शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

आईजीपी कुँवरले फरार आरोपी सानु भण्डारीलाई भेटेका हुन् ?

सरकारी वकिलको बहस–एयरपोर्टबाट सुनको लाइन दिने कुरा भएको छ
सोमबार, २२ जेठ २०८०, १९ : ४४
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको इजलासमा तत्कालीन एसएसपी वसन्त कुँवर (हाल आईजीपी)ले सानु भण्डारीलाई भेटेको बारेमा प्रश्न उठेको छ ।

थुनछेक बहसका क्रममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता महेश खत्रीले केशव दुलाल र सचिव टेकनारायण पाण्डेको बीचमा भएको ‘म्यासेज’बारे कुरा उठाएका हुन् ।

गिरोहका सदस्य केशव प्रसाद दुलाल र सचिव पाण्डेको बीचमा डरलाग्दो कुराकानी भएको उल्लेख गर्दै खत्रीले भने, ‘एसएसपी कुँवरसँग सानु भण्डारीलाई भेट्न पठाउने कुरा भएको छ ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन एसएसपी वसन्त कुँवर अहिले प्रहरी महानिरीक्षक छन् । अनुसन्धानको क्रममा भेटिएको ह्वाट्स एप च्याटमा भएको विवरण अनुसार सचिव पाण्डेले केशव दुलाललाई वसन्त कुँवरको नम्बर पठाएर भनेका छन्, ‘वसन्त सा’पलाई फोन गरेर सानुजीलाई भेट्न भन्नु, कुरा भएको छ ।’

शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भैसकेका सानु भण्डारीसँग भेटेर कुँवरले कुरा गरेपछि सो जानकारी दुलाल मार्फत सचिवलाई गराएको ‘म्यासेज’बाट खुलेको छ । गिरोहका सदस्यहरु र कुँवरको बीचमा प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएपछि पनि भेट भएको च्याटको विवरणमा देखिन्छ ।

शरणार्थी शिविर व्यवस्थापन समिति, दमकका तत्कालीन प्रमुख (नासु) सुरेन्द्रराज दाहाललाई आफूले भनेअनुसार गर्न सानु भण्डारीले थर्काएको जिल्ला न्यायाधिवक्ता खत्रीले बताए ।

तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र दुलालको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको लाइन ‘लेनदेन’को कुरा पनि भएको जिल्ला न्यायाधिवक्ताले इजलासमा सुनाए ।

‘एयरपोर्टबाट गोल्डको लाइन दिन सकिन्छ भनेर दुलालले पाण्डेलाई सोधेका छन्,’ खत्रीले भने, ‘सुनको लाइन बिग प्रोजेक्टका लागि भनिएको छ ।’

‘बिग प्रोजेक्ट’को लागि सुनको लाइन दिने प्रसंगमा दुलाललाई सचिवले उत्तर फर्काएका छन्– ‘पछि ।’

गिरोहका सदस्य र सचिवको बीचमा कोरियामा कामदार पठाउन तत्कालीन गृहमन्त्री बालकृष्ण खाणमार्फत श्रममन्त्रीसँग कुरा भएको भेटिएको छ । इजलासमा खत्रीले भने, ‘टेकनारायण पाण्डेले पटक–पटक बालकृष्ण खाणसँग कुरा गरेर ती कुरा गिरोहका सदस्यलाई जानकारी गराउने गरेको भेटिएको छ ।’

शरणार्थी प्रकरणमा दोस्रो दिन सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु जनक घिमिरे र दिनेश भट्टराईले आफ्नो बहस पूरा गरेका छन् ।

मंगलबार सरकारी वकिल र जाहेरवाला तर्फका कानुन व्यवसायीको तर्फबाट बहस पूरा गर्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले समय तोकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप