बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भकुण्डेबेसी पुगेर विद्यार्थीमाझ प्रस्तुत हुँदै बुद्धि र मुकुन

बुधबार, २४ जेठ २०८०, ११ : ०७
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । अभिनेताद्धय बुद्धि तामाङ र मुकुन भुसालले काभ्रेको भकुण्डेबेसी पुगेर विद्यार्थीसँग भलाकुसारी गर्ने भएका छन् । बिहीबारबाट नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा आयोजना हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को अन्तिम दिन शनिवार यी दुई अभिनेता त्यहाँका विद्यार्थीमाझ प्रस्तुत हुने भएका हुन् ।

कार्यक्रममा ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयक सेसन हुनेछ । जसमा मुकुन र बुद्धि वक्ताको रूपमा रहेका छन् । आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार दुई अभिनेताले विद्यार्थीहरूसँग केही समय अन्तरक्रिया गर्नेछन् । चलचित्रलाई लिएर विद्यार्थीको नजर कस्तो छ ? अभिनेताद्धयले बुझ्ने प्रयास गर्नेछन् ।

महोत्सवमा शनिवार नै  लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दिया पुन र अस्कर कलेजका प्रिन्सिपल तथा निर्देशक रामराजा दाहालको ‘मास्टर क्लास’ समेत सञ्चालन गर्नेछन् ।

‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी छन् ।

महोत्सवमा ‘झिंगेदाउ’, ‘प्रकाश’, ‘डेसान’ सँगै तामाङ र गुरुङ फिल्महरू प्रदर्शन गरिनेछ । साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को प्रिमियर समेत महोत्सवमा हुनेछ ।

काठमाडौँबाट दुई दर्जन बढी फिल्मकर्मीहरू महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुग्नेछन् । चलचित्र विकास बोर्डसँगको सहकार्यमा यो महोत्सव हुन लागेको हो । महोत्सवको पहिलो संस्करण गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा गरिएको थियो । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु लगायतको उद्धेश्य राखेर महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप