बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
किसानको विरोध प्रदर्शन

कालिमाटीमा करिब ३० हजार किलो गोलभेँडा सडकमा फ्याँकियो

आइतबार, ०३ असार २०८०, १७ : ००
आइतबार, ०३ असार २०८०

काठमाडौँ । किसानहरुले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेँडा सडकमा फ्याँकेर विरोध जनाएका छन् । आइतवार गोलभेँडा किसानहरुले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकेका हुन् । उनीहरुले कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेँडा फ्याकेर विरोध गरेका छन् । नेपालमा उत्पादित गोलभेँडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतवार किसानहरुले टमाटर फ्याँकेका छन् ।

गोलभेँडा उत्पादक कृषक बरुणबहादुर रोक्काले नेपाली किसानहरुले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य र प्राथमिकतामा नपरेकाले सडकमा फ्याक्न बाध्य भएको बताए । उनले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुहरुको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने बताए । उनले अहिले नेपाली किसानहरुले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता नपाउने तर विदेशीबाट आयात भएर आएको बस्तुले बजार लिने गरेको भन्दै गुनासो गरे । उनले कालिमाटी बजारमा व्यवसायीहरुले किसानसँग ८ रुपैयाँ किलोमा किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताए ।

उनले सरकारले किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्य तोक्न नसक्नुले विकृति भइरहेको बताए । कालिमाटी तरकारी बजारमा किसानहरुले तीन, चार सय क्रेटजति गोलभेँडा सडकमा फ्याकेका छन् । किसानहरुले करिब ३० हजार किलो गोलभेँडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ । फ्याँकिएका गोलभेंडा रामकोट, नागार्जुन, थानकोट, भक्तपुर लगायत क्षेत्रमा फलेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप