बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारको नीति, कार्यक्रममा जनयुद्ध शब्द उल्लेख भएकोप्रति योगेश भट्टराईको आपत्ति

‘गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु गल्ती होइन’
सोमबार, ०८ जेठ २०८०, १४ : २६
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै आपत्ति जनाउनुभएको हो । 

उनले भने – ‘सम्बोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ । यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि यहाँ उच्चारण भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । ०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्ताबेजहरूमा यो शब्द उल्लेख भएको छैन । पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ । यतिबेला म प्रधानमन्त्री पुष्पकमल दाहालजीप्रति इङ्गित गरिराखेको छैन । यदि यो १ नम्बर बुँदा कांग्रेसले स्विकार्छ भने मलाई लाग्छ कि इन्ड अफ द हिस्ट्री नेपाली कांग्रेसकै इन्ड अफ द हिस्ट्र हो । यदि यो शब्दलाई र यो स्प्रिटलाई उहाँहरूले स्वीकार्नु हुन्छ भने ।’

भट्टराईले नीति तथा कार्यक्रममा महिला, दलित र पिछडिएका क्षेत्रका वर्ग र समुदायहरूको बारेमा उल्लेख गर्न नसकेको बताए । उनले भने – ‘यो नीति कार्यक्रमले ५१ प्रतिशतको जनसङ्ख्यामा रहेका महिलाहरू, १५ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा रहेको दलित समुदाय, पिछडिएको क्षेत्र र अन्य धेरै जो वर्षौँदेखि राज्यको मूल प्रवाहीकरणमा समेटिन नसकेका वर्ग र समुदायको बारेमा यसले खासै उल्लेख गरेको छैन । त्यसकारणले यो नीति कार्यक्रम समाजका कुन वर्ग र समुदायमा बढी प्रेरित छ, कुन वर्ग समुदायप्रति यो आकर्षित छ भन्ने कुरा नै यसमा अन्योल छ । यदि पहाड र हिमालमा मानिसलाई अड्याउन नसक्ने हो भने यो देशको विकासको अवधारणा कोल्टे पर्छ । आज यो नीति कार्यक्रमले यो तथ्यांकप्रति नजर अन्दाज गरेको छ । यसले कुनै पनि त्यसमा ठोस समाधान दिएको छैन ।’ 

सांसद भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु गल्ती नभएको बताए । ती विमानस्थलहरूलाई व्यावसायिक प्रतिफल प्राप्त हुने गरी सञ्चालन गर्न नसक्नु सरकारको असफलता भएको उनको भनाई छ । भट्टराईले भने – ‘कतिपय माननीयहरूले त गौतमबुद्ध विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले नै ह्यामर लगेर भत्काइहाल्नु हुन्छ कि जस्तो गरी बोलिरहनु भएको छ । गौतमबुद्ध विमानस्थल बनाउनु गल्ती थिएन । पोखरा विमानस्थल बनाउनु गल्ती थिएन । कमजोरी कहाँ हो भने त्यसलाई व्यावसायिक ढंगले प्रतिफल प्राप्त हुने गरी सञ्चालन गर्न नसक्नु यो सरकारको असफलता हो । भारत सरकारसँग हवाई सम्झौता अनुसार हवाई मार्ग प्राप्त गर्न सक्ने कूटनीतिक ल्याकत नराख्नु गौतमबुद्ध विमानस्थलको दोष होइन । पोखरा विमानस्थलको दोष त्यो होइन ।’  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप