शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
नामकरण विवाद

कोशी प्रदेश : दलको बैठकका लागि एमालेका सांसदहरू बिहानै टिफिन लिएर प्रदेशसभा जाँदै

आइतबार, १४ जेठ २०८०, ०९ : १०
आइतबार, १४ जेठ २०८०

विराटनगर । पहिचान पक्षधरको आन्दोलनका कारण कोशी प्रदेशका सांसदहरू टिफिनकारीमा खाना बोकेर संसद् सचिवालय प्रवेश गर्न थालेका छन् ।

प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि तोकिएको छ । दिउँसो संसद् सचिवालयमा प्रवेश गर्न पहिचानवादीको आन्दोलनका कारण समस्या हुनसक्ने देखेर सांसदहरू बिहानै टिफिन बोकेर प्रदेशसभा आएका हुन् । प्रहरीले गरेको खबर अनुसार नै आफूहरू प्रदेशसभामा खाना लिएर छिर्न थालेको केही सांसदले बताएका छन् । 

नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा लगायतका प्रदेशसभा सदस्यहरू प्रवेश गरिसकेका छन् । एमालेले भने संसदीय दलको बैठक ८ बजेका लागि बोलाएको थियो । सबै सांसद आई नसकेको कारण बैठक सुरु नभएको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।

उता, कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १६ भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशसभा  घेराउ गर्ने उद्देश्यले उनीहरू विराटनगरको देवकोटा चोकमा जम्मा हुने क्रममा थिए । 

पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । १६ जना बढीलाई एलभी लेखिएको हेलमेट र टिसर्ट लगाएका समूहलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख दीपक पोखरेलले जानकारी दिए । 

गत पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप