शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं: प्रधानमन्त्री प्रचण्ड

सोमबार, ०४ असार २०८०, ०८ : ४१
सोमबार, ०४ असार २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् ।

सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताएका हुन्।

भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल बैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

prachand

भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण बिबरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताए ।

तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्रीले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताए ।

भेटमा पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिहरू उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप