शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कर्णाली प्रदेशसभा : बजेट अधिवेशनमा मन्त्रीले दौरा सुरुवाल नलगाएर आएको चर्चा

बुधबार, १० जेठ २०८०, २० : २०
बुधबार, १० जेठ २०८०

सुर्खेत । कर्णालीमा बुधबारदेखि बजेट अधिवेशन सुरु भएको छ । दोस्रो कार्यकालको दोस्रो अधिवेशनको पहिलो बैठकमा पाँच जना सांसदले विचार राखेका छन् । 

बजेट अधिवेशन भनिएपनि अधिकांश सांसदहरुले पुरानै कुरा दोहो¥याउने र एक–अर्काका कुराहरुमाथि टिप्पणी गर्दैमा समय बिताए । बैठकमा निकै लामो समय बोलेका नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडलले प्रदेशको कामकारबाहीमा सरकार उदासीन बनेको, योजनाहरुमा बिचौलिया हाबी हुने गरेको टिप्पणी गरे । 

प्रदेशसँग बजेट थोरै हुने र थोरै जनशक्तिका बीचपनि देखिने गरी काम गर्न सकिने आधार रहँदा रहँदा सरकार चुकिरहेको कँडेलको तर्क थियो । 

कँडेलले अगाडि भने,‘अहिले भइरहेको सुर्खेत विमानस्थल विस्तार गर्नुको साटो छिन्चुमा नयाँ विमानस्थल बनाउने कुरा देखाइएको छ, त्यो देखाउनका लागि मात्रै हो । यस्तो तरीकाले न पुरानो विस्तार हुन्छ, न नयाँ निर्माण हुन्छ ।’ 

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशका मन्त्रीहरुले नै दौरा सुरुवाल नलगाएको भन्दै आपत्ति जनाए । हेर्दा सानो कुरा भएपनि पहिचान महत्त्वपूर्ण रहेको भन्दै सदन र क्याविनेटमा मन्त्रीले दौरा सुरुवाल लगाएर आउनुपर्ने उनको भनाई थियो । साथै बजेट अधिवेशनको पहिलो बैठकमा सचिवहरु उपस्थित नभएको प्रति पनि उनले आपत्ति जनाए । 

योजनाको सन्दर्भमा कर्णाली करिडोर, कर्णाली राजमार्ग र भेरी करिडोरलाई प्राथमिकता साथ राखेर अघि बढ्नुपर्ने शाहीले जिकिर गरे । 

नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र केसीले  ‘भाषण भन्दा व्यवहारमा लागु गरेर देखाउनुपर्ने’ तर्क राखे । कर्णाली एउटा खाली पाना भएको र त्यसको विकास, परिवर्तनमा सबै गम्भीर भएर लाग्नुपर्ने उनको भनाई थियो । 

राजनीतिक संकट समाधानका लागि सबै दल एक हुने तर, जनतामाथि थुप्रिएको गरिबीविरुद्ध लड्का लागि दलहरु एक ठाउँमा नभएको भन्दै उनले गरिबी अन्त्यका लागि पनि दलहरु एकजुट भएर लाग्नुपर्ने तर्क राखे ।   

नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले भने अभिभावक ठानिएका सांसदहरु खाली एक अर्कालाई प्रश्न गर्ने गरिरहेको र अभिभावकत्व ग्रहण गर्न नसकेको बताइन् । 

‘ठूला दलका नेताबाट हामीले धेरै कुरा सिक्नु पाउनुपर्छ तर, उहाँहरु एक अर्कालाई दोषारोपण गर्ने काम मात्र गर्नुहुन्छ, आगामी दिनमा त्यस्तो नहोस्,’ उनले भनिन् । 

बजेटको सन्दर्भमा उनले ‘राम्रा भन्दा हाम्रा मान्छे’लाई योजना दिने काम भइरहेको आरोप सरकारलाई लगाइन् । उनले भनिन्,‘कर्णालीको स्वास्थ्यको अवस्था दयनीय छ । आम जनतालाई सहज रुपमा स्वास्थ्यको पहुँच हुने खालको कार्यक्रममा सरकार अग्रसर हुनुपर्छ ।’ 

स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले अहिलेसम्म संसदीय समितिहरु गठन नभएको भन्दै समितिलाई पूर्णता दिई गहन रुपमा विकासका लागि छलफल चलाइनुपर्ने बताए ।

संसदलाई कानुन बनाउने थलोमा रुपमा लिइएपनि दोस्रो कार्यकालको पहिलो अधिवेशनमा एउटा पनि कानुन नबनेर सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप