शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिरयानी अड्डाको पाँचौँ शाखा कुमारीपाटीमा

आइतबार, ०७ जेठ २०८०, १३ : १६
आइतबार, ०७ जेठ २०८०

ललितपुर । बिरयानी, नान लगायतका भारतीय खानाका साथै क्लासिक नेपाली खानाको परिकार प्रदान गर्दै आएको बिरयानी अड्डाले ललितपुरको कुमारीपाटीमा आफ्नो पाँचौँ शाखा स्थापना गरेको छ । २०७६ साल फागुनबाट आफ्नो व्यापार सुरु गरेको अड्डाले कुमारीपाटीमा पाँचौँ शाखा खोलेको हो । 

युरोप र खाडी मुलुकमा कामका लागि पुगेका चार जनाको समूहमा रहेका युवाहरूले नेपालमै केही गर्ने अठोटका साथ नेपाल फर्किएर २०७६ फागुनमा बिरयानी अड्डाको नामबाट व्यापार सुरु गरेका थिए । ३ वर्ष ३ महिनाकै अवधिमा काठमाडौँ उपत्यकामा पाँचवटा शाखा बिस्तार गरिसकेको अड्डाले १ सय २० जनाभन्दा बढीलाई रोजगारी समेत दिएको छ । 

विदेशबाट फर्कने युवाहरूले गफ मात्रै दिने गरेको भन्दै उनीहरूले आफ्नो व्यवसायको नारामै विदेशबाट फर्केका युवाको सीपको सदुपयोगको चाहना राखेको छ । ‘देशले ठुलो गफ हैन, विदेशबाट फर्केको हर्के दाइको सीप खोज्दैछ’ भन्ने नारा बोकेर स्थापना भएको बिरयानी अड्डाले शाखा बिस्तार लगायतका कामका लागि करिब ७ करोड रुपैयाँ खर्च गरिसकेको छ । 

भक्तपुरका राजन खनाल, दोलखाका रविन पाण्डे, रामेछापका नवराज कार्की लगायतका युवाहरूको समूहले विदेशमा सिकेको सीप र कमाएको केही रकमबाट नेपालमै व्यापार गर्ने भनेर बिरयानी अड्डा खोलेका थिए । अहिले बिरयानीको पारखी धेरै नेपालीको मीठो परिकारका रूपमा बिरयानी अड्डाको बिरयानी चर्चित रहेको सञ्चालकमध्येका एक रविन पाण्डेले बताए । 

पाण्डे भन्छन्, ‘हामीले बिरयानी अड्डा सञ्चालन गर्ने बित्तिकै लकडाउन भयो । त्यसपछि हामीलाई अब कसरी अगाडि बढ्ने भन्ने चिन्ता थियो । तर त्यही समयमा हामीले होम डेलिभरीको सुविधा दियौँ र त्यही नै हाम्रो लागि अवसर बन्यो । होम डेलिभरीमै सेवा सुरु गर्दा फेरि व्यापार के होला भन्ने चिन्ता थियो, तर स्वादिलो र गुणस्तरीय सेवा दिन सकेकाले धेरैले मन पराइदिनुभएको छ । त्यही भएर अहिले हामी पाँचौँ शाखा खोल्न सफल भयौँ ।’

२०७६ फागुनमा मध्य बानेश्वरबाट सेवा सुरु गरेको बिरयानी अड्डा त्यसपछि बालुवाटार, पेप्सीकोला, राधेराधे भक्तपुर र कुमारीपाटीमा पनि शाखा खोल्न सफल भएको छ । जेठ ६ गते शनिवारबाट ललितपुरको कुमारीपाटीमा पाँचौँ शाखा खोलेको बिरयानी अड्डाले जेठ महिनाभर उक्त शाखामा २० प्रतिशत छुट दिने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप