बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा पूर्व राजाको सम्बोधन : पछिल्ला दुई दशकमा कुरा धेरै काम थोरै भए

शनिबार, १३ जेठ २०८०, २१ : ००
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व भएको बताएका छन् । शनिवार कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यो दायित्वमा निरन्तर सङ्गठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति भएको बताए । पूर्व राजा शाहले मुलुकको राज्य व्यवस्थालाई जुन शब्दले सम्बोधन गरे पनि देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान गर्नु नै रहेको बताए ।

उनले भने- ‘लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिक वाद, भौतिकवाद आदि जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो । विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो ।’

पछिल्ला दुई दशकमा अभ्यास हुँदै आएको लोकतान्त्रिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै पूर्व राजा शाहले अहिले धेरै कुरा थोरै काम भएको बताए ।  देश दर्शनका क्रममा जनदृष्टिका आधारमा आफूले यही कुरा बुझेको बताउँदै उनले भनेका छन्- ‘दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था,शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ? हामी जहाँ जहाँ जान्छौ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ, आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो ।’
 
पूर्वराजा शाहले जनताले सोचेको र खोजेको जस्तो नहुँदा त्यस्तो पद्धति केही समयका लागि बिकाऊ मात्र हुने टिकाउ नहुने बताए ।  उनले भने- ‘नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरूले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन् । जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको बिकाऊ मात्र हुन्छ, टिकाउको हुँदैन ।’    

शाहले कसैको अगाडि लम्पसार परेर बाँच्नु अपमान भएको समेत बताएका छन् । उनले भनेका छन्, ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान– हाम्रो शान हो, आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो । त्यसैले कसैको अगाडी लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौँ – त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै यस्तै आवाज सुन्छौँ ।’ 

उनले अब कस्तो विधि र व्यवस्था अङ्गाल्ने भन्ने बेला आएको बताउँदै कसरी देशलाई फाइदा हुन्छ त्यसतर्फ सोच्नुपर्नेमा जोड दिएका छन् । 

पूर्व राजाले भनेका छन्- ‘त्यसैले अब कसरी जाने, के कस्तो विधि व्यवस्था अङ्गाल्ने र हाम्रो गौरव गरिमालाई पुन ताजा रूपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ । अब सोचौँ के गर्दा देशको राम्रो हुन्छ । अब सोचौँ के नगर्दा देशलाई फाइदा हुन्छ । राष्ट्रवाद फस्टाउनलाई राष्ट्र प्रेमको खाँचो चाहिन्छ । नेपालको पिर मर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ ।’ 

 

gyanendra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप