शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट पहुँचवाला व्यक्तिको जिल्लामा केन्द्रित भयो : सचिव बिष्ट

आइतबार, २८ जेठ २०८०, १५ : ४१
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरुको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन् ।  उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने जस्तै रहेको टिप्पणी गरेका हुन् ।   

आइतबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सचिव बिष्टले संसदमा प्रस्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताए । उनले बजेट औपचारिकतामा मात्रै सिमित भएको बताए । उनले आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको बताए ।    

सचिव बिष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको बताए ।   उनले बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतीलाई सम्बोधन गर्न नसक्ने भन्दै अर्थतन्त्रले गति लिन नसक्ने दाबी गरे । उनले अर्थमन्त्री डा.प्रकाशशरण महतको जिल्ला नुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको  बताए । उनले विधि मापदण्ड, विवेक र न्यायका आधारमा बजेटको सही रुपमा विनियोजन हुन नसकेको बताए ।   

सचिव बिष्टले न्याय स्थापित गर्नेगरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहुँच भएका जिल्ला मात्रै बजेट जाने बताए । उनले सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आश गर्ने भन्दै प्रश्न गरे ।   

सचिव विष्टले बजेटलाई सरकारले परिमार्जन गर्नुपर्ने बताए । उनले बजेट निर्माणमा कहाँ चुक्यौँ भनेर सरकारले समीक्षा गर्नुपर्ने बताए । उनले राज्यको भूमिका झनै कमजोर बनिरहेको भन्दै सरकारले मुलुकको विशेषतामा आधारित अर्थनीति अपनाउनु पर्ने अवस्था आएको बताए ।  

सचिव विष्टले दैनिक जीवनमा सर्वसाधरण जनताले प्रयोग गर्ने आलु, प्याजलगायतका कृषिजन्य वस्तुमा १३ प्रतिशत कर लगाउँदा बजारमा मूल्यवृद्धि भएको बताए । उनले सरकारले आन्तरिक उत्पादनलाई बढवा दिने भनेपनि बजारमा मूल्य जनताको पहुँच भन्दा माथि पुगेको बताए ।  उनले सामान्य अवस्थामा रहेक जनतालाई आलु,प्याज लगायत कृषिजन्य वस्तुमा लगाएको करले चुनौति पैदा गरेको बताए ।   

सचिव बिष्टले आगामी आर्थिक वर्षमा ११ प्रतिशतसम्म मूल्यवृद्धि पुग्ने संकेत गरेको उल्लेख गरे । उनले वर्तमान सरकार न्युन आय भएका गरिब जनताप्रति संवेदनशील नभएको आरोप लगाए ।   उनले  सरकारले जनताको संरक्षण र सामाजिक न्यायको भूमिका निर्वाह गर्नुपर्ने भएपनि भोजन मागेका जनतालाई सरकारले महँगी दिएको बताए । उनले वर्तमान गठबन्धन सरकारले ल्याएको बजेट गरिबका लागि नरहेको दाबी गरे । उनले वर्तमान सरकारले ल्याएको बजेटले गरिबी जनतामा असमानता बढाएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप