सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
खडेरी

‘खडेरीले खेती खायो, हामीले के खाने ?’

सोमबार, २९ जेठ २०८०, २० : ३८
सोमबार, २९ जेठ २०८०

दाङ । घोराही उपमहानगरपालिका–१२ तुलसीजंगका किसान बुद्धिराम खनालको १० कट्ठा बारीको बर्खे मकै खडेरीले पुरै खाएर कक्रक्क सुकेको छ । 

तुलसीजंग हापुरको मकै खेती धेरै हुने गाउँ हो । खडेरीले बारीको मकै खाँदा अनि खेतमा ब्याड राख्न नपाउँदा यस वर्ष अन्नपात बेसाह गरी खानुुपर्ने बाध्यता पर्छ कि भन्ने चिन्तामा परेको खनालले सुनाए । 

उनले भने,‘बारीमा मकै छैन, खडेरीले खायो । खेतमा ब्याड राख्न पानी छैन । बेसाह गरम धनपैसा छैन, खडेरीले किसानलाई भोकै मार्ने भयो । यो वर्ष के खाने हो ?’ 

जेठमा अन्तिम साता दाङमा मकै गोडमेल गर्ने र धान रोपाइँका लागि ब्याड राख्ने उचित समय हो । तर, पछिल्लो एक सातादेखि बढ्दै गइरहेको खडेरीका कारण किसानहरु टाउकोमा हात राख्दै बस्नु परेको सोही गाउँकी अर्की किसान रिता भट्टराईले पीडा पोखिन् । 

खडेरीका कारण कतै उम्रिएको मकैवाली सुकिसकेका छन् भने कतै रोपेको मकै समेत उम्रिन सकेको छैन । मकै खेतीको लागि उपयुक्त समयसमेत गुज्रिसकेको छ । 

khaderi

खडेरीले खेती भएन

दाङमा कुलखेतीयोग्य जमिन ६५ हजार ९८० हेक्टर जमिनमध्ये बर्खेवाली मकै खेती १७ हजार ८५० हेक्टर र धान करिब ३६ हजार हेक्टरमा हुँदै आएको छ । 

तर, यस वर्ष असार सुरु हुँदासम्म पनि करिब ३० प्रतिशतमा मात्रै मकै खेती भएको छ । त्यो पनि खडेरीका कारण सुकिसकेको छ । खडेरीका कारण मकै सुकेको र धान रोपाइँमा ढिलाइ भइरहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए । 

यस वर्ष दाङमा मकै र धानवालीको उत्पादनमा भारी गिरावट आउने सम्भावना रहेकाले  किसानले यस वर्ष अन्य पानी कम लाग्ने वालीको छनौट गरी खेती गर्न लामिछाने सुझाउँछन् । 

दाङको कुल खेतीयोग्य जमिन ६५ हजार ९८० हेक्टरमध्ये १९ हजार ६८७ हेक्टर क्षेत्रफलमा वाह्रैमास सिँचाइ सुविधा पुगेको छ भने ३९ हजार १८० हेक्टरमा आंशिक सिँचाइ हुँदै आइरहेको छ । त्यस्तै, ७ हजार ११३ हेक्टरमा आकाशे पानीको भरमा खेती हुँदै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप