बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई विज्ञले भने–भारत भ्रमणमा मेन्यु लिएर नजानुहोस्

आइतबार, १४ जेठ २०८०, १७ : ५५
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा नेपाल र भारतबीच ऊर्जासम्बन्धी भएका सम्झौताअनुसार कार्यान्वयन गराउन दबाब दिनुपर्ने सुझाव दिएका छन् ।  

आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले भारतले नेपालसँग ऊर्जासँग सम्बन्धित सम्झौताहरू गरिसकेपछि कार्यान्वयन गर्ने चरणमा थप व्यवधान झिक्ने गरेको भन्दै यसबारेमा राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने जोड दिएका हुन् ।   

भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक अवस्थाबारेमा समाधानका लागि पनि ध्यानाकर्षण गराउनुपर्ने बताए । नेपालले अहिले भोग्नुपरेका समस्याका बारेमा पनि छलफल गरी समाधान निकाल्न जरुरी रहेको उनले बताए । दुई पक्षीय व्यापार असन्तुलनका बारेमा पनि सम्बोधन गर्न जरुरी रहेको उनले बताए । भारत सरकारको असहमतिका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बन्न नसकेको भन्दै यस विषयमा पनि समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । 

यस्तै भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेशमान सिंहले भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रूपमा प्रयोग भइरहेको बताए । भारत भ्रमणमा परराष्ट्र मामिलामा नेपाली नेताहरू पनि एक छौँ भन्ने धारणा दर्साउन आवश्यक रहेको उनले बताए । बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै भारत भ्रमण बढी फलदायी हुने उनले बताए । नेपाल माग्ने देश जसरी लिस्ट लिएर जान नहुने उनले बताए ।  

यस्तै राजनीतिक समाजशास्त्रका प्राध्यापक उद्धव प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमण सद्भावना भ्रमण मात्रै भएको बताए । भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल र भारतको सम्बन्धको सन्दर्भमा छलफल गर्न आवश्यक रहेको उनले बताए । अहिलेसम्म दुई देशबीचको सहकार्यमा भइसकेका काम बाहेकका अन्य नयाँ योजनाहरुको बारेमा थप छलफल गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप