सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

मधेसमा एमालेको युटर्न : किन दियो मुख्यमन्त्रीलाई विश्वासको मत ?

मङ्गलबार, ३० जेठ २०८०, २१ : २०
मङ्गलबार, ३० जेठ २०८०

जनकपुरधाम । मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर मुख्यमन्त्रीलाई दोस्रो पटक विश्वासको मत लिन बाध्य बनाएको नेकपा एमालेले सरकारलाई फेरि समर्थन गरेको छ । नेकपा एमालेले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री सरोजकुमार यादवलाई फेरि विश्वासको मत दिएको हो ।

यसअघि केन्द्रमा नेकपा एमालेसहितको दलहरू मिलेर बनेको गठबन्धन भत्किएसँगै एमालेले मधेस प्रदेश सरकारबाट पनि बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । चार मन्त्रीसहित प्रदेश सरकारमा सहभागी एमाले गत चैत्र २१ गते राजीनामा दिएर सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएको एमालेले झन्डै दुई महिनापछि जेठ १ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।

सरकार छोडिसकेपछि प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न त्यतिबेला समर्थन फिर्ता लिए पनि सरकारलाई मजबुत बनाउन र स्थायित्व दिन फेरि विश्वासको मत दिएको नेकपा एमाले मधेस प्रदेश दलका नेता सरोजकुमार यादवले बताए । समर्थन फिर्ता नलिएसम्म प्रतिपक्षको कुर्सीमा बस्न पाइँदैन भन्ने सत्तापक्षको भनाइपछि सदनलाई मर्यादित बनाउन त्यसबेला सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले बताए । तर सरकार अस्थिर भयो भने प्रदेशलाई समृद्ध एवं विकासको दिशातिर अगाडी बढाउन प्रत्यक्ष रूपमा असर पर्ने भएको देखेर नेकपा एमालेले फेरी सरकारलाई समर्थन गरेको उनले बताए ।

उनले प्रदेश सरकारलाई नेकपा एमालेले समर्थन गरेपनि सरकारमा सहभागी नहुने स्पष्ट पारे । एमाले संघीयतालाई मजबुत बनाउन तथा प्रदेशमै त्यसको अभ्यास गर्न मुख्यमन्त्रीलाई विश्वासको मत दिएर अगाडी बढ्ने प्रयास गरेको दलका नेता यादव बताउँछन् ।‘सरकारलाई दिएको समर्थनको निर्णय एमाले मधेस प्रदेश संसदीय दलको आफ्नै निर्णय हो यसमा केन्द्रको कहीँ हस्तक्षेप छैन,’ उनले भने ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने कानुनमा व्यवस्था छ । सोही अनुरूप आज मुख्यमन्त्रीले एमालेले समर्थन फिर्ता लिएको ३० औँ दिनमा विश्वासको मत लिएका छन् । मुख्यमन्त्री यादवले आज बिहान सत्ता गठबन्धन दलको बैठक बसेर आकस्मिक रूपमा प्रदेश सभाको बैठक बोलाएर विश्वासको मत लिए । एमालेले समर्थन फिर्ता लिएको यतिका दिनसम्म विश्वासको मत लिन चासो नदेखाएको मुख्यमन्त्रीले सत्ता गठबन्धनको बैठकबाट विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभा सदस्यहरूलाई एसएमएसमार्फत बैठकमा सहभागी हुन जानकारी गराएका थिए ।

मुख्यमन्त्री यादव तत्कालीन एमालेसहितको गठबन्धनको समर्थनमा पुस २७ गते मधेस प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज पनि उनले सम्पूर्ण प्रदेश सांसदको विश्वासको मत हासिल गर्न सफल भए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप