आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
देउवा–कोइरालाको निकटता

८ वर्षपछि कोइरालाप्रति देउवाको ‘यूटर्न’ !

२५ औँ वरीयताका शेखरलाई ‘नेता’को हैसियत
आइतबार, २८ जेठ २०८०, १८ : ०८
आइतबार, २८ जेठ २०८०

काठमाडौँ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीचको निकटता अहिले चर्चामा छ । देउवाले लामो समयदेखि कोइरालाको अस्तित्व अस्वीकार गरेको देखिएपनि अहिले उनीहरुको ट्युनिङ मिलेको देखिन्छ ।जबकि देउवा कांग्रेसको सभापतिमा आएदेखि आफूमाथि निरन्तर अपमान गरिएको कोइरालाको बुझाइ थियो ।

२०७२ फागुनमा देउवा कांग्रेसको सभापति निर्वाचित भएपछि कांग्रेसको आन्तरिक राजनीतिमा कोइराला कर्नरमा पारिएका थिए । २०७३ चैत १३ मा गठित २९ सदस्यीय कार्यसम्पादन समितिमा कोइराला अटाएनन् । उनीमाथि तत्कालीन सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैले घात गरेको चर्चा थियो ।

१३ औँ महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्य जितेका थिए कोइराला । २९ सदस्यीय कार्यसम्पादन समितिमा देउवादेखि मानबहादुर विकसम्म अटाउँदा ३७ नम्बर बरीयतामा रहेका उनी छुटे ।

आफूलाई कार्यकर्ताले सबैभन्दा धेरै मत दिएको सजाय कार्य सम्पादन समितिमा नराखेर दिइएको त्यसबेला कोइरालाको गुनासो थियो । 

शेखर कोइरालाकै टीमबाट महामन्त्री जितेका गगन थापाले देउवाबाट अब पार्टी नचल्ने निष्कर्ष निकाल्दा कोइराला भने मौन छन् । अहिले कोइरालाको ट्युनिङ थापा भन्दा देउवासँग मिलेको छ । 

१४ औँ महाधिवेशनमा उनै कोइराला देउवाको मुख्य प्रतिस्पर्धी बने । देउवालाई सभापतिमा दोहोरिन रोक्न त सकेनन् ।तर, तीन जना प्रत्याशीलाई उछिनेर करिब ४० प्रतिशत मत कोइरालाले प्राप्त गरेका थिए ।

प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई समर्थन गर्दा पनि कोइरालाले ४० प्रतिशत मत कटाएका थिए । तर,कांग्रेसमा उनको वरीयता ३७ बाट २६ मा मात्र आइपुग्यो ।

त्यसपछि देउवाको दोस्रो कार्यकालको पहिलो केन्द्रीय समिति बैठक कोइरालाले बहिष्कार गरिदिए । सभापति देउवालाई महाधिवेशनमा प्रतिस्पर्धाको मैदान छाडिदिएका रामचन्द्र पौडेललाई पार्टीमा ‘नेता’ हैसियत दिए।

पौडेललाई दोस्रो वरीयता दिएकोमा कोइराला समूहको आपत्ति थिएन । तर, पार्टीमा तेस्रो बरीयतासहित नेताको हैसियत कोइरालालाई पनि दिनुपर्ने आवाज उनी पक्षीय नेताको थियो ।

वरियता निर्धारणमा हाबी भएका उपसभापति पूर्णबहादुर खड्काले कोइरालालाई पूर्वपदाधिकारीमुनि राखे । पौडेल राष्ट्रपति बनेपछि उनलाई दिइएको ‘नेता’को हैसियतमा कोइरालालाई दिन खोजिएको संकेत देखिन्छ ।  ‘नेता’को हैसियत पाए कोइराला दोस्रो बरीयतामा उक्लिने छन् । 

कांग्रेसमा महाधिवेशनबाट निर्वाचित पदाधिकारी र पूर्व पदाधिकारीहरूभन्दा ‘नेता’लाई माथि राख्ने अभ्यास छ । महाधिवेशनबाट निर्वाचित सभापतिका निकटतम प्रतिद्वन्द्वीलाई वरिष्ठ नेताको हैसियत दिने प्रचलन भएपनि उक्त ‘नेता’ पद पार्टीको विधानमा भने व्यवस्था छैन ।

तर देउवाले कोइरालालाई ‘नेता’को हैसियत दिएनन्, उनलाई पूर्वपदाधिकारीहरूभन्दा पनि तल राखिएको छ। यद्यपि उक्त हैसियतमा उक्लिन नेता गोपालमान श्रेष्ठको पनि जोडबल छ । उनी पदाधिकारीहरू पछिका केन्द्रीय सदस्यमा पहिलो नम्बरमा छन्।

कांग्रेस प्रजातान्त्रिक छँदा सभापति देउवालाई शाहीकालमा गिरफ्तार गरिएका बेला श्रेष्ठ कार्यवाहक सभापति थिए। कांग्रेसभित्र उनी आफूलाई देउवा र रामचन्द्र पौडेलको वयको नेता ठान्छन् । कांग्रेसमा सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीपछि १४ नम्बरमा श्रेष्ठको वरीयता छ । श्रेष्ठपछि पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला छन्।

यस्तै, पूर्वपदाधिकारीहरू चित्रलेखा यादव, रामशरण महत, अर्जुन नरसिंह केसी, प्रकाशशरण महत र सुनिल थापा छन् । शेखर कोइरालालाई उनीहरूभन्दा पछि राखिएको छ।

अहिले स्वाभाविक हकदारमा स्वतः शेखर कोइराला देखिन्छन् तर उनलाई अहिले नै ल्याउँदा आफ्नै खेमाभित्र असन्तुष्टि थपिने जोखिम पनि हुनसक्छ । तर, सार्वजनिक मञ्चमा भने देउवाले कोइरालालाई पार्टीको वरिष्ठ नेताका रुपमा स्वीकारको देखिन्छ । यसअघि आफ्नो समूहका कार्यक्रमहरुमा मात्र कोइरालाले नेताको आसन पाउँथे ।

उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, पूर्व सहमहामन्त्रीद्वय केसी र महतले कोइरालालाई नेता स्वीकारेका थिए ।

उनीहरुले पार्टीको बरियतालाई बेवास्ता गरेर आफूभन्दा अगाडि आसन र पछाडि भाषणको अवसर दिएको पाइन्थ्यो ।शुक्रबार र शनिबार भने कोइरालाको स्वीकार्यता फराकिलो बनेको छ । सभापति देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा कोइरालाले विशिष्ट अतिथिका रुपमा आसन र भाषण गरेका छन् ।

चितवनमा शुक्रबार डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशनको उद्घाटनमा देउवा र कोइरालाले मञ्च शेयर गरेका थिए । कांग्रेस नेताहरुका अनुसार महाधिवेशन भएको करिब १९ महिनामा देउवाभन्दा पछि कोइराला स्थान पाएका छन् । एकै जहाजमा भरतपुर पुगेका देउवा र कोइराला शनिबार पनि एउटै मञ्चमा देखिए ।

नेपाली कांग्रेसको भक्तपुर जिल्ला सम्मेलनमा पनि प्रमुख अतिथि देउवा रहँदा कोइराला विशिष्ट अतिथि बने । सह–महामन्त्री बन्द्री पाण्डेभन्दा अगाडि शनिबार पनि कोइरालाकोे आसन रह्यो । देउवाले कोइरालालाई विश्वासमा लिएर अगाडि बढ्ने संकेत भने आम चुनावताकै देखाएका थिए । 

महाधिवेशनको एक वर्षपछि कार्यालय सानेपामा छुट्टै कार्यकक्ष तोकिदिएका देउवाले आन्तरिक भागबण्डा पनि कोइरालासँग डिल गर्दै आएको देखिन्छ ।देउवा निवास धुम्बाराहीमा अहिले कोइरालाको आउजाउपनि बाक्लिन थालेको छ । 

केन्द्रीय कार्यसमिति बैठक बस्ने हलसँगै कोइरालाको कार्यकक्ष रहेको छ । कांग्रेस सभापतिमा पराजित नेतालाई केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गर्ने परम्परा थियो । २०४८ मा भएको आठौं महाधिवेशनपछि सभापति कृष्णप्रसाद भट्टराईले शीर्ष नेताका लागि छुट्टाछुट्टै कार्यकक्षको व्यवस्था गरेका थिए ।

२०५७ मा१० औँ महाधिवेशन हुँदा सभापतिमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाकबीच प्रतिस्पर्धा भएको थियो । सभापतिमा पराजित देउवालाई केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था गरिएको थियो । सभापतिमा पराजित नेतालाई केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्षको व्यवस्था १४ औँ महाधिवेशनसम्म कायमै थियो ।

तर, १४ औँ महाधिवेशनपछि सुरुमा कोइरालाका लागि छुट्टै कोठाको व्यवस्था थिएन । संसदीय दलको निर्वाचनले देउवा र कोइरालाबीच घनिष्ठता बढेको कांग्रेस वृत्तमा चर्चा छ । संसदीय दलमा महामन्त्री थापाको प्रस्तावक बसेका कोइरालाको भित्री साथभने देउवालाई रहेको आरोप थियो ।

महामन्त्री थापाले आफ्नै समूहको सबै सांसदको मत नपाएपछि कोइरालामाथि लागेको आरोपलाई बल पुग्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतदिने विषयमा देउवा–कोइराला दुवैको मत मिल्यो । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पाँच सांसदले विश्वासको मत दिन नहुने अडान राख्दा कोइराला देउवाकै लाइनमा उभिए ।विश्वासको मत दिनु गलत रहेको भनी आएको समाचारको खण्डन हुने गरी सभापति सहितको छलफलमा उनले राय राखेका थिए । 

प्रचण्ड सरकारमा कांग्रेस ९ मन्त्रीसहित सहभागी हुँदा कोइरालाको कोटाबाट ३ जना मन्त्री बनाइयो । पछिल्लो समय देउवाले शीर्ष तहको छलफलमा कोइरालाको सहभागिता अनिवार्य जस्तै गराएका छन् । कोइरालाले पनि देउवाको कार्यशैलीमाथि कडा टिप्पणी गर्न छाडेका छन् । 

उदाहरणको रूपमा देउवाले ९ महिनासम्म केन्द्रीय समिति बैठक नबोलाउँदा पनि कोइरालाले दबाब दिएको पाइँदैन । उनकै टीमबाट महामन्त्री जितेका थापाले देउवाबाट अब पार्टी नचल्ने निष्कर्ष निकाल्दा कोइराला भने मौन छन् । अहिले कोइरालाको ट्युनिङ थापा भन्दा देउवासँग मिलेको छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले देउवा र कोइराला मिल्ने कुरा पार्टीका लागि राम्रो भएको बताए । ‘व्यक्तिगत रूपमा झगडा गर्नु केही कारण छैन । तर, पार्टी जनतामाझ लोकप्रिय हुँदैछ कि अलोकप्रिय भन्ने दृष्टिकोणमा शेरबहादुरजीको दृष्टिकोणमा शेखर कोइराला सहमत छन् भन्ने मलाई लाग्दैन,’ उनले भने ।

आचार्यका अनुसार महाधिवेशनबाट जितेर आएको सभापतिसँग असहमतिका कुरा गर्दै मिल्ने कुरामा मिलेर पनि जाने हो । देउवाको कार्यशैलीवरुद्ध कोइराला आफैले प्रश्न नउठाएपनि उनीनिकट नेताहरुले प्रश्न उठाउनुलाई आचार्य रणनीति भएको बताउँछन् । तर, देउवालाई विधान र विधिसम्मत पार्टी सञ्चालन गराउन बाध्य पार्न कोइराला खरो रूपमा उत्रिन नसकेको भने आचार्यले बताए । 

‘महाधिवेशन भएको एक वर्ष मात्र भएको छ । संयमता अपनाउनु भएको हो कि ?,’ उनले भने, ‘तर, जनता र कार्यकर्ताको जुन अपेक्षा छ, त्यो लेबलबाट दबाब सिर्जना गर्न अहिलेसम्म सक्नु भएको छैन ।’

यसका पछाडि १५ औँ महाधिवेशनमा देउवाको साथको आश पनि जोडिएको उनको बुझाइ छ ।

‘भोलि सभापतिमा जो उठेपनि शेरबहादुरको समर्थन खोज्न सक्छन् । त्यसका लागि कम्तीमा लागि तीन वर्ष कुर्नुपर्छ । पार्टीमा देउवाको समर्थन खोज्दा खोज्दै जनविश्वास गुम्न सक्छ,’ उनी भन्छन्, ‘तर, पार्टीमा शेरबहादुरजीको समर्थन खोज्ने प्रयास अहिले नै थालेको कुरालाई इन्कार गर्न पनि सकिँदैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप