बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेथानचोक कप भलिबलको उपाधि खानीखोलालाई

सोमबार, १५ जेठ २०८०, १७ : २२
सोमबार, १५ जेठ २०८०

 काभ्रे । बेथानचोक कप पुरुष भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिकाले जितेको छ । बेथानचोक खेलकुद विकास समितिको आयोजनामा भएको चौथो बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिका भलिबल क्लबले जितेको हो ।

खानीखोलाले महाङ्काल खेलकुद विकास समितिको भलिबल क्लबलाई पराजित गर्दै उपाधि हात पारेको हो । सोमबार बेथानचोक गाउँपालिकाको वडा नम्बर–२ ढुंखर्कमा भएको फाइनल खेलमा खानीखोलाले महाङ्काललाई २५–१९, २५–२०, २५–२२ को सोझो सेटमा पाखा लगाएको थियो । जीतसँगै खानीखोलाले ६० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने ललितपुरको महाङ्काल क्लबले द्वितीय स्थान हाँसिल गर्दै ४० हजार रुपेयाँ  नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा काभ्रेको महाभारत गाउँपालिका टिम र पनौती नगरपालिका टिम तृतिय भएका छन् । तृतिय स्थान प्राप्त गर्ने दुवैै टिमले १५÷१५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट डिफेण्डर महांकाल क्लबका सुदिप सिंतान, उत्कृष्ट ब्लकर खानीखोलाका मनराज आलेमगर, उत्कृष्ट सेटर खानीखोलाका सुवास थोकर, उत्कृष्ट स्पाइकर महांकालका सुनिल विक र प्रतियोगिताका उत्कृष्ट खेलाडी खानीखोलाका सुमन थोकर घोषित भए । उनीहरुलाई ट्रफिसहित पुरस्कृत गरिएको थियो ।

गत जेठ १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको समापन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले खेलकुदमा मनोरञ्जन मात्र नभई यसले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्न सक्ने भएकोले स्थानीय स्तरमा खेलकुदका लगानी गर्न आवश्यक रहेको बताए ।

उनले कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्दै सक्षम र सबल समाज निर्माण गर्न खेल क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको पनि बताए ।

‘खेलकुद क्षेत्रको विकासले सामाजिक समृद्धिको आधारशिला तयार हुने भएकोले राज्यले खेलकुद विकासका लागि ठोस् नीति र दृष्टिकोण बनाएर अगाडि बढ्न आवश्यक रहेको र खेलकुदको माध्यमबाट राष्ट्र विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने क्षेत्रमा राज्य गम्भीर बन्नु पर्छ ,’ उनले भने । गाउँपालिकाले खेलकुद क्षेत्रको विकासको सम्वद्र्धन, प्रवर्द्धनका लागि खेलकुद पूर्वाधारको विकासमा जोड दिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप