आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
जलहरी प्रकरण

संसदमा एमालेको हंगामा : के हो पशुपतिनाथ मन्दिरको सुनको जलहरी काण्ड ?

शुक्रबार, १२ जेठ २०८०, २० : २४
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफलमा भाग लिने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको थियो । 

सरकारको नीति तथा कार्यक्रममाथि गत जेठ ७ गतेदेखि संसदमा सांसदहरूले उठाएका प्रश्नका उत्तर दिने तयारीमा प्रधानमन्त्री रहेका थिए । 

बिहान ११ बजे बस्ने भनिएको बैठक कार्य व्यवस्था परामर्श समितिको बैठक लम्बिँदा १२ बजेपछि मात्र सुरु भएको थियो । 

प्रतिनिधि सभा बैठकको सुरुमै सम्पूर्ण एमाले सांसदहरू आफ्नो आसनबाट उठेर सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए । सभामुखले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएपछि उनले १ दिन अघिको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री छँदा केपी ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेको भनेर लगाएको आरोप तथ्यहीन र आधारहीन रहेको बताए । उनले त्यसबारेमा सरकारको जवाफ मात्रै मागेनन्, दाहालको सो अभिव्यक्ति संसद्को रेकर्डबाट पनि हटाउन माग गरे । संसद्को रेकर्डबाट नहटाएसम्म र सरकारले जवाफ नदिएसम्म संसद् बैठक अघि बढाउन नदिने उनले बताए । 

उनीपछि बोलेका एमाले सांसद एवं पूर्व सभामुख सुवास नेम्वाङले केपी ओलीमाथि सांसद दाहालको टिप्पणी गैरजिम्मेवार रहेको र पशुपतिको जलहरी पित्तलको भन्ने गम्भीर आरोप बोकेर संसदमा भाग लिन नसक्ने बताए । उनले सो अभिव्यक्ति सच्याउन माग गरे । 

सभामुखले बैठक सञ्चालनका लागि आग्रह गर्दागर्दै एमाले सांसदहरूले सभामुखको अगाडि पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरे । त्यसपछि सभामुखले २० मिनेटका लागि बैठक रोके । तर आज दिनभर पनि बैठक बस्न नसकेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको छ ।

जेठ १० गते बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको उल्लेख गरेका थिए । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपालको वैदेशिक ऋण ७ खरबबाट १७ खरब कसरी पुग्यो भन्दै प्रश्न गरेका थिए भने पशुपतिनाथको मन्दिरमा सुन भन्दै पित्तलको जलहरी लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । 

सो आरोपबाट आक्रोशित बनेको एमालेले बैठक अवरुद्ध गरेको हो । 

१० किलो सुन हिनामिना भएको के थियो पशुपतिनाथको सुनको जलहरी काण्ड ? 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा पशुपति नाथको मन्दिरको गर्भ गृहमा चाँदीको जलहरीको स्थानमा सुनको जलहरी लगाउने निर्णय गर्दै त्यसको कार्यान्वयन समेत गरेका थिए । 

पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला उनले सुनको जलहरी राख्न सरकारले ३० करोड दिने घोषणा गरेका थिए । 

२०७७ फागुन १२ गते राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको शिवलिङ्गमा ९६ किलोको सुनको जलहरी राखिएको थियो । 

त्यसअघि रहेको चाँदीको जलहरीलाई विस्थापित गर्दै सुनको जलहरी राख्ने विषयमा त्यो बेला निकै विवाद समेत भएको थियो । जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शन विपरीत भएको तर्कसहित विभिन्न पक्षहरूबाट विरोध पनि भएको थियो । पूर्व वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिव लिङ्गमुनि सुनको जलहरी राख्ने काम प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको भन्दै सर्वोच्चमा मुद्दा समेत दायर गरेका थिए । जलहरी राखिसकेपछि सर्वोच्चले तत्काल जलहरी नराख्न भन्दै अन्तरिम आदेश समेत दिएको थियो । 

महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी राख्दा करोडौँ रुपैयाँ बराबरको सुन हराएको आशङ्का गरेको थियो । सो ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ । २०७० सालमै पशुपति विकास कोषले राख्ने भनेको सुनको जलहरी विवाद भएपछि तत्काललाई रोकिएको थियो भने ओली प्रधानमन्त्री भएका बेला झन्डै १ अर्ब रुपैयाँमा १०८ किलो सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको थियो । ९६ किलोको जलहरी राखे पनि त्यसमा १२ किलो सुन थप्न बाँकी राखिएको थियो । 

१०८ किलो सुनको जलहरी राख्न ८० करोड रुपैयाँ खर्च लागेको कोषले बताए पनि महालेखाको प्रतिवेदनले भने करोडौँ रुपैयाँको सुन हराएको आशंका गरेको थियो । 

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा माओवादीका सांसद दाहाले अघिल्लो बैठकमा यसबारे कुरा उठाएका थिए । उनले ओली प्रधानमन्त्री भएका बेला सुनको भन्दै पित्तलको जलहरी राखेको आरोप लगाएपछि क्रुद्ध भएको एमालेले बैठक अवरुद्ध गरेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप