शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकारको नीति तथा कार्यक्रम नजान्ने विद्यार्थीले चिट चोरेजस्तो : एमाले अध्यक्ष ओली

शनिबार, ०६ जेठ २०८०, १६ : ५४
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नजान्ने विद्यार्थीले चिट चोरेजस्तो रहेको टिप्पणी गरेका छन् । शनिवार नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने किसिममा विषयमा नीति तथा कार्यक्रम नआएको बताए । उनले दिगो विकासका लक्ष्य प्राप्तिका लागि यो वर्ष के के काम गर्ने त्यो कुरा नीति तथा कार्यक्रममा आउनुपर्नेमा जोड दिए । 

अध्यक्ष ओलीले बितेको पञ्चवर्षीय योजनाको कार्यक्रम कार्यान्वयन पूरा नभएको कुरामा ध्यान नगएको भन्दै अर्को पञ्चवर्षीय योजना कसरी ल्याउन सकिन्छ भन्दै प्रश्न गरे । उनले एमाले सरकारले अघिल्लो पटक नीति तथा कार्यक्रममा समेटेको विषय पनि रहेको बताउँदै त्यो राखिएको नभई चिट चोरिएको टिप्पणी गरे । 

उनले भने–‘उहाँहरूले यस नीति तथा कार्यक्रममा राजनीतिक क्षेत्रको अस्थिरता, राजनीतिक अराजकतामा उहाँहरूको कुनै चिन्ता छैन । अर्थतन्त्र अप्ठेरो अवस्थामा छ, सङ्कटतर्फ गइरहेको छ । केही केही साना सुधारका कुराहरू, वैदेशिक मुद्रा सञ्चितिका लागि कुनै चिज नकिनेपछि त सञ्चिति हुनै भो नि । अहिले हामी के मात्रै किन्ने भन्दा दाल तरकारी समेत किन्नेमा पुगिसक्यौँ । आयात गर्ने कुरा व्यापार कसरी हुन्छ यो त बेसाहा हो । उत्पादन बढाउने उद्योगका सामानका लागि आयात बढेको छैन, उपभोग्य सामग्रीका लागि मात्रै आयात बढेको छ ।’   

देशमा आर्थिक नीति नै नभएको बताउँदै अध्यक्ष ओलीले त्यसबारेमा पनि नीति तथा कार्यक्रममा सरकार नबोलेको उनको टिप्पणी छ । नीति तथा कार्यक्रम प्रष्ट हुने र त्यसले काम गर्न सक्ने बताउँदै उनले सरकारले ल्याएको कार्यक्रममा राम्रा र मिठा शब्द राखिएको तर कार्यान्वयनको उद्देश्य नराखिएको उल्लेख गरे । उनले सरकार आर्थिक सङ्कट समाधानका लागि गम्भीर नभएको आरोप पनि लगाएका छन् । उनले नेपाली जनताका लागि सबैभन्दा महँगो वर्तमान सरकार रहेको दाबी गरे । देशलाई कसरी लाने भन्ने बारेमा सरकार प्रस्ट नभएको, संघीयताको बारेमा प्रश्न उठेको, संघीयतालाई सबलीकरण गर्ने बारेमा केही कुरा नभएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप