आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढमा उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै

वीरगञ्ज, हेटौडा, भरतपुर सेवा लिन जाने महिलाहरुलाई आफ्नै ठाँउमा उपचार पाएपछि खुशी
बिहीबार, ११ जेठ २०८०, ०८ : ०७
बिहीबार, ११ जेठ २०८०

बारा । निजगढ नगरपालिका–८ की भगवती न्यौपाने  तल्लो पेट दुख्ने, सेतोपानी वग्ने र पाठेघरको मुख चिलाउने समस्याले एक वर्षदेखि पीडित थिइन् ।  निजगढ नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रममा नियमित परीक्षण गर्न पाएपछि उनी खुशी छिन् । ‘यहाँ आएपछि मलाई धेरै राम्रो भएको छ । केही किन्नु परे पनि धेरै औषधी निशुल्क पाईन्छ,’ न्यौपानेले भनिन् ।

निवर्तमान नगरप्रमुख सुरेश खनाल र उपप्रमुख लीलादेवी खनालको पहलमा निजगढ प्राथमिक स्वस्थ्य केन्द्रमा सुरु भएको उपप्रमुख महिला प्रजनन् स्वास्थ्य परीक्षण कार्यक्रमबाट न्यौपाने  जस्ता धेरै महिला लाभान्वित भएका छन्  ।

प्रत्येक महिनाको पहिला आइतवार सञ्चालन हुने प्रजनन स्वास्थ्य स्वास्थ्य परीक्षण कार्यक्रममा नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जबाट महिला विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीको टोली निजगढ आउँछ । यसअघि उपचारका लागि वीरगञ्ज, हेटौडा, भरतपुर पुगेका स्थानीय महिला अहिले आफ्नै पालिकाभित्र सेवा पाउँदा दंग छन् ।

निजगढ नगरपालिका वडा नं ९ की मुना चौलागाँई नगरपालिकाले सञ्चालन गरेको प्रजनन् स्वास्थ्य परीक्षण कार्यक्रमबाट धेरै फाईदा भएको बताउछिन् । ‘म आफै ३÷४ वर्षदेखि पाठेघरको समस्या भोगेको मान्छु हुँ । पहिला काठमाडौं थापाथली, भरतपुर क्यान्सर अस्पताल, वीरगञ्ज पनि गएँ । वीरगञ्जमा त पाठेघर नै फाल्नुपर्छ भनेको थियो तर यहाँ आएपछि पाठेघर पनि फाल्नुपरेन । अहिले धेरै राम्रो भएको छ,’ चौलागाँईले भनिन् ।

आइतवार निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा भेटिएकी निजगढ–३ सिंगोलकी अम्बिका तिमिल्सिनाले भनिन्,‘यो कार्यक्रमले हामीजस्ता विपन्न र मध्यम वर्गका महिलाहरुलाई धेरै फाईदा भएको छ । नगरपालिकालाई धेरै धन्यवाद दिन चाहन्छौ ।’

सुत्केरी भएको २ महिनासम्म पनि रक्तश्राव नरोकिएपछि उपचारका लागि आएकी निजगढ–८ की सरिता अधिकारी पनि आफ्नै पालिकाभित्र सेवा पाउदाँ धेरै खुशी लागेको बताउछिन् । ‘प्राथमिक स्वास्थ्य केन्द्रमा पहिला पनि चेक गर्न आएको थिएँ । तर, उहाँहरुले आइतवार राम्रो डाक्टर आउनुहुन्छ, आउनुहोला भनेकोले आज आएको हुँ, राम्रो रहेछ,’ अधिकारीले भनिन् ।

स्वास्थ्यकर्मी निरु गौतमले उपप्रमुख प्रजनन् स्वास्थ्य परीक्षण कार्यक्रम प्रत्येक महिनाको पहिलो आइतवार सञ्चालन गरिने र सो कार्यक्रमबाट नियमित ६० देखि  सयजना महिलाहरुले लाभान्वित हुने गरेको बताईन् । यो २०७७ फागुनदेखि नियमित रुपमा सञ्चालन भएको छ ।

n1

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जकी महिला रोग विशेषज्ञ डा मञ्जु रायले भनिन् ‘आङ खसेको, पाठेघरमा मासु पलाएको, लामो समयदेखि परिवार नियोजनका साधनहरु प्रयोग गर्नेहरु पनि आउनुहुन्छ, कपर टी ठाँउमा छ कि छैन् भनेर सोध्नुहुन्छ ।’

‘यहाँ उपचार हुन नसकेका दिदीबहिनीहरुलाई हामीले वीरगञ्जमा बोलाएर पनि सेवा दिने गरेको छौ,’ उनले भनिन् ।

n3
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप