‘लम्पी स्किन’ बाट प्रभावित किसानलाई राहत दिन माग
काठमाडौं । नेपाल डेरी एसोसिएसनले ‘लम्पी स्किन’ रोगबाट प्रभावित किसानहरूलाई तत्काल राहत दिन माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले गाई र भैँसीमा लाग्ने रोग तत्काल रोक्न र प्रभावितलाई राहत दिन माग गरेको हो । गर्मी याम सुरु भए लगत्तै मुलुकभर गाई भैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापक रूपमा फैलिएको छ । चालु आर्थिक वर्ष गत माघ महिनामा पहिलोपटक झापाबाट सुरु भएको यो रोगको प्रकोपबाट हालसम्म ९ हजार ४१० गाई, गोरु र भैँसी मरेका छन् ।
यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । हाल यस रोगको प्रकोप देशभर ७३ जिल्लामा फैलिसकेको छ । यसको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ । यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि स्थानीय तह, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा, यससम्बन्धी पूर्ण जानकारी नहुँदा सङ्क्रमित पशुको सङ्ख्या र रोगबाट भएको क्षतिको विवरण एकिन गर्न कठिनाइ भएको छ । साथै रोगको नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएको छ ।
यसले नेपालमा ठूलो क्षति निम्त्याएको छ । पशु चिकित्सकका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जात अन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक सङ्क्रमण गराउने सीमा विहीन रोग हो । यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ भन्ने कुराको पुष्टि गरेका छन् । यो रोग भैँसीको तुलनामा विशेष गरी गाई, गोरु तथा बाच्छाबाच्छीमा बढी देखा परेको छ र रोगको फैलिने क्रम दिनदिनै बढ्दै छ ।
यो रोग विशेष गरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाई वस्तु तथा खुल्ला चौरमा चरिचरन गर्ने गाई वस्तुमा बढी देखा परेको विशेषज्ञले जानकारी गराएका छन् । यो रोग सङ्क्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजननयोग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्दछ । यो रोग लागेका पशुमा १०५ दशमलव ८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा एकदेखि पाँच सेमीसम्म वा अझै ठूलो गाँठोहरू देखापर्ने, मुख, नाकको फोरा, पुच्छर, अण्डकोष, फाँचो वरिपरि समेत दुख्ने खालका गाँठोहरू देखिने, लङ्गडोपना, थुनेलो हुने, बाली नजाने, गर्भ तुहिने जस्ता लक्षणहरू देखिन्छन् ।
देशभर महामारीका रूपमा फैलिरहेको लम्पी स्किन रोगबाट सङ्क्रमित तथा मृत्यु भएको पशुहरूको विवरण, यस रोगको उपचार, रोकथाम तथा नियन्त्रणका लागि सेवा विभागले सबै प्रदेशका पशुपन्छी हेर्ने मन्त्रालय, निर्देशनालय, भेटेरिनरी अस्पताल, तालिम केन्द्र तथा पालिकाहरूसँग छलफल गरिरहेको जानकारी छ । यो प्रकोपबाट सबैभन्दा बढी कर्णाली प्रदेशमा ४ हजार ७ सय ७५ पशु मरिसकेका छन् भने त्यसपछि सुदूरपश्चिममा दुई हजार सात सय ४७, कोशीमा एक हजार एक सय ३२, गण्डकीमा तीन सय ३०, बागमतीमा दुई सय ८१, लुम्बिनीमा एक सय १०, मधेस प्रदेशमा ३५ पशु हालसम्म मरेको विभागको तथ्याङ्क छ ।
सङ्क्रमित पशुहरूमा औषधि र शक्तिबद्र्धक खानेकुराले निको हुने दर ३० प्रतिशत भएको विभागले जनाएको छ । विभागले यो रोग देखिने बित्तिकै बथानबाट छुट्टाएर अलग्गै राख्ने, ज्वरो आएको पशुलाई आराम गराउने, प्रशस्त मात्रामा सफा पानी खान दिने, पातलो कुँडो वा नरम घाँस खान दिने, सक्खर पानी खुवाउने, गोठ वरिपरि सफा राख्नेलगायतका सुझाव दिएको छ । तर यो सुझाव सबै स्थानीय निकायसम्म एवं किसान तहमा पुग्न सकेको छैन ।
नेपालमा पहिलो पटक २०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईहरूमा लम्पी स्किन रोगका लक्षण देखा परेको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले जानकारी गराएको तथ्य छ ।
लक्षण देखा परेपछि नमुना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर विधिबाट परीक्षण गर्दा २०७७ साल साउन ११ गते लम्पी स्किन रोग पुष्टि भएको प्रयोगशालाको प्रतिवेदन अनुसार जानकारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण