुल, १२ सय २६ हेक्टरमा थप सिँचाइ सुविधा, १५० केजी खोटो, ५ लाख केजी जडीबुटी सङ्कलन र ४५ हजार बिरुवा रोपेको प्रगति विवरण सार्वजनिक गरिएको छ । यसबाहेक १८ किलोमिटर नहर निर्माण, १६.८८ किलोमिटर तटबन्ध निर्माण गरेको सरकारको भनाइ छ । पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यस अवधिमा पहिलो चौमासिकमा रहेको १४ प्रतिशतको न्यून प्रगति दरलाई बढाएर ३३ प्रतिशत पुर्‍याइएको दाबी गरेका छन् ।

पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप