मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमाका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि आन्दोलित

बुधबार, १० जेठ २०८०, १८ : ५५
बुधबार, १० जेठ २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि तलब नपाएपछि आन्दोलित भएका छन् । 

नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि आन्दोलित भएका हुन् । 

घर खर्च चलाउनै समस्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासँग आग्रह गरेका छन् । यहाँ ४५ जना दरबन्दी तथा समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दी बाहेकका कर्मचारी छन् । 

नगरपालिका कार्यालयमै बुधबार पत्रकार सम्मेलन गरी उनीहरुले तलब नियमित पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । 

स्वास्थ्यकर्मी संघर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले तलब प्राप्तिका लागि नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग पटक पटक मौखिक र लिखित माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । 

नगरपालिकाबाट कुनै सुनुवाइ नभएपछि चरणबद्ध आन्दोलनमा उत्रिनु परेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

छिमेकी बुटवल उपमहानगरपालिका, देवदहलगायतका अन्य पालिकाले आन्तरिक स्रोतबाट स्वास्थ्यकर्मीलाई तलब दिइरहेको भन्दै पौडेलले तिलोत्तमामा भने कर्मचारीको समस्यामा गैरजिम्मेवारीपन देखाएको गुनासो गरे । 

तलब नपाएको विरोधमा जेठ ८ देखि हातमा कालोपट्टी बाँधेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुले १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक स्थानेश्वर बस्यालले बताए । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दी भन्दा बढी ३३ जना कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको बताए । उनले त्यसको लागि आफूहरुले मन्त्रालयमा पहल गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप