शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
वेथिति

हसुलिया–बडैपुर सडकमा लापरबाही : हप्ता दिनमै कालोपत्रे उप्कियो

सोमबार, २२ जेठ २०८०, ०७ : २७
सोमबार, २२ जेठ २०८०

धनगढी । कैलालीको हसुलिया–बडैपुर सडक कालोपत्रे गरेको हप्ता दिनमै उप्किन थालेको छ । घर अगाडिको सडकमा कालोपत्रे हुँदा स्थानीयवासी हर्षित थिए । तर कालोपत्रे उप्किन थालेपछि चिन्तित बन्नुको साथै आक्रोशित समेत भएका छन् ।

सुर्मीनालाका खुशीराम चौधरीले भने, ‘पीच भएको धेरै दिन भएकै छैन । हातैले उप्किन थाल्यो । वर्षामा त झनै के हालत होला यो सडकको ?’

मुडा गाउँका स्थानीय सीताराम चौधरीले कालोपत्रे निकै पातलो रहेकोले कमजोर भएको बताए । निर्माण कम्पनीकै लोड गरिएको गाडी ब्याक गर्दा कालोपत्रे फुटेको बताउँदै उनले भइरहेको काम जनताको आँखामा छारो हाल्ने मात्रै भएकोमा आक्रोश पोखे ।

स्थानीयको वर्षौँ वर्षको प्रतीक्षापछि सो सडकको केही खण्डमा कालोपत्रेको काम हुँदैछ । तर भएको कालोपत्रे गुणस्तरहीन बन्न थालेपछि निकै दुःख लागेको स्थानीय युवा दिनेश चौधरी ‘संगम’ले दुखेसो पोखे । यसबारे स्थानीय पालिकामा खबर गरे पनि कुनै चासो नदिइएकोमा दुःख लागेको उनको भनाइ छ ।

१९ किलोमिटर रहेको हसुलिया–बडैपुर सडकको करिब पाँच किलोमिटर खण्डको अहिले कालोपत्रे भइरहेको छ । यो सडकको अधिकांश भाग जिल्लाको निर्वाचन क्षेत्र नं. ३ र केही भाग निर्वाचन क्षेत्र नं. ५ सँग जोडिएको छ । 

पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका र हुलाकी सडक अन्तरगत कैलारी गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नतिसहित कालोपत्रेको काम वर्षौँदेखि अलपत्र परेको थियो । स्थानीयको दबाबकाबीच कालोपत्रेको काम भइरहेको हो । तर भएको कालोपत्रे पनि गुणस्तरहीन बनेपछि स्थानीयलाई निराश बनाएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरले पाँच किलोमिटर सडकमध्ये ४.३७५ मिटर कालोपत्रेको लागि २०७७ असार ७ गते बीबीएस कन्स्ट्रक्सन र नौ सय मिटरको लागि मल्ल कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । बीबीएस कन्स्ट्रक्सनले गरेको कालोपत्रे उप्किन थालेको हो ।

सडक डिभिजन साइड कार्यालय धनगढीका प्रमुख गणेश बुढाले सो सडकमा कालोपत्रेको प्रि मिक्सको साइज दुई सेन्टिमिटर रहेको बताए । आफूहरु कहाँ पनि कालोपत्रेको गुणस्तर नपुगेको भनेर गुनासो आएको बताउँदै उनले सडकको कोर कटिङ गरी गुणस्तर मापन कार्य गर्न बाँकी रहेको बताए । निर्माण कम्पनीले नम्सअनुसार कालोपत्रे गरेको बताए पनि परीक्षणमा साँचिक्कै गुणस्तर नपुगेको भेटिए पुनः सुधार गर्न लगाउने उनको भनाई छ ।

बुढाले भने, ‘सडकको कोर कटिङपछि थिक्नेस नपुगेको अवस्थामा सुधार गर्न लगाउँछौ । नभए बिल पास हुँदैन ।’

कुन खण्डको ठेक्का रकम कति ?

हसुलियादेखि उत्तरतर्फ ठेक्का नं. ६४ (२०७६/०७७) अन्तरगत १३०० मिटर सडक कालोपत्रेको लागि १ करोड २४ हजार १४४ रुपैयाँ (भ्याटसहित) ठेक्का रकम रहेको छ । 

ठेक्का नं. ६५ (२०७६/०७७) अन्तरगत १२०० मिटर कालोपत्रेको लागि १ करोड २ लाख ४३ हजार ३८४ ठेक्का रकम रहेको छ । 

ठेक्का नं. ६६ (२०७६/०७७) अन्तरगत १००० मिटर कालोपत्रेको लागि १ करोड १ लाख २१ हजार १५६ ठेक्का रकम रहेको छ । 

ठेक्का नं. ६७ (२०७६/०७७) अन्तरगत ८७५ मिटर कालोपत्रेको लागि १ करोड ७ लाख ९ हजार ८८९ ठेक्का रकम रहेको छ । ठेक्का नं. ६४ देखि ६७ सम्मको कालोपत्रेको लागि बीबीएस कन्स्ट्रक्सनले ठेक्का पाएको हो । 

त्यस्तै, ठेक्का नं. ६८ (२०७६/०७७) अन्तरगतको ९०० मिटर कालोपत्रेको लागि १ करोड १३ लाख ६३ हजार ९५९ ठेक्का रकम रहेको छ । 

बीबीएस कन्स्ट्रक्सनको ठेक्का म्याद २०८० असार २५ सम्म रहेको छ भने मल्लको २०७९ चैत्र मसान्तसम्म मात्रै रहेको थियो ।

पूर्व–पश्चिम राजमार्गदेखि कैलारी गाउँपालिकाको लौसासम्मको ३ किलोमिटर सडक कालोपत्र गरिएको छ । बाँकी १६ किलोमिटर सडकमा त ग्राब्रेलसमेत हराएको छ । यसले वर्षामा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप