शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारीको जालो चिर्न मेरा केही सुझाव

सोमबार, ०८ जेठ २०८०, १५ : ०८
सोमबार, ०८ जेठ २०८०

लामो समयको युरोप बसाइपछि दुई वर्षअघि नेपाल गएको थिएँ । कोभिडको दोस्रो लहर सुरु भएपछि केही सहयोग गर्न सक्छु कि भन्ने इच्छाले नेपाल गएको थिएँ । कोभिडबाट ग्रसित बिरामीलाई केही सेवा दिने प्रयास पनि गरेँ । विदेशमा बसोबास गर्ने धेरै नेपालीले यो कार्यमा सहयोग गरेका थिए । 

यसैबिच शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई अक्सिजन मेसिनको आवश्यकता परेको थियो । उहाँका लागि भनेर विदेशबाट एउटा अक्सिजन मेसिन नेपाल आइपुग्यो । तर त्यो मेसिन एयरपोर्ट भन्सारमा रोकियो ।

सहयोगमा प्राप्त उक्त मेसिन भन्सार छुट गराई सत्यमोहन जोशीकहाँ पुर्याउन मलाई महाभारतकै युद्ध जित्नु पर्‍यो । त्यसका लागि म स्वास्थ्य मन्त्रालय धाएँ, परराष्ट्र मन्त्रालय अन्तर्गतको अमेरिका र युरोप शाखाका कोठा कोठा धाएँ तर केही चलेन । त्यसपछि एक जना पूर्वविज्ञान तथा भौतिक राज्यमन्त्रीको शरणमा पुगेँ । अनि मात्र सो उपकरण सत्यमोहन जोशीको घरसम्म पुर्याउन सकेँ । सामाजिक काम गर्दा पनि हरेक सामान्य नागरिकले यस्तो सास्ती व्यहोर्नुपर्छ । 

अर्को त्यस्तै घटना छ । कोभिड सामान्य भएपछि युरोप फर्किनुभन्दा पहिले नयाँ बनाएको घरको नक्सा रुजु गर्न ललितपुर मालपोत कार्यालय, लगनखेल पुगेँ । त्यहाँको व्यवस्थापन देखेर झनै दिक्क लाग्यो । नेपालका सरकारी कार्यालयहरूमा कसरी भ्रष्टाचारमा हुँदो रहेछ भन्ने मैले प्रत्यक्ष अनुभव गरेँ । मैले यसअघि नै महालक्ष्मी नगरपालिका–६ मा बनेको गङ्गाबहादुर नेम्कुलको नामको घर निर्माणको प्रमाणपत्र वडा र नगरपालिकाबाट नक्सा पासको प्रमाणपत्र प्राप्त गरिसकेको थिएँ । तर त्यसलाई रुजु गराउन मलाई निकै हम्मेहम्मे पर्‍यो । मालपोत कार्यालयमा प्रमाणपत्र लिन जाँदा कसरी भ्रष्टाचारीको फन्दामा परिने रहेछ भन्ने अनुभव भयो ।

लगखेलस्थित मालपोत कार्यालय परिसरभित्र पुग्नेवित्तिकै मलाई लेखापालहरूले वरिपरि घेरेर के गरौँ, के सेवा गरौं भन्दै सोध्न थाले । घरको नक्सा रुजु गर्न आएको भनेपछि उनीहरुले दस हजार रुपैयाँ दिनुस् हामी गरिदिन्छौँ भन्न थाले । सार्वजनिक ठाउँमा नै उनीहरूले हाकाहकी पैसा माग्न थाले । 

आफैँ गर्छु भनेर उनीहरुलाई फारम र फाइल खरिद गर्ने अफिस देखाइदिन अनुरोध पनि गरेँ । तर फेरि उनीहरु केही थाहा नै नभएको बहाना गर्न थाले । आआफ्ना काममा व्यस्त भए । 

मेरो उल्झनलाई बुझेर आफ्नै काममा आइपुगेकी एक महिला बहिनीले आफूसँग भएको फाराम दिँदै फारामको पाँच सय रुपियाँ मागिन् । त्यो फारामको पैसा तिरेर मैले लिएँ । अनि उनालाई नै फारम पनि भरिदिन अनुरोध गरेँ । सहयोगी रहिछिन्, फारम भरिदिइन् । 

काम सम्पन्न हुँदासम्म मैले सरकारी कार्यालयको सूक्ष्म अध्ययन गर्ने मौका पाएँ । केहीछिन् अघि लेखापालले मलाई किन सहयोगको अस्वासन दिए भन्ने कुरा मैले राम्रोसँग बुझेँ । अनि थाहा पाएँ त्यहाँ कार्यरत कर्मचारीहरू नै सिधै पैसा माग्ने घुस्याहा रहेछन् । 

हाम्रो देशको सारा संयन्त्र र काम गर्ने तरिकामा समस्या देखेँ । यहाँको काम गर्ने तरिका नै भ्रष्टाचारलाई प्रोत्सहित गर्ने खालको देखेर मन खिन्न भयो । यो दुःखद सत्य हो,  हाम्रा तल्ला तहका लेखापल कर्मचारीहरू मात्र भ्रष्ट हैनन्, माथिल्ला तहसम्मै भ्रष्टाचारले जरा गाडिसकेको छ । मैले मात्र होइन हरेक नेपाली जनताले यस्तो दुःख दैनिक बेहोर्दै आएका छन् । यसलाई तत्कालै सुधार गर्नु आवश्यक छ ।

यी घटनालाई नियाल्दा यसमा केही सुधार गर्न सकिने आधार पनि मैले देखेँ । धेरै अपेक्षा गर्ने ठाउँ त छैन तैपनि सरकारले तत्कालै निम्न कार्य गर्यो भने आमजनताले सहज महसुस गर्न सक्छन् -

१. जनसरोकारका सम्पूर्ण काम अनलाइन प्रक्रियाबाट थालनी गरौँ,

२. जनतासँग प्रत्यक्ष सरोकार हुने विषयमा स्थानीय सरकार र प्रदेश सरकारको रोहबरमा गरौँ, 

३. सेवाग्राहीलाई सम्बन्धित सरकारी कार्यालयमा जाँदा उसका सबै काम एक जना मात्र कर्मचारीले जिम्मा लिई सक्ने प्रक्रिया थालौँ । ती व्यक्तिले सम्पूर्ण कार्यको जिम्मा लिई छिटो छरितो गरी सक्ने व्यवस्था गरौँ,

अहिले सरकारी कार्यालयमा भ्रष्टाचार गर्न सजिलो बनाइएको छ । भ्रष्टाचारकै निमित्त चलाखीपूर्ण तौरतरिका अपनाएको देखिन्छ । सानोभन्दा सानो काम गर्न पनि कोठा कोठा चाहार्नुपर्ने अवस्था छ । कोठा नम्बर १ बाट १५, १५  बाट १६, १६ बाट १७ गरी चाहर्दा बिच–बिचको कोठामा कर्मचारी नहुने वा भेट्न मुस्किल हुनेगरेको छ । यस्तो झन्झटले गर्दा नयाँ सेवाग्राही विचौलियालाई घुस दिन बाध्य हुने अवस्था छ । बिचौलियामार्फत सरकारी कर्मचारीलाई घुस दिनुपर्ने बाध्यता सिर्जना गरिएको छ । 

अहिलेको सरकारले भ्रष्टाचारलाई मौलाउन दिने यस्ता खराब प्रक्रियाको अन्त्य गर्नुपर्छ । कोठाकोठा घुम्नैपर्न,े बिचौलियाको सहयोग लिनैपर्ने प्रक्रिया खारेज गर्नुपर्छ ।

४. सरकारी कर्मचारीले काम ढिला गरे वा अनावश्यक दुःख दिए भने कारबाहीका लागि उजुरी दिन पाउने व्यवस्था हुनुपर्छ । सरकारी कर्मचारीले गल्ती गरेको ठहर भएमा यथाशीध्र कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ । नेपाल सरकारले हाललाई यति थोरै सुधारका कार्य मात्र गरेको खण्डमा पनि नेपाललाई भ्रष्टाचारबाट मुक्त गर्दै लान मद्दत पुग्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गङ्गाबहादुर नेम्कुल
गङ्गाबहादुर नेम्कुल
लेखकबाट थप