बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

कृषि जैविक विविधता संरक्षणमा सामुदायिक बिउ बैंकको भूमिका कति ?

आइतबार, ०७ जेठ २०८०, ०७ : ५४
आइतबार, ०७ जेठ २०८०

नेपालजस्ता अल्पविकसित देशहरू विशेषतः जलवायु अनुकूलनका वैकल्पिक प्रविधिको कमीका कारण उच्च जोखिममा परेको पाइन्छ । समग्रमा अध्ययन गर्दा महिला, आदिवासी, जनजाति तथा अन्य सीमान्तकृत जनसमुदायहरू, जो विकासको मूल प्रवाहबाट वञ्चितमा परेका छन्, उनीहरू नै जलवायु परिवर्तनको उच्च जोखिम झेल्न बाध्य छन् । अधिकांश त्यस्ता समुदायको बसोबास पनि जलवायु परिवर्तनको उच्च जोखिम हुने ठाउँमा भएको पाइन्छ । 

जलवायु परिवर्तनका कारण भएको तापक्रम वृद्धि, अनियमित वर्षा, सुक्खा, खडेरी, बाढी तथा पहिरोका कारण मानव जीवनका विभिन्न क्षेत्रमा असर पु¥याइरहेको छ । ती विविध क्षेत्रमध्ये कृषि क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा छ, जुन मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित छ । हाल कृषकले सुक्खा तथा खडेरीका कारण कृषि उत्पादनमा निकै नोक्सान बेहोरिरहनपरेका उदाहरण छन्, जस्तै ः बालीमा दाना नलाग्ने, बाढी पहिरोका कारण सबै बाली नोक्सान हुने र रोग तथा कीराको आक्रमणमा वृद्धि भई बाली नष्ट हुने आदि । 

राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन २०७९ का अनुसार यी विविध क्षेत्रका घटनाक्रम अझै बढ्दो क्रममा देखाइएको पाइन्छ । साथै सन् २०१६ देखि सन् २०४५ को अवधिसम्म नेपालको तापक्रम ०.९ डिग्री सेल्सियसले वृद्धि हुने प्रक्षेपण समेत गरिएको छ । त्यसैले समयमै कृषि क्षेत्रमा उत्थानशीलताका लागि योजना निर्माण गर्न नसके थप समस्यामा पर्न सक्नेमा कसैको दुई मत छैन । 

पानी उपलब्ध नहुँदा जलविद्युत् आयोजना एवं कृषि व्यवसाय प्रभावित भई आदिवासी जनजाति लगायत कृषिमा आश्रित समुदायको जीविकोपार्जनका लागि खाद्य असुरक्षाको समस्या सिर्जना हुने देखिन्छ । लामो खडेरीले खाद्य अभाव र खाद्यान्नको मूल्यवृद्धि भई कृषि आम्दानी, पोषण र गरिबीमा दीर्घकालीन असर पर्दा अर्थतन्त्रका अन्य क्षेत्र समेत प्रभावित हुन सक्छन्, (राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन २०७९) । 

तसर्थ, कृषि क्षेत्रमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरणको महत्त्वपूर्ण उपाय भनेको समुदायस्तरबाटै कृषि जैविक विविधताको व्यवस्थापन गर्नु हो । रैथाने बालीका जातहरू बदलिँदो हावापानीसँग जुध्न सक्ने, रोग तथा कीरा सहने, सुक्खा खडेरी सहन सक्ने, खान स्वादिला, औषधीय गुण भएका र आ–आफ्ना धर्म तथा संस्कृतिकसँग सम्बन्धित छन् । क्रमिक रूपमा यस्ता स्थानीय जातको महत्त्वपूर्ण गुणको लेखाजोखा नै नगरी कम फल्छ भन्ने नकारात्मक सोचका कारण आयातीत बिउको प्रयोगमा वृद्धि भई अधिकांश महत्त्वपूर्ण रैथाने जातहरू लोप भइसके भने कतिपय लोपोन्मुख अवस्थामा छन् । स्थानीय बिउ प्रणालीको सुदृढीकरण गर्दै कृषि जैविक विविधताको दिगो व्यवस्थापन गर्न सकेको खण्डमा लक्षित समूहको क्षमता वृद्धि भई जलवायु परिवर्तनसँग अनुकूलित हुन सक्नेछन् । यसका लागि सरकारी निकायबाट नीतिगत, प्राविधिक एवं आर्थिक सहजीकरणको आवश्यकता पर्छ । 

त्यसैले, जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेका चुनौतीको सम्बोधनका लागि हाल नेपालमा भएको कृषि जैविक विविधताको अभिलेखीकरणसहित यथा स्थानमा संरक्षणमा जोड दिन आवश्यक छ । यसका लागि समुदायको अगुवाइमा सामुदायिक बिउ बैंक स्थापना र सञ्चालन बलियो माध्यम हुन सक्छ । यसैले यो लेखमा कृषि उत्थानशीलताका लागि कृषि जैविक विविधताको व्यवस्थापनमा सामुदायिक बिउ बैंकको भूमिका बारे चर्चा गर्ने प्रयास गरिएको छ । 

सामुदायिक बिउ बैंक 
सामुदायिक बिउ बैंक स्थानीय समूह, सहकारी वा संस्थाद्वारा सञ्चालित हुन्छ । समूह, सहकारी वा संस्था आफैँमा संस्थागत क्षमता भएको, सुशासित र कानुनी मान्यता पाएको हुनुपर्दछ । यिनै कृषक समूह, सहकारी वा संस्थाले स्थानीय कृषकका लागि आवश्यक पर्ने थरीथरीका गुणस्तरीय बिउबिजन स्थानीय तहमा निरन्तर रूपमा उपलब्ध गराउने व्यवस्थालाई सामुदायिक बिउ बैंक भनिन्छ । 

विशेषतः स्थानीय जातहरूको पुनर्उत्पादन, संरक्षण तथा वितरणमा जोड दिइन्छ, साथै नेपाल सरकारबाट उन्मोचन गरिएका उन्नत जातहरूको बिउ उत्पादन गरी शुद्ध र गुणस्तरीय बिउको पहुँच बढाउन प्रयास गरिन्छ । 

सामुदायिक बिउ बैंकले रैथाने जातहरूको अभिलेखीकरण गरी चार वर्गीय विश्लेषणको अभ्यासमार्फत उत्पादन र संरक्षणका योजना निर्माण गर्छन् । योजनाअनुरूप बालीहरूको उत्पादन, छनोट, संकलन र वितरण रैथाने बिउको यथास्थान संरक्षण तथा पुनर्उत्पादनको प्रक्रिया हो । ठाउँ विशेष अनुसार लोकप्रिय उन्नत जातको गुणस्तरीय बिउ उत्पादन र बिक्री–वितरण संस्थाको आर्थिक पक्ष सुदृढीकरणको माध्यम हो, जसले कृषकलाई सहज रूपमा बिउ उपलब्ध समेत गराउँछ । सामुदायिक बिउ बैंकले औपचारिक क्षेत्रबाट उपलब्ध गराउन नसक्ने रैथाने जातका शुद्ध बिउहरू कृषकलाई उपलब्ध गराउँछ । 

स्थानीय हावापानी सहन सक्ने, जैविक तथा अजैविक तनाव सहन सक्ने विविध बिउको उपलब्धतामार्फत सामुदायिक बिउ बैंकले समुदायका सदस्यलाई जलवायु परिवर्तनको जोखिममा अनुकूलन हुन सहयोग गर्छ । कृषकलाई कम मलजलमा पनि राम्रै फसल दिन सक्ने, रोगकीरा सहन सक्ने जातहरूको छनोट तथा प्रयोग गर्ने अवसर प्रदान गर्दछ, आयातित मल तथा विषादीको प्रयोगमा कम हुन्छ, जसले जलवायु न्यूनीकरणमा सहयोग पुर्याउँछ । 

विभिन्न अनुसन्धानले देखाए अनुसार, शुद्ध बिउको प्रयोगले २० देखि २५ प्रतिशतसम्म उत्पादन वृद्धि हुन्छ । यस तथ्यलाई आधार मान्दा गुणस्तरीय बिउको उपलब्धतामार्फत खाद्य सुरक्षामा टेवा पु¥याउन सकिन्छ । तसर्थ, कृषि क्षेत्रमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरणको प्रभावकारी उपाय स्थानीय बिउ प्रणालीको सुदृढीकरण, सहज उपलब्धता र प्रयोेग हो । नेपालमा कृषि जैविक विविधताको यथास्थानीय संरक्षण र कृषकले खोजेका बेला रोजेको गुणस्तरीय बिउ उपलब्ध गराउन सामुदायिक बिउ बंैक पद्धति सफल भएको मानिन्छ, जुन कार्य हाल नेपालमा सञ्चालित सामुदायिक बिउ बैंकमार्फत कार्यान्वयन गरिएका छन् । 

सामुदायिक बिउ बैंकहरूको वर्तमान अवस्था
नेपालमा सामुदायिक बिउ बैंकको थालनी २०५२ सालमा भएको पाइन्छ । विभिन्न संस्थाहरूसहित ‘सामुदायिक बिउ बैंक सञ्चालन निर्देशिका २००८’ अनुरूप नेपाल सरकार अन्तर्गत कृषि विभागले पनि विभिन्न ठाउँमा सामुदायिक बिउ बैंक सञ्चालनका लागि सहयोग गरेको पाइन्छ, तर बिउ बैंकको उपयुक्त विधि र प्रक्रियाका अभावमा कतिपय सामुदायिक बिउ बैंकहरू उन्नत जातहरू मात्र उत्पादन तथा बिक्री वितरण गर्दछन्, त्यस्ता बिउ बैंकहरूलाई यहाँ समावेश गरिएको छैन । सामुदायिक बिउ बैंकको उद्देश्य अनुरूप रैथाने जातहरूलाई केन्द्र्रबिन्दुमा राखेर योजनाबद्ध तवरले संरक्षण, उत्पादन र व्यवस्थापन गर्दै आएका सामुदायिक बिउ बैंकहरूको मात्र यहाँ तथ्यांक राख्ने प्रयास गरिएको छ । हालसम्म उद्देश्य अनुरूप सफल रूपमा सञ्चालित सामुदायिक बिउ बैंक नेपालका विभिन्न जिल्लामा गरी २३ वटा मात्र छन् । जसले कृषि जैविक विविधताको दिगो व्यवस्थापन मार्फत जलवायु उत्थानशीलताका लागि टेवा पुर्याएको पाइन्छ । 

सामुदायिक बिउ बैंकको मर्म अनुरूप सञ्चालित २३ वटा सामुदायिक बिउ बैंकको तथ्यांकलाई (तालिका १) अध्ययन गर्दा स्थानीय तथा उन्नत जातको गुणस्तरीय बिउ २५९ टन उत्पादन भएका छन् । यी सामुदायिक बिउ बैंकहरूमा सात हजार ६६८ घरधुरी आबद्ध छन् र प्रत्यक्ष रूपमा नौ हजार ६५३ कृषकहरूले सामुदायिक बिउ बैंकमा आएर गुणस्तरीय बिउ लिने गरेका छन् । तथ्यांकका आधारमा विभिन्न बालीका एक हजार ७२८ जातहरू सामुदायिक बिउ बैंकमार्फत संरक्षण, उत्पादन र प्रवद्र्धन भइरहेको पाइन्छ । यही तथ्यांकका आधारमा स्थानीय समूह, सहकारी वा संस्थाद्धारा सञ्चालित सामुदायिक बिउ बैंक जलवायु परिवर्तनले कृषि क्षेत्रमा पार्न सक्ने जोखिम अनुकूलन, न्यूनीकरण तथा उत्थानशीलताका लागि प्रभावकारी माध्यम भन्न सकिन्छ । 

सामुदायिक बिउ बैंक तथा बिउ उत्पादन सम्बन्धी संक्षिप्त विवरण

table1 -1

एक उदाहरण : अन्नपूर्ण सामुदायिक बिउ बैंक
कास्कीको अन्नपूर्ण गाउँपालिका– ३, मराम्चेस्थित अन्नपूर्ण सामुदायिक बिउ बैंक प्रगतिशील कृषि उत्पादक सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित छ । कानुनी प्रावधानअन्तर्गत विनियममा रही आवश्यक नीति–नियम निर्माण र कार्यान्वय गर्दै आन्तरिक सुशासनसहित सञ्चालित सहकारी हो यो । यो बिउ बैंक पोखरादेखि ३० किलोमिटर टाढा पोखरा बाग्लुङ राजमार्गको पथ्थर वा काँडेबजारदेखि दुई किलोमिटरभित्र उत्तरतर्फ पर्छ । समुद्र सतहबाट १६५० मिटरको उचाइमा अवस्थित यो गाउँ नेपालकै सबै भन्दा बढी पानी पर्ने क्षेत्रमा पर्दछ । 

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) को प्राविधिक एवं आर्थिक सहयोगमा २०७६ माघ २० गते स्थापित यस बिउ बैंकमा १०७ सदस्य आबद्ध छन् । यस बिउ बैंकले ३० बालीका ७५ जातहरूको संरक्षण, उपयोग र व्यवस्थापन गर्दै आएको छ । सामुदायिक बिउ बैंकको उद्देश्य अनुरूप बाली तथा जातहरूको पासपोर्ट तथ्यांकसहित अभिलेखीकरण गरेर चार वर्ग विश्लेषणद्वारा दिगो संरक्षण, उपयोग तथा व्यवस्थापनको योजना (तालिका २ र ३) निर्माण गरेको छ । 

सामुदायिक बिउ बैंकले संस्थागत क्षमता विकासका लागि विभिन्न तालिमहरू प्राप्त गरी अधिकांश सदस्यलाई आवश्यक ज्ञान उपलब्ध गराएको छ । साथै बिउ उत्पादन र बजारीकरणका लागि कानुनी प्रक्रिया पूरा गरेको छ । बिउ भण्डारण तथा बजारीकरणका लागि आवश्यक पर्ने न्यूनतम भौतिक पूर्वाधार कम्पाउन्ड सहितको भवन, बिउ सुकाउने खलो, सिडबिनहरू, हावा बन्द बट्टाहरूसहित सामग्रीको व्यवस्थापन गरेको छ भने रैथाने बालीको संरक्षण तथा बिउ उत्पादनमा सदस्य सक्रिय भएका छन् ।

सामुदायिक बिउ बैंकलाई पारदर्शी तथा गतिशील बनाउन सहकारीअन्तर्गत बिउ बैंक सञ्चालन उपसमिति निर्माण, सामुदायिक बिउ बैंक निर्देशिका निर्माण, जैविक विविधता कोष परिचालन निर्देशिका निर्माण र अन्य बिउ बैंकमा चाहिने आवश्यक फारमहरूको व्यवस्थापन र कार्यान्वय गर्दै आइएको छ । दिगोपनाका लागि विभिन्न आन्तरिक स्रोतको व्यवस्था गरिएको छ । कृषि संस्थामा पाँच लाखको जैविक विविधता संरक्षण कोषको व्यवस्थापन गरिएको छ । कृषकहरूको जीविकोपाजर्नमा टेवा पुर्याउन प्रयोग गरिने यो कोषबाट संरक्षणमा योगदान गर्ने सदस्यहरूलाई दुई प्रतिशत कम ब्याजदरमा लगानी गर्दै आएका छन् । विशेष गरी चिसो सहने धानका जातहरूको बिउ उत्पादन (तालिका ४), दूध उत्पादन तथा स्वस्थकर तरकारी उत्पादनमा यो कोषको लगानी हुन्छ । कोषको लगानीबाट आएको ब्याजको बढीमा ५० हजारसम्म सामुदायिक बिउ बैंकले रैथाने जातको पुनर्उत्पादनका लागि जैविक विविधता प्रदर्शनी स्थलहरूको व्यवस्थापनमा लगानी गर्ने गरेको छ । 

एकद्वार प्रणालीबाट बजारीकरणका लागि संकलन केन्द्रको स्थापना गरी बिउ बैंकमा आबद्ध सदस्यबाट उत्पादित बिउ (वार्षिक बिक्री रु. ३२०,०००), दूध (वार्षिक बिक्री रु. ४,३२०,०००) तथा स्वस्थकर तरकारी (वार्षिक बिक्री रु. ८८३,९२१) को बजारीकरण गर्दै आइएको छ । यसका अलाबा कृषकलाई आवश्यक पर्ने सामानहरूको समेत व्यवस्थापन गरिएको छ । यी विभिन्न स्रोतबाट आएको आम्दानी स्थानीय बाली तथा जातहरूको संरक्षण र व्यवस्थापनमा लगानी हुने गर्दछ । 

सामुदायिक बिउ बैंकको दिगोपनाका लागि विषयगत सरोकारवालाहरू, जस्तै ः स्रोत बिउ तथा प्राविधिक सहयोगका लागि कृषि अनुसन्धान निर्देशनालय, लुम्ले, बिउ उत्पादन क्षेत्रको अनुगमन, उमारशक्ति परीक्षण तथा लेबलिङका लागि बिउबिजन प्रयोगशाला, गण्डकी प्रदेश, स्थानीय बाली तथा जातहरूको आदान–प्रदान एवं पासपोर्ट तथ्यांक संकलनमा प्राविधिक सहयोग राष्ट्रिय आनुवाशिक स्रोत केन्द्र काठमाडौं, कृषकहरूलाई विभिन्न आयआर्जनमा सहयोग पु¥याउने कार्यक्रमका लागि गाउँपालिका एवं कृषि ज्ञान केन्द्रहरूसँग सम्पर्क र समन्वय गर्ने गरिएको छ । साथै अन्नपूर्ण गाउँपालिकामार्फत २०७९÷०८० को नीति तथा कार्यक्रममा समेत अन्नपूर्ण सामुदायिक बिउ बैंक स्थापना र सञ्चालनलाई सम्बोधन गरिएको छ । 

अन्नपूर्ण सामुदायिक बिउ बैंकले संरक्षण गरेका रैथाने जातहरूको चार वर्ग विश्लेषण

table 2
चार वर्ग विश्लेषणका आधारमा रैथाने जातको संरक्षण तथा उपयोगका लागि बनाइएको योजना

table 3-1

अन्नपूर्ण सामुदायिक बिउ बैंकमार्फत चिसो सहने धानका जातको बिउ उत्पादन विवरण
table 4

सन्दर्भ सामग्री 
टेक्नोलजी छैटौँ भोलुम, कम्युनिटी सिड बैंक ।
जानकारीपत्र, रैथाने बिउ जोगाउन र उत्पादन बढाउन सामुदायिक बिउ बैंक, ली–बर्ड ।
राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन, भाद्र २०७९, विश्व बैंक समूह ।

(लेखक जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)का वरिष्ठ कार्यक्रम अधिकृत हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

इन्द्रप्रसाद पौडेल
इन्द्रप्रसाद पौडेल
लेखकबाट थप