बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

केएल टावरबाहेक अन्य हलमा ‘आदिपुरुष’ चलेन, चलचित्र संघको आकस्मिक बैठक बस्दै

शुक्रबार, ०१ असार २०८०, ११ : ००
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहले महानगर क्षेत्रभित्र बलिउड चलचित्र ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाउने बताएपछि नेपाल चलचित्र संघको आकस्मिक बैठक बोलाइएको छ । शुक्रबार नेपालमा रिलिज गर्ने तयारी गरिएको चलचित्रमा मेयर शाहको चेतावनीपछि अधिकांश हलमा चलाइएको छैन । केएल टावरमा बिहान ७ः३० बजे एक शो चलाइए पनि अब पुनः शो नलगाइने भएको हो ।

चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपाल कायस्थले चलचित्रबारे निर्णय लिनका लागि संघको आकस्मिक बैठक बोलाइएको जानकारी दिए । यसबारे निर्णय नभएसम्म हलमा यो चलचित्र प्रदर्शन नगरिने उनको भनाई छ ।
के हो विवाद ?

आठ दिन अघि टी–सिरिजको आधिकारिक युट्युब च्यानलमा चलचित्रको अन्तिम ट्रेलर रिलिज गरिएको थियो । उक्त ट्रेलरमा रामको भूमिकामा रहेका प्रभासले आफ्नो वानर सेनालाई सीतालाई हरण गरेर लगेका रावणसँगको युद्धका लागि प्रेरित गर्दै भनेका छन्, ‘आज मेरो लागि नलड्नु, त्यो दिनको लागि लड्नु जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन् । लड्छौ ?’ 

के भनेका छन् बालेनले ?

उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’ मेयर साहले उक्त शब्द सच्याउन ३ दिनको समय दिएका छन् । 

बोर्डले भनेको नमान्दा यो स्थिति आयो

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोर्डले भनेको नमान्दा यो स्थिति आएको पनि उनले जनाएका छन् । ‘कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडी सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो,’ उनले भनेका छन्, ‘विरोधका बाबजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केही चल्तापुर्जाहरूलाई ऐँठन भयो र तीन दिनमा झारियो। तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन।’ 

उनका अनुसार नेपालमा विदेशी फिल्मको प्रदर्शनी पूर्व त्यस फिल्ममा रहेका विषयमा कुनै विवाद सिर्जना नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुराहरूमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधीनता, हाम्रा विभूतिहरू माथिको दाबी, सीमा लगायत विषयमा त्रुटि वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले उक्त कदम चालेको थियो ।

भारतको बहुप्रतिक्षित फिल्म आदिपुरुषबारे उनले भनेका छन्, ‘पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद सिर्जना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाइदा गरेको छैन। यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरूकै प्रमुख हात छ।’ 

उनले  अगाडि भने, ‘यस प्रकारको घटनाले भोली हल सञ्चालकहरूमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला रुरिलिजको मुखमा आएर रोकिनुपर्‍यो भने आखिरमा कसलाई घाटा भयो रु

यता, सेन्सर बोर्डले भने उक्त संवाद काटेर मात्र चलचित्र रिलिज गर्ने अनुमति दिएको स्पष्ट पारको छ । सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले उक्त संवाद काटेर रिलिज अनुमति दिएको जानकारी दिए । उनका अनुसार बुधबार साँझ चलचित्रको सेन्सर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप