मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्वीटरका पूर्व सीईओको दाबी : भारत सरकारले अफिस बन्द गर्ने धम्की दिएको थियो

बुधबार, ३१ जेठ २०८०, ०९ : ०९
बुधबार, ३१ जेठ २०८०

न्युयोर्क । ट्वीटरका पूर्व सीईओ तथा सह-संस्थापक ज्याक डोर्सीले एक अन्तर्वार्तामा किसान आन्दोलनका क्रममा भारत सरकारले ट्वीटरको भारतमा रहेको कार्यालय बन्द गर्ने धम्की दिएको र कर्मचारीको घरमा छापा मार्ने धम्की समेत दिएको दाबी गरेका छन् । ज्याक डोर्सीले सोमबार युट्युब च्यानल ब्रेकिङ प्वाइन्टलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

डोर्सीलाई 'शक्तिशाली मानिसहरू' को मागबारे प्रश्न सोधिएको थियो। यो प्रश्नमा भारतको नाम लिइएको थिएन । यसको जवाफमा डोर्सीले किसान आन्दोलनका क्रममा भारत सरकारले ट्वीटर बन्द गर्ने धम्की दिएको बताए । उनलाई सोधिएको थियो, ‘विश्वभरका शक्तिशाली व्यक्तिहरू तपाईंकहाँ आउँछन् र सबै प्रकारका मागहरू गर्छन्, तपाईं नैतिक सिद्धान्तको मान्छे हुनुहुन्छ, तपाईं यी परिस्थितिहरूबाट कसरी बाहिर निस्कनुहुन्छ ?’

यस प्रश्नको जवाफमा उनले भने, ‘उदाहरणका लागि भारत यस्तो देश हो, जहाँबाट किसान आन्दोलनका बेला हामीकहाँ धेरै मागहरू आइरहेका थिए । कतिपय पत्रकारहरूले सरकारको आलोचना गरेका थिए । एक हिसाबले हामीलाई भारतमा ट्विटर बन्द गर्ने भनिएको थियो, भारत हाम्रा लागि ठुलो बजार हो। तिम्रा कर्मचारीहरुको घरमा छापा मार्छौँ भने, त्यो पनि गरे । यदि तिमीले हाम्रो कुरा सुनेनौँ भने हामी तिम्रो कार्यालय बन्द गर्नेछौँ भने । यो कुरा लोकतान्त्रिक देश भारतमा भइरहेको थियो।'

यसबारे केन्द्र सरकार, विपक्षी दललगायतले प्रतिक्रिया दिइरहेका छन् । सरकारका मन्त्रीले ज्याक डोर्सीको दाबीलाई अस्वीकार गरेका छन् भने कांग्रेसले यस विषयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री मोदीले जनताको आवाज दबाइरहेको आरोप लगाएको छ ।

मोदी सरकारमा इलेक्ट्रोनिक्स र टेक्नोलोजी मन्त्री राजीव चन्द्रशेखरले ट्विटरको कार्यालयमा छापा नमारिएको तथा भारतमा कसैलाई जेल नपठाइएको स्पष्ट पारेका छन् ।

चन्द्रशेखरले भने, ‘ट्विटर र ज्याक डोर्सीको नेतृत्वमा उनको टोलीले लगातार भारतीय नियमहरू उल्लङ्घन गरिरहेको थियो। सन् २०२० देखि २०२२ सम्म उनीहरूले लगातार भारतको कानुनको पालना गरेनन् । ट्विटरले अन्ततः जुन २०२२ मा कानुनको पालना गर्‍यो।

‘ट्विटरले भारतको कानुन लागू नभएको जस्तो व्यवहार गर्दै आएको थियो । भारत एक सार्वभौम राष्ट्र हो । भारतमा सञ्चालित सबै कम्पनीहरूले भारतीय कानुनहरू पालना गरुन् भन्ने सुनिश्चित गर्ने हामीसँग अधिकार छ । जनवरी २०२१ को प्रदर्शनको क्रममा त्यहाँ धेरै गलत जानकारी र नरसंहारको रिपोर्टहरू पनि आएका थिए जुन पूर्ण रूपमा गलत थिए । भारत सरकार यस्तो सूचनालाई प्लेटफर्मबाट हटाउन बाध्य थियो किनभने त्यस्ता झुटा समाचारहरूले स्थितिलाई बिगार्न सक्थ्यो।’

उता दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले भने, ‘यदि देशभित्रै किसान आन्दोलनलाई रोक्ने प्रयास भइरहेको छ भने त्यो गलत कुरा हो।’
त्यस्तै यस विषयमा कांग्रेसले पत्रकार सम्मेलन गर्दै भन्यो, ‘ट्विटरका संस्थापक तथा पूर्व सीईओ ज्याक डोर्सीले मोदी सरकारले आफूलाई धम्की दिएको बताएका छन् । किसान आन्दोलन देखियो भने ट्विटरको कार्यालय र कर्मचारीको घरमा छापा मारिनेछ । ट्विटर भारतमा प्रतिबन्धित हुनेछ। जब देशका किसानहरू आफ्नो अधिकारको लागि लडिरहेका थिए, मोदी उनीहरूको आवाज दबाइरहेका थिए।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप