मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
गेटा मेडिकल कलेज

अझै रोकिएन गेटा आन्दोलन, प्रदेश प्रमुखको कार्यालय अगाडि कालोपट्टी बाँधेर धर्ना

मङ्गलबार, ३० जेठ २०८०, १६ : २३
मङ्गलबार, ३० जेठ २०८०

धनगढी । सरकारले बजेटसहित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रतिबद्धता जाहेर गरे पनि आन्दोलन अझै साम्य हुन सकेको छैन । आन्दोलनकारीहरुले सरकारको प्रतिवद्धतामाथि विश्वास गर्न नसक्दा आन्दोलन नरोकिएको हो ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेले भने, ‘सरकारको पछिल्लो रवैयाले हामीलाई सशंकित बनाएको छ । हाम्रो आन्दोलन तबसम्म जारी रहन्छ, जबसम्म विश्वविद्यालय सम्बन्धी विधेयक चालु संसदमा ल्याइँदैन ।’

उनले सरकारको प्रतिबद्धता कार्यान्वयन गर्न पर्याप्त बजेटसहित कम्तीमा ३ सय शय्याको अस्पताल बनाउनुपर्ने बताए । कार्यसञ्चालन नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा सञ्चालन गर्न खोजिएको भन्दै केही समयदेखि आन्दोलन हुँदै आएको छ । आन्दोलनकारीहरुले गेटालाई मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै आएका छन् ।

आन्दोलन चर्किएपछि संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद् बैठकमा बोल्दै बजेटसहित विश्वविद्यालय बन्ने सुनिश्चित रहेको बताएका थिए । बैठकमा अर्थमन्त्री महतले भने, ‘कैलालीको गेटामा प्रतिष्ठान भएर आयो भन्ने कुरामा धेरै ठुलो चासो र चिन्ता भयो सुदूरपश्चिमको साथीहरुको । यो हाम्रो कुनै मनसाय होइन । जे नाम दिए पनि हुनुपर्छ । एक अर्ब १५ करोड बजेट सुनिश्चित गरिएको छ । त्यसलाई फुलफङ्सनिङ एउटा विश्वविद्यालयको रुपमा अगाडि बढोस् भन्ने हामी चाहान्छौं ।’

तर विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आफ्नो आन्दोलनको कार्यक्रम जारी राखेको छ । मंगलबार आन्दोलनकारीहरुले सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडि मुख र आँखामा कालोपट्टी बाँधेर धर्ना दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि विश्वविद्यालय बनाउने प्रतिबद्धता दोहो¥याएका छन् । सरकारले गत माघ २९ गते गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

यसअघि कैलालीको अत्तरिया बजार बन्द, सुदूरपश्चिममा आमहड्ताल, प्रदेशसभा प्रवेशमा सांसदलाई अवरोधलगायत विभिन्न विरोधको कार्यक्रम संघर्ष समितिले गर्दै आएको छ ।

सरकारले जेठ ५ गते ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि गेटामा विश्वविद्यालय सञ्चालनका लागि ऐन तर्जुमा गर्ने र विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख थियो । तर, जेठ १५ मा ल्याइएको बजेटमा गेटामा एक सय शय्याको अस्पताल र प्रतिष्ठान चलाउने कुरा आएपछि सुदूरपश्चिममा आन्दोलन थालिएको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप