सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कांग्रेस कलह

गगनले देउवाबाट मार्ग प्रशस्त खोज्दा शेखरको ‘काउन्टर’ !

शुक्रबार, ०१ असार २०८०, १२ : ०६
शुक्रबार, ०१ असार २०८०

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको स्वीकार्यताबारे नेता शेखर कोइराला र महामन्त्री थापाबीच मतभेद देखिएको छ । महामन्त्री थापाले पार्टी सभापतिबाट देउवाको बहिर्गमनमा जोड दिरहँदा नेता कोइराला त्यसको विपक्षमा उभिएका छन् ।

१४ औं महाधिवेशनमा देउवाविरुद्ध एक ठाउँमा उभिएका कोइराला र थापाको मत डेढ वर्षपछि विभाजित सुनिन थालेको हो । सभापतिमा कोइराला पराजित हुँदा उनकै प्यानलबाट थापा महामन्त्रीमा निर्वाचित भएका थिए । देउवासँग चुनाव हारेका कोइराला अचेल नरम सुनिँदा सार्वजनिक मञ्चमा महामन्त्री थापाको अभिव्यक्ति गरम सुनिन्छ ।

कोइरालाको गृहनगर विराटनगरमा पुगेर जेठ ३० मा थापाले पार्टी हितका लागि सभापति देउवालाई मार्ग प्रशस्त गरिदिन सुझाए । ‘मेरो र सभापतिज्यूको सम्बन्धको सन्दर्भमा पार्टीभित्र म उहाँको कार्यकर्ता हो । मेरो उहाँसँग कुनै व्यक्तिगत आग्रह हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि रहँदैन,’ उनी भन्छन्, ‘खाली आजको दिनमा नेपाली कांग्रेसको आम सदस्यको चाहना, त्योभन्दा पनि कांग्रेसको समर्थक, शुभेच्छुकको चाहना, देशको आवश्यकता अनुसार नेतृत्व हस्तान्तरणका लागि आग्रह गरेको हुँ ।’

देउवाले जति छिटो पार्टीको नेतृत्व हस्तान्तरण पर्‍यो , त्यति नै पार्टीको हितमा रहेको उनको तर्क थियो । ‘नेपाली कांग्रेसको सभापतिले जे जति पार्टीका लागि गर्नुपर्ने हो, उहाँको ठूलो योगदान छ, उहाँप्रति हामी आभारी छौं,’ थापा भन्छन्, ‘अब नेपाली कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ, मैले गरिनँ भने पार्टी सम्हालिन्नँ भन्ने सोचाइबाट बाहिर निस्कनुपर्छ, जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तरण गरिदिनु भो, उहाँको (देउवा) हितमा छ, पार्टीको हितमा पनि छ ।’

महामन्त्री थापाले नेतृत्व हस्तान्तरणका साथै प्रधानमन्त्री हुने विषयमा पनि देउवाले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए । ‘प्रधानमन्त्रीका रुपमा पनि उहाँले पाँच पटक काम गरिसक्नु भयो’, उनले भने, ‘अब नेपाली कांग्रेसबाट नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेका छन् ।’

आगामी दिनमा देउवालाई नेतृत्व हस्तान्तरण गराउन प्रयत्न गर्ने थापाको भनाइ थियो । ‘यो बीचको समयमा यी कुरा होस् भन्ने म चाहन्छु,’ उनले भने, ‘आफ्नो चाहनालाई व्यवहारमा अनुवाद गर्न प्रयत्न पनि गर्छु । किनकि यो प्रयत्न गर्ने कुरा आजको दिनमा म पार्टीको हितमा छ भन्ने ठान्छु ।’

महामन्त्री थापाले नेतृत्व हस्तान्तरणका साथै प्रधानमन्त्री हुने विषयमा पनि देउवाले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए । ‘यो संसदीय कार्यकालमा नेपाली कांग्रेसको नेतृत्वमा एक न एक पटक सरकार त बन्छ, प्रधानमन्त्रीका रुपमा पनि उहाँले पाँच पटक काम गरिसक्नु भयो’, उनले भने, ‘यो पाँचपटक प्रधानमन्त्री हुँदा देशका लागि, जनताका लागि थुप्रै काम भएका छन्, अब नेपाली कांग्रेसबाट नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेका छन् ।’

नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेका कारण देउवाको विकल्पमा नयाँ अनुहार प्रस्तुत गर्नुपर्ने थापाको तर्क थियो । महामन्त्री थापाको माथि उल्लेखित अभिव्यक्ति आएको दोस्रो दिन जेठ ३१ मा नेता कोइरालाबाट त्यसको ‘काउन्टर’ हुने गरी अभिव्यक्ति आएको हो ।

बुधबार साँझ एक टेलिभिजन अन्तर्वातामा नेता कोइराला सभापतिमा देउवालाई स्वीकार गर्नुपर्ने बताउँछन् । ‘एउटा कुरा त मान्नु पर्यो नि । शेरबहादुरजी मेरो पार्टी नेपाली कांग्रेसको सभापति हो भनेर स्वीकार गर्नुपर्याे कि परेन पहिले ? सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो,’ कोइराला भन्छन् ।

चुनावबाट जितेर सभापति बनेका देउवालाई आफूले स्वीकार गरेको भन्दै स्वीकार गर्न नसक्नेले पार्टी छाड्नुपर्ने बताए । ‘चुनावबाट जितेर आएको व्यक्ति, जसरी जित्नु भएको होला । चुनावबाट जितेर आउनु भएको छ । म स्वीकार्छु । कसैले स्वीकार गर्दैन भने पार्टी छोड्नुपर्‍यो । मैले त स्वीकार गर्नुपर्छ । स्वीकार किन गरेको भन्नु त गलत हो नि ?,’ उनको प्रश्न छ ।

पार्टीमा द्वन्द्व बढाएर नहुने भन्दै कोइरालाले कसैलाई गाली गरेर वा होच्याएर लक्ष्यमा नपुग्ने नेता कोइरालाको भनाइ छ । ‘पार्टीमा द्वन्द्व बढाएर कहाँ पुगिन्छ ? पार्टी कहाँ पुगिसक्यो ?,’ उनी भन्छन्, ‘हामी सबै एउटै डुंगामा छौं, डुबे सबै डुब्छौं । कसैलाई गाली गरेर, कसैलाई होच्याएर हामी लक्ष्यमा पुग्छौं भन्ने होइन ।’

सभापतिमा देउवालाई स्वीकार गरेर पार्टी चलायमान बनाउने मात्र आफ्नो मुद्दा रहेको उनी बताउँछन् । ‘जेसुकै होस्, जस्तोसुकै होस्, सभापति शेरबहादुरजी नै हो । त्यसलाई स्वीकार गर्नुपर्छ । पार्टीलाई चलायमान बनाउनुहोस् भन्नेमात्रै हाम्रो मुद्दा हो,’ नेता कोइराले भने ।

महामन्त्री थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलप्रति अतिरिक्त झुकाव राखेपछि कोइराला देउवासँग नजिकिएको कांग्रेस वृत्तमा चर्चा छ । कोइराला पक्षीय एक केन्द्रीय सदस्यले महामन्त्री थापाले छुट्टै गुट बनाउने अभ्यास थालेपछि कोइराला झस्किएको बताए ।

उनका अनुसार विशेष महाधिवेशन बोलाएर सभापति देउवालाई नेतृत्वबाट हटाउन सजिलो छैन । ‘विशेष महाधिवेशन २५ प्रतिशतले माग्न पाइन्छ । २५ प्रतिशतले सभापतिविरुद्ध अविश्वास ल्याए पनि दुई तिहाइले पारित गर्नुपर्छ । हामीले ०७४ को निर्वाचनपछि नै कोसिस गरेको हो तर सजिलो छैन,’ उनले भने ।

कांग्रेसमा देउवाको विकल्पमा हेरिएका कोइराला १५ औं महाधिवेशन कुर्न तयार देखिएका छन् । महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गरेका कोइराला अहिले देउवाको विकल्प खोज्ने दिशामा देखिएका छैनन् । तर, महामन्त्री थापा भने देउवाबाट अब पार्टी र मुलुक चल्न नसक्ने निष्कर्षमा पुगिसकेका छन् । देउवाप्रतिको बुझाइका कारण कोइराला–थापा समूह विभाजित हुने सम्भावना बढेको छ ।

महामन्त्री थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलप्रति अतिरिक्त झुकाव राखेपछि कोइराला देउवासँग नजिकिएको कांग्रेस वृत्तमा चर्चा छ । कोइराला पक्षीय एक केन्द्रीय सदस्यले महामन्त्री थापाले छुट्टै गुट बनाउने अभ्यास थालेपछि कोइराला झस्किएको बताए ।

‘गगनजीबाट संस्थापन इतरभित्रै छुट्टै गुट बनाउने अभ्यास भयो । हाम्रो समूहका उपसभापति धनराज गुरुङभन्दा गगनजीले विश्वप्रकाश शर्मासँग हिमचिम बढाउनु भयो,’ ती नेताले भने, ‘त्यसपछि पछिल्लो समय प्रदीप पौडेल पनि थपिए । यसले शेखर दाइलाई केही असहज महसुस भएको जस्तो मैले बुझेको छु ।’

सभापतिबाट देउवालाई हटाउने असम्भव कुरा महामन्त्री थापाले गरिरहेकाले नेता कोइराला विपक्षमा उभिएको ती नेताको बुझाइ छ ।

महामन्त्री थापा निकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेता कोइरालाबाट पार्टी सत्तासँग सहकार्य गरेर सडक अभियानको स्वामित्व लिने काम भएको बताए । ‘पार्टी सत्तासँग पनि सहकार्य गरेको देखिन्छ । सडकको अभियान पनि मेरो निर्देशनमा भएको भन्नुहुन्छ । यसमा उहाँको दोहोरो रोल देखियो,’ उनले भने ।

नेता कोइराला देउवाको बचाउमा देखिएर आफ्नो शक्ति बढाउन खोजेको संस्थापन पक्षको बुझाइ छ । कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले भने, ‘महाधिवेशनमा बनेको मुख्य समूह, उपसमूहमा रहेका नेताहरुले आफ्नो शक्ति विस्तार गर्न खोज्नु भएको हो । नेताहरु मिलेर जानु खोज्नु पार्टीका लागि राम्रो हो ।’

देउवालाई सभापति स्वीकार नगरे पार्टी छाड्नुपर्ने कोइरालाको अभिव्यक्तिले रुपान्तरण अभियानमा लागेकाहरुको भावनालाई सम्बोधन नगर्ने शिवाकोटीको भनाइ छ । ‘सभापति स्वीकार नगरे पार्टी छाड्नुपर्छ भन्ने कुरा आफूलाई जोडेर उहाँले सामान्य रुपमै भन्नु भएको होला । तर, यसले रुपान्तरण अभियानको भावनाको सम्बोधन गर्र्दैन । त्यहाँ त नेतृत्वको विकल्पबारे पनि प्रशस्त आवाज उठेको छ,’ उनी भन्छन् ।

संस्थापन इतर पक्षीय केन्द्रीय सदस्य प्रकाश रसाईली (स्नेही) नेतृत्वका सन्दर्भमा कोइराला र थापाको फरक–फरक धारणामा आउनु परिस्थितिजन्य विषय भएको बताए । ‘दुई नेताको समान धारणा हुनु राम्रो हो । समूह विभाजित भएकोजस्तो देखिन भएन । तर केही परिस्थितिजन्य विषय पनि हुन्छन् । यसलाई यसरी बुझ्नुपर्छ,’ उनले भने ।

नेता कोइराला देउवाको बचाउमा देखिएर आफ्नो शक्ति बढाउन खोजेको संस्थापन पक्षको बुझाइ छ । कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले भने, ‘महाधिवेशनमा बनेको मुख्य समूह, उपसमूहमा रहेका नेताहरुले आफ्नो शक्ति विस्तार गर्न खोज्नु भएको हो । नेताहरु मिलेर जानु खोज्नु पार्टीका लागि राम्रो हो ।’

पार्टीमा एक खालको विचलन देखिएकाले मिलेर जानुको विकल्प नरहेको उनको भनाइ छ । ‘मिलेर जानुपर्छ । निर्वाचित सभापतिलाई काम गर्न अवरोध पु¥यायौं भने भोलि पनि त्यस्तै हुन्छ । पार्टीभित्रका अन्तुष्टिलाई मिलाएर लिएर जाऔं भन्ने नै हो शेखर डाक्टर सापको कुरा,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप