शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
संकटमा एमाले सरकार

कोशी सरकारबाट बाहिरिने माओवादीको निर्णय

मङ्गलबार, २३ जेठ २०८०, १७ : ३९
मङ्गलबार, २३ जेठ २०८०

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिने निर्णय गरेको छ । पार्टी प्रदेश कमिटी पदाधिकारीको आज बिहान बसेको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टीले गरेको निर्णयलाई संसदीय दलले अनुमोदन गरेपछि माओवादी केन्द्र सरकारबाट फिर्ता भई समर्थन पनि फिर्ता लिने पार्टी प्रदेश कमिटीका सचिव गणेश उप्रेतीले जानकारी दिए ।

गत पुस २४ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नेतृत्वमा गठन भएको सरकारमा माओवादी केन्द्रबाट २ जना मन्त्री छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा दुर्गाप्रसाद चापागाईं र वन, पर्यटन तथा वातावरण मन्त्रालयमा जीवन आचार्य मन्त्री छन् । दुवै मन्त्री गत माघ ६ गते नियुक्त भएका छन् । उनीहरुले आजै राजीनामा बुझाउने बताएका छन् । 

माओवादी केन्द्र सरकारबाट फिर्ता भएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेशसभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा माओवादी फिर्ता भएपछि एमालेका ४० र राप्रपाका ६ गरी सरकारको समर्थनमा ४६ सांसद मात्र रहेका छन् । माओवादी केन्द्रले अर्को सरकार गठनका लागि मुख्यमन्त्रीमा आफ्नै दलका नेता इन्द्रबहादुर आङ्बोलाई अगाडि सार्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप