आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सशस्त्रमा समस्या

सशस्त्रमा किन बढ्दैछ आत्महत्या ?

सशस्त्रका प्रवक्ता भन्छन्–‘परामर्श इकाई गठन गरेर परामर्श दिइरहेका छौँ’
मङ्गलबार, ०५ असार २०८०, ०९ : ३३
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । असार १ मा सशस्त्र प्रहरी गण नम्बर–१६ मा कार्यरत सहायक हवल्दार विजय नकर्मी झुन्डिएको अवस्थामा भेटिए । गण नम्बर–१६ स्थित काभ्रेको कार्यालय भवनको छतको पिल्लरमा डोरी लगाएर उनी झुन्डिएका हुन् । 

नकर्मी २०६३ मा भर्ना भएका थिए । भर्ना भएको १६ वर्षसम्म उनी सहायक हवल्दार भन्दा माथि पुग्न सकेका थिएनन् । डिप्रेसनको औषधी खाने गरेका नकर्मीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयबाट खटिएको टिमले मनोपरामर्श पनि दिएको थियो । नकर्मी बेलाबेलामा भनिरहन्थे–‘राजीनामा दिन्छु ।’

सशस्त्र प्रहरीमा वृत्ति–विकास ढिलाइ हुने गरेको तथ्य छिपेको छैन । तर, नकर्मीले आत्महत्या गर्नुमा संगठनको आन्तरिक कारण नभएको बताउँछन्, सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्का । खड्काले रातोपाटीसँग भने–‘अहिलेसम्म यकिन कारण खुलेको छैन तर, उनी डिप्रेसनको औषधी खान्थे ।’ 

वैशाख ४ मा तुलसीपुरमा सेल्फ लोडिङ राइफल (एसएलआर)ले आफैँलाई गोली हानेर सशस्त्रका सहायक हवल्दार वसन्त केसीले आत्महत्या गरे । दाङको तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ड्युटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे उनले आफ्नै घाँटीमा गोली हानेका हुन् । 

सहायक हवल्दार केसी पाँच दिनअघि मात्रै कारागार सुरक्षा गुल्म तुलसीपुरमा सरुवा भएर गएका थिए । फौजमा कार्यरतहरूले आफैँले बोकेको हतियार प्रहार गरेर आत्महत्या गरेको उदाहरण प्रशस्तै छ । किन फौजमा काम गर्नेहरूले बोक्ने राइफल आत्महत्याको कारण बन्छ ? हात–हतियारको पहुँच सहज हुने हुनाले फौजीले हतियार प्रयोग गरेर आत्महत्या गरेको हुनसक्ने बताउँछिन्, मनोविद् कृपा सिग्देल । रातोपाटीसँग कुरा गर्दै सिग्देलले भनिन्–‘आत्महत्याको सोचाई सबैलाई आउन सक्छ तर, फौजमा काम गर्नेहरूको हतियारमा पहुँच हुनाले त्यसलाई प्रयोग गरेको हुनसक्छ ।’

सशस्त्र प्रहरीमा एकपछि अर्को आत्महत्याका घटना बढ्दै छ । मनोविद् कृपा सिग्देलका अनुसार जैविक, मनोवैज्ञानिक, सामाजिक र आर्थिक कारण मान्छेले आत्महत्या गर्छन् । सिग्देल भन्छिन्–‘सिकाई र सोच्ने तरिकाले पनि मान्छेले आत्महत्या गर्छ, आत्महत्या हुन धेरै कुराको मिश्रण हुनुपर्छ ।’

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा दुर्घटना र आत्महत्याका कारण १ सय १८ जनाले ज्यान गुमाएका छन् । 

उपदान लिएर जागिर छाड्नेहरूको सङ्ख्या पनि बढ्दै छ ।  आर्थिक वर्ष २०७९–०८० मा उपदान लिएर १३७ जनाले राजीनामा दिएका छन् । उपदान लिएर राजीनामा दिनेको सङ्ख्या पछिल्लो ३ वर्षमध्ये चालु आर्थिक वर्षमा सबैभन्दा धेरै छ । राजीनामा दिने र मृत्यु हुनेहरूको तथ्याङ्क यस्तो छ : 

ap1

डिएसपीको नेतृत्वमा मनोपरामर्श युनिट 

सशस्त्र प्रहरीले हलचोक स्थित प्रधान कार्यालयमा मनोपरामर्श युनिट स्थापना गरेको छ । डिएसपीको नेतृत्वमा साइकोलोजी (मनोविज्ञान) पढेका अधिकृतहरू सो युनिटमा कार्यरत छन् । मनोपरार्श युनिट मार्फत देशभर कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई काउन्सिलिङ गर्न  थालिएको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले बताए । रातोपाटीसँग खड्काले भने–‘आत्महत्याको कारण पारिवारिक र सामाजिक हुने गरेको छ तर, हामीले काउन्सिलिङ पनि गरिरहेका छौँ ।’ 

आन्तरिक समस्याका कारण कुनै कर्मचारीले अनावश्यक हैरानी खेप्न नपरोस् भनेर संगठन भित्र समस्या परेमा ‘अन्यत्र जानु पर्दैन’ भनेर सशस्त्र प्रहरी प्रधान कार्यालयले सर्कुलर नै गरेको छ । सरुवा र बढुवाका लागी भनसुन गराउनु नपर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको दाबी छ ।

‘घर पायक सरुवाका लागी कसैलाई भन्नु पर्दैन’ एसएसपी खड्का भन्छन्–‘आफ्नो समस्या राख्न बिहीबार जुनसुकै दर्जाका कर्मचारीलाई पनि संगठन प्रमुखलाई भेट्न पाउने तालिका लागु गरिएको छ ।’ 

करिअर प्लानमा समस्या 

सशस्त्र प्रहरीको करिअर प्लानिङ वैज्ञानिक छैन । निकै लामो समयदेखि एउटै पदमा काम गर्नुपर्ने रोग बर्षौँदेखि कायम छ । १३ वर्षदेखि सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी)हरू माथिल्लो दर्जामा बढुवा भएका छैनन् । माथिल्लो तहमा दरबन्दी थोरै हुँदा तल्लो दर्जामा बढुवा नहुने समस्या स्वाभाविक हुन्छ । 

प्रमोसन ब्लक भएको र करिअर प्लानबारे छलफल भइरहेको एसएसपी खड्काले जानकारी दिए । ‘१५–१६ वर्षसम्म बढुवा नहुने अवस्था छ’ एसएसपी खड्का भन्छन्–‘सो अवस्थालाई अन्त्य गर्न अहिले दरबन्दी थप्न प्रस्ताव गरिएको छ ।’ 

खड्काका अनुसार जवानमा भर्ना भएकाहरूलाई अवकाशमा जाँदा कम्तीमा सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा पुग्ने गरी करिअर प्लानिङ हुँदै छ ।  सशस्त्र प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने ३ वटा प्रस्ताव अघि बढाएको छ । ४ हजार २ सय, १ हजार ४ सय र १ सय ७५जनाको दरबन्दी थप्न प्रस्ताव गरिएको एसएसपी खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप