शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेड पाण्डाको अनुसन्धान गर्न ताप्लेजुङमा हाब्रे सेन्टर

मङ्गलबार, २३ जेठ २०८०, १५ : ४३
मङ्गलबार, २३ जेठ २०८०

ताप्लेजुङ । प्रत्यक्षरूपमा रातो हाब्रे (रेड पाण्डा) को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि यहाँ एक अनुसन्धान केन्द्र खोलिएको छ । 

रेडपाण्डाका लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । यहाँको धेरै स्थानमा रेड पाण्डा पाइन्छ रेडपाण्डा नेटवर्कको प्राविधिक तथा आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको सहजीकरणमा रेड पाण्डा संरक्षण कार्यक्रम हुँदै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताए ।  

रेड पाण्डा दसदेखि २५ डिग्री सेल्सियस तापक्रम र वाषिर्करूपमा कमै मात्र तापक्रम घटबढ हुने १८०० देखि ४८०० मिटर उचाइका क्षेत्रमा पाइने गर्छ । यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गलमा पाइन्छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन)ले रेड पाण्डालाई सन् १९९६ देखि सङ्टापन्न जीवको सूचीमा राखेको छ । प्राकृतिक वासस्थानको निरन्तर विनाश, निगालो र बाँसजन्य जङ्गलको अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरी (शिकारी), डढेलोलगायत कारणले हाब्रेको सङ्ख्या दिनदिनै घटिरहेको छ । 

नेपाल सरकारको पछिल्लो सर्वेक्षणले रेडपाण्डा २३ जिल्लामा पाइने उल्लेख गरेको छ । 

हाब्रे सेन्टर

जिल्लामा अहिले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा यस दुर्लभ वन्यजन्तुबारे अध्ययन तथा अनुसन्धानका लागि जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले उक्त केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । उनका अनुसार केन्द्र स्थापनाका लागि रु एक करोड ५७ लाख खर्च भएको छ  ।

संरचना निर्माणका लागि वातावरणमैत्री कच्चापदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग गरिएको छ ।  गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रा मुछेर भवन निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ । उक्त केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताए । 

स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवा प्रवर्द्धन, सदुपयोगसहित पर्यटन प्रवर्द्धन गरी उपभोक्ता समूहको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको उनको भनाइ थियो । दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीको प्रदर्शनीस्थलका रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप