बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

हेटौँडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक

शनिबार, ०२ असार २०८०, ११ : ०३
शनिबार, ०२ असार २०८०

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।  उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र सङ्घीय सरकारको अनुदानबाट रु. १ अर्ब १४ करोड ५० लाख रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिक गरेको हो ।

उपमहानगरपालिकाले महिला तथा बाल विकास कोष, वातावरण विकास कोष, मर्मत सम्भार कोष, विपद् व्यवस्थापन कोष, गरिबी न्यूनीकरण तथा सामाजिक परिचालन कोष, मानव संसाधन विकास कोष खर्च समेतका लागि ४ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै उपमहानगरपालिका क्षेत्रमा एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजना अन्तर्गत आगामी आर्थिक वर्षको लागि ८ करोड रुपैयाँ, हेटौँडा ४ मा निर्माणाधीन बहुवर्षीय योजना अन्तर्गत वासुदेव बहुउद्देश्यीय व्यापारिक भवनका लागि २ करोड रुपैयाँ, सहरी सडक मर्मत सम्भारका लागि सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न करोड ९५ लाख रुपैयाँ, संघीय सरकार समपूरक कोष अन्तर्गत पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ, संघीय सरकार र प्रदेश सरकार तर्फको समपूरक कोष योजनाका लागि ३ करोड ७५ लाख रुपैयाँ, खानेपानी व्यवस्थापन गर्न हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग साझेदारी कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।  उपमहानगरपालिकाले न्यूनतम महसुल रकम भुक्तानीको लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

वडा कार्यालयको प्रशासनिक भवन निर्माण तथा स्तरोन्नतिका लागि निर्माण कार्य प्रारम्भ गर्न, अधुरा कार्य सम्पन्न गर्न मर्मत सम्भार कार्यको लागि १ करोड १५ लाख रुपैयाँ, सडकमा उज्यालो सहर कार्यक्रम अन्तर्गत हाइफास्ट लाइट जडानका लागि ७० लाख रुपैयाँ, आकस्मिक मर्मत सम्भारका लागि मर्मत सम्भार कोषमा २ करोड रुपैयाँ, पर्यटकीय स्थल पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ, संस्कृति प्रवर्द्धन अन्तर्गत पूर्वाधार निर्माण मर्मत तथा जिर्णोद्वारका लागि २ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै हेटौँडा अस्पतालको स्तरोन्नति र पुँजीगत सुधारका लागि ८० लाख रुपैयाँ, अटोभिलेज निर्माण र स्तरोन्नतिका लागि ८० लाख रुपैयाँ, कर्रा करिडोर निर्माणको निरन्तरताका लागि १ करोड रुपैयाँ, राप्ती करिडोर निर्माण प्रारम्भ गर्न ५० लाख रुपैयाँ, बसपार्क क्षेत्रमा रहेको हङकङ बजारलाई व्यवस्थित पूर्वाधार सहित हेटौँडा कम्प्लेक्समा रूपान्तरण गर्न निर्माण कार्य प्रारम्भ गर्न ५० लाख रुपैयाँ, पिप्ले क्याम्पा रंगशाला स्तरोन्नति कार्यका लागि ५० लाख रुपैयाँ, तामाङ सङ्ग्रहालय निर्माणका लागि ५० लाख रुपैयाँ, वडा गौरवका योजनाका लागि ३ करोड ४० लाख रुपैयाँ, वडा नम्बर ७ र ८ को सिमाना सडकलाई नमुना सडक निर्माण कार्यको निरन्तरताका लागि १ करोड रुपैयाँ, विपद् व्यवस्थापन कोष तर्फ २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, खेल मैदान ऊर्जा, सडक बत्ती, आवास व्यवस्था, जलश्रोत, पर्यटन, भवन तथा आवास, सिँचाइ लगायत नगर स्तरीय पूर्वाधार तर्फ ६२ करोड ३ लाख विनियोजन गरिएको छ भने वडा तथा वस्ति स्तरीय योजना तथा कार्यक्रमका लागि ३८ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले कृषि विकास तर्फका विविध कार्यक्रम तथा योजना सञ्चालन गर्न सशर्त समेत गरी ५ करोड ४ लाख रुपैयाँ, पशु विकास तर्फका विविध कार्यक्रम तथा योजना सञ्चालन गर्न २ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उद्योग, वाणिज्य, सहकारी तथा लघु उद्यम तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ८५ लाख रुपैयाँ, पर्यटन तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले रोजगार प्रवर्द्धन तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ६९ लाख रुपैयाँ, प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजनाका लागि सशर्ततर्फ ८५ लाख रुपैयाँ, अव्यवस्थित बसोबास तथा भूमि समस्या समाधान आयोजना सम्बन्धी कार्यका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले आर्थिक विकास क्षेत्रभित्रका चालु कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि ११ करोड ७६ लाख रुपैयाँ  विनियोजन गरिएको छ ।

त्यसै गरी उपमहानगरपालिकाले शिक्षा तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न सशर्त समेत गरी ७६ करोड ५५ लाख रुपैयाँ, स्वास्थ्य तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न सशर्त समेत गरी ६ करोड ९० लाख रुपैयाँ, युवा तथा खेलकुद तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न २ करोड ९७ लाख रुपैयाँ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड ४२ लाख रुपैयाँ, महिला तथा बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिक तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड ५१ लाख रुपैयाँ, संस्कृति प्रवर्द्धन तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न रु.२ करोड ४७ लाख रुपैयाँ, न्यायिक समिति सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।

उपमहानगरपालिकाले सामाजिक विकास अन्तर्गत शिक्षा तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि ९२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उपमहानगरपालिकाले फोहर मैला व्यवस्थापन र ढल तथा नाला पूर्वाधार तर्फका योजना तथा कार्यक्रमका लागि ५ करोड ६८ लाख रुपैयाँ, वारुण यन्त्र सञ्चालन र व्यवस्थापनका लागि ७९ लाख रुपैयाँ  बजेट विनियोजन गरिएको छ। उपमहानगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापन एवं सरसफाइ र फोहर मैला व्यवस्थापनका चालु कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि ७ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप